निमित्त महानिर्देशक देवचन्द्र लाल कर्णले उक्त निर्णय बुधबार फिर्ता लिइएको जानकारी प्राधिकरणको एक निर्देशकले कान्तिपुरलाई दिए ।
What you should know
काठमाडौँ — नागरिक उड्डयन प्राधिकरणअन्तर्गत हवाई सुरक्षा निर्देशकको विवादास्पद सरुवा निर्णय अन्ततः फिर्ता लिइएको छ ।
निमित्त महानिर्देशक देवचन्द्र लाल कर्णले उक्त निर्णय बुधबार फिर्ता लिइएको जानकारी प्राधिकरणको एक निर्देशकले कान्तिपुरलाई दिए ।
निमित्त महानिर्देशक कर्णले करिब एक साताअघि सुरेश साहलाई नागरिक उड्डयन हवाई सुरक्षा विभागको निर्देशकमा सरुवा गर्ने निर्णय गरेका थिए । साह पेसाले रेडियो इन्जिनियर हुन् र यसअघि तालिम केन्द्रमा कार्यरत थिए । तर, कानुनअनुसार हवाई सुरक्षा विभागमा एयर ट्राफिक कन्ट्रोलर सेवा समूहबाहेक समूहका कर्मचारीलाई जिम्मेवारी दिन नपाइने व्यवस्था छ ।
उक्त सरुवालाई नियमविपरीत र उड्डयन सुरक्षाका लागि जोखिमपूर्ण भन्दै नेपाल हवाई यातायात नियन्त्रक संघ (नाट्का) र नेपाल राष्ट्रिय कर्मचारी संगठनले कडा आपत्ति जनाएका थिए । दुवै संगठनले निर्णय तत्काल पुनरावलोकन वा खारेज गर्न संयुक्त रूपमा माग गर्दै आएका थिए ।
नाट्काले एभिएसन सेफ्टी निर्देशकजस्तो संवेदनशील पदमा गैरसम्बन्धित सेवा समूहका कर्मचारीलाई जिम्मेवारी दिनु नागरिक उड्डयन प्राधिकरण कर्मचारी नियमावली, २०६६ को उल्लंघन भएको उल्लेख गरेको थियो । यस्तै, नेपाल राष्ट्रिय कर्मचारी संगठनले निर्णयलाई मनपरी, अपारदर्शी र संस्थागत सुशासनविपरीत भनेको थियो ।
कर्मचारी संगठनहरूको दबाब र उठेका गम्भीर प्रश्नपछि प्राधिकरण नेतृत्वले सरुवा निर्णय फिर्ता लिएको हो । उच्च तहका एक अधिकारीका अनुसार नियम, प्रक्रिया र उड्डयन सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राख्दै निर्णय सच्याइएको हो ।
सम्बन्धित समाचार
