गैर–योग्य नियुक्ति भएको भन्दै नागरिक उड्डयन प्राधिकरणका दुई कर्मचारी संगठन आन्दोलित

दुवै संगठनले प्राधिकरणका निमित्त महानिर्देशकसमक्ष हवाई सुरक्षा निर्देशक पदमा गरिएको हालको सरुवा निर्णय तत्काल पुनरावलोकन वा खारेज हुनुपर्ने लगायतका माग राखेका छन् ।

माघ १४, २०८२

सुरज कुँवर

Two Civil Aviation Authority employee organizations protest over unqualified appointments

What you should know

काठमाडौँ — नागरिक उड्डयन प्राधिकरणअन्तर्गत गम्भीर मानिने हवाई सुरक्षा निर्देशक पदमा गरिएको पछिल्लो सरुवालाई लिएर विवाद चर्किएको छ।

देशभरका एयर ट्राफिक कन्ट्रोलरहरूको पेशागत संगठन नेपाल हवाई यातायात नियन्त्रक संघ (नाट्का) र प्राधिकरणको आधिकारिक कर्मचारी ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी संगठनले प्राधिकरणका निमित्त महानिर्देशक देवचन्द्र लाल कर्णले गरेको पछिल्लो निर्णयलाई उड्डयन सुरक्षाका दृष्टिले जोखिमपूर्ण भन्दै नियमविपरीत र संस्थागत मर्मविपरीत भएको भनी कडा आपत्ति जनाएका छन्।

दुवै संगठनका पदाधिकारीहरूले कान्तिपुरलाई दिएको जानकारीअनुसार नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक देवचन्द्र लाल कर्णले करिब एक साताअघि सुरेश साहलाई नागरिक उड्डयन हवाई सुरक्षा विभागको निर्देशकमा सरुवा गर्ने निर्णय गरेका थिए। साह पेशाले रेडियो इन्जिनियर हुन् र यसअघि तालिम केन्द्रमा कार्यरत थिए। हाल सरुवा गरिएको विभागमा एयर ट्राफिक कन्ट्रोलर सेवाका कर्मचारीबाहेक अन्य समूहलाई कानुनले रोकेको छ।

नेपाल हवाई यातायात नियन्त्रक संघले जारी गरेको विज्ञप्तिमा उक्त निर्णय नागरिक उड्डयन प्राधिकरण कर्मचारी नियमावली, २०६६ को मर्म, भावना र स्पष्ट व्यवस्थाको उल्लङ्घन भएको उल्लेख गरिएको छ। संघका अनुसार एभिएसन सेफ्टी निर्देशकजस्तो पद अत्यन्त संवेदनशील हुन्छ र यसका लागि उच्च प्राविधिक विवेक, अनुभव तथा संस्थागत ज्ञान आवश्यक पर्छ। यस्तो पदमा गैर–सम्बन्धित सेवा समूहका कर्मचारीलाई जिम्मेवारी दिनु उड्डयन सुरक्षा प्रणालीमा नकारात्मक असर पार्न सक्ने संघको ठहर छ।

नाट्काले यो निर्णयले भविष्यमा योग्यता, अनुभव र पेशागत दक्षताभन्दा बाहिर गएर प्राविधिक पदस्थापन गर्ने गलत नजिर बस्ने चेतावनी दिएको छ।

यसैबीच, नेपाल राष्ट्रिय कर्मचारी संगठनले पनि अलग विज्ञप्ति जारी गर्दै उक्त सरुवालाई नियमविपरीत, मनपरी र अपारदर्शी निर्णय भनेको छ। संगठनले प्राधिकरणभित्र केही कर्मचारीलाई लामो समयदेखि आर्थिक अधिकारसहित दोहोरो जिम्मेवारी दिइएको अवस्था गम्भीर र आपत्तिजनक भएको जनाएको छ। एउटै कर्मचारीलाई निरन्तर रूपमा बढुवा नहुने पदमा आर्थिक अधिकारसहित अतिरिक्त जिम्मेवारी दिनु कानुन, नियमावली तथा सुशासनका सिद्धान्तविपरीत भएको संगठनको ठहर छ।

एभिएसन सेफ्टी एन्ड सेकुरिटी रेगुलेसन निर्देशनालयअन्तर्गत पर्ने हवाई सुरक्षा विभागमा एयर ट्राफिक सेवा समूहको दरबन्दी कायम हुँदाहुँदै अन्य सेवा/समूहका कर्मचारीलाई जिम्मेवारी दिनु संस्थागत सुशासनको स्पष्ट उल्लङ्घन भएको उनीहरूले बताएका छन्। संघले हवाई सुरक्षा जस्तो संवेदनशील क्षेत्रमा सम्बन्धित योग्यता, अनुभव र दक्षताबाहेकका व्यक्तिलाई जिम्मेवारी दिनु सम्पूर्ण उड्डयन सुरक्षामाथि गम्भीर प्रश्न खडा गर्ने विषय भएको उल्लेख गरेको छ।

दुवै संगठनले प्राधिकरणका निमित्त महानिर्देशक कर्णसमक्ष हवाई सुरक्षा निर्देशक पदमा गरिएको हालको सरुवा निर्णय तत्काल पुनरावलोकन वा खारेज हुनुपर्ने, नियमावलीअनुसार सम्बन्धित सेवा समूहका योग्य, अनुभवी र सक्षम कर्मचारीलाई मात्र जिम्मेवारी दिनुपर्ने तथा भविष्यमा यस्तो नियमविपरीत, मनपरी र अपारदर्शी निर्णय नदोहोर्याउन स्पष्ट नीति र प्रक्रिया अवलम्बन गरिनुपर्ने माग राखेका छन्। यदि प्राधिकरणले उक्त निर्णय सच्याउन पहल नगरेमा उड्डयन सुरक्षा, संस्थागत मर्यादा र कर्मचारी अधिकारको संरक्षणका लागि उपलब्ध सबै वैधानिक, संस्थागत तथा पेशागत कदम चाल्न बाध्य हुने चेतावनी दुवै संगठनले दिएका छन्। संगठनहरूले यो विषय व्यक्तिगत नभई प्रणालीगत र संस्थागत समस्या भएको स्पष्ट गर्दै उड्डयन सुरक्षामा कुनै पनि प्रकारको सम्झौता स्वीकार्य नहुने बताएका छन्।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully