सुनको भाउ एकैदिन २० हजार ५ सय रुपैयाँले बढ्यो, तोलाको कति पुग्यो ?

डलरमा आकर्षण घटेपछि लगानीकर्ताले सुरक्षित मानिएको घातु सुनमा लगानी बढाएकाले विश्व बजारमा सुनको माग बढिरहेको छ

माघ १५, २०८२

कान्तिपुर संवाददाता

The price of gold increased by 20,500 rupees in a single day, how much did it cost per tola?

What you should know

काठमाडौँ — नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । बिहीबार मात्र सुनको भाउ तोला(११.६६३ ग्राम)मै २० हजार ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ ३ लाख ३९ हजार ३ सय तोकिएको छ । 

बुधबार भने घरेलु बजारमा सुन प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै बिहीबार चाँदीको भाउ पनि २ सय ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार बिहीबार चाँदीको भाउ ७ हजार ५ सय ५ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५६० र त्यति नै परिमाणको सेतो धातु १२० अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

केही दिनयता नेपाली बजारमा सुन र अमेरिकी डलरको मूल्य हरेक दिन उकालो लागिरहेको छ । सुन र अमेरिकी डलरको बजार मूल्य/विनिमय दरले हरेक दिन नयाँ रेकर्ड बनाइरहँदा त्यसको प्रत्यक्ष/अप्रत्यक्ष असर आम उपभोक्ताको खरिद क्षमतासँगै समग्र अर्थतन्त्रमा परेको छ । 

विश्व बजारमा सुनको मूल्य बढ्नु र नेपाली मुद्राको विनिमय दर अमेरिकी डलरको तुलनामा कमजोर हुनु दुई कारणले नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागेको नेपाल राष्ट्र बैंकमा पूर्वकार्यवाहक गभर्नर कृष्णबहादुर मानन्धरले कान्तिपुरसँगको कुराकानीमा बताएका छन् । 

‘अमेरिकाको आन्तरिक राजनीति र व्यापार नीतिमा देखिएको अस्थिरता, विभिन्न मुलुकसँग परिवर्तित भन्सार शुल्क (ट्यारिफ), संरक्षणवादी नीति र अन्तर्राष्ट्रिय सम्बन्धमा आएको तनावलगायत कारण विश्व बजारमा डलरप्रति लगानीकर्ताको आकर्षण घटेको छ । यसले डलर कमजोर भएको छ,’ उनले भनेका छन्, ‘डलरमा आकर्षण घटेपछि लगानीकर्ताले सुरक्षित मानिएको घातु सुनमा लगानी बढाएकाले विश्व बजारमा सुनको माग बढेको छ ।’

कान्तिपुर संवाददाता

Link copied successfully