घरेलु बजारमा सोमबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ कायम भएको छ, यो हालसम्मकै उच्च हो
What you should know
काठमाडौँ — नेपाली बजारमा सुन र अमेरिकी डलरको मूल्य हरेक दिन उकालो लागिरहेको छ । सुन र अमेरिकी डलरको बजार मूल्य/विनिमय दरले हरेक दिन नयाँ रेकर्ड बनाइरहँदा त्यसको प्रत्यक्ष/अप्रत्यक्ष असर आम उपभोक्ताको खरिद क्षमतासँगै समग्र अर्थतन्त्रमा परेको छ ।
अकासिँदो सुनको मूल्यले घरेलु बजारमा हलचल ल्याएको छ । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा निरन्तर कमजोर बनिरहँदा आयातकर्ता मात्र होइन आम नागरिकमा पनि तरंग उब्जाइरहेको छ । आखिर किन बढिरहेको छ सुनको मूल्य ? मूल्य कुन उचाइसम्म पुग्ला ? नेरु–डलरबीचको विनियमर दर कहिले स्थिर होलालगायत प्रश्नको उत्तर खोतल्ने प्रयास गरेका छौःं
घरेलु बजारमा सोमबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च हो । आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा ५ हजार २ सय रुपैयाँले वृद्धि भएको हो । आइतबार सुन प्रतितोला ३ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनसँगै चाँदी मूल्य पनि प्रतितोला २ सय ८५ रुपैयाँले बढेको छ । आइतबार ६ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार ६ हजार ७ सय ६५ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यले ऐतिहासिक कीर्तिमान कायम गरेको छ । पहिलो पटक सुनको मूल्य प्रतिऔंस ५ हजार डलर नाघेको हो । सन् २०२५ को तुलनामा सुनको मूल्य ६० प्रतिशतले वृद्धि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
विश्व बजारमा सुनको मूल्य बढ्नु र नेपाली मुद्राको विनिमय दर अमेरिकी डलरको तुलनामा कमजोर हुनु दुई कारणले नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागेको नेपाल राष्ट्र बैंकमा पूर्वकार्यवाहक गभर्नर कृष्णबहादुर मानन्धरले बताए ।
‘अमेरिकाको आन्तरिक राजनीति र व्यापार नीतिमा देखिएको अस्थिरता, विभिन्न मुलुकसँग परिवर्तित भन्सार शुल्क (ट्यारिफ), संरक्षणवादी नीति र अन्तर्राष्ट्रिय सम्बन्धमा आएको तनावलगायत कारण विश्व बजारमा डलरप्रति लगानीकर्ताको आकर्षण घटेको छ । यसले डलर कमजोर भएको छ,’ उनले भने, ‘डलरमा आकर्षण घटेपछि लगानीकर्ताले सुरक्षित मानिएको घातु सुनमा लगानी बढाएकाले विश्व बजारमा सुनको माग बढेको छ ।’
पछिल्ला महिनाहरूमा अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा (भारु) निरन्तर कमजोर बनिरहेको छ । भारु कमजोर बनिरहँदा स्थिर विनिमय दर रहेको नेपाली मुद्रा निरन्तर कमजोर बनिरहेको छ । यसरी विश्व बजारमा सुनको मूल्य बढ्नु र भारतीय मुद्रा कमजोर भएको कारणले डलरको विनियम दर पनि अकासिनु जस्ता दुई कारणले नेपाली बजारमा सुनको मूल्यले हरेक दिन नयाँ रेकर्ड बनाएको मानन्धरले बताए ।
‘भारत र अमेरिकाबीचको व्यापार सम्झौता भइसकेको छैन । भारतीय सेयर बजारको ख्याति (प्रतिफल) अन्य विश्वका सेयर बजारको तुलनामा त्यति राम्रो छैन । यसकारण विदेशी लगानीकर्ताले धमाधम सेयर बिक्री गरेर डलरमा लगानी फिर्ता लगिरहेका छन्,’ उनले भने, ‘यसरी ठूलो परिणाममा डलर बाहिरिएपछि भारतीय
मुद्रा निरन्तर कमजोर बनेको छ । त्यसको प्रत्यक्ष असर नेरुमा पनि परेको हो ।’ यसरी एउटा विश्व बजारमै मूल्य बढेको र अर्को भारुका कारणले डलरको तुलनामा नेपाली मुद्रा पनि कमजोर हुँदा महँगोमा किन्नुपरेकाले नेपाली बजारमा सुन महँगिएको मानन्धरले प्रस्ट्याए ।
पछिल्लो एक महिनामा विश्व बजारमा अमेरिकी डलर निरन्तर कमजोर भएको र सुनको मूल्य निरन्तर उकालो लागिरहेको ट्रेडिङ इकोनोमिक्स डटकमले जनाएको छ । जसअनुसार १६ जनवरी २०२६ मा प्रतिऔंस ४ हजार ४ सय ४८ डलर रहेको सुनको मूल्य सोमबार साँझ (नेपाली समय) २६ जनवरी २०२६ मा ५ हजार ७७ डलर पुगेको छ ।
यसरी सुनको मूल्य निरन्तर उकालो लाग्नुको कारण डलरमा आएको गिरावट पनि हो । जसअनुसार पछिल्लो एक महिनाको तथ्यांक हेर्दा पछिल्लो दस दिनमा विश्व बजारमा डलर सूचकांक लगातार घटिरहेको छ । १९ जनवरी २०२६ मा ९९.३७ रहेको डलर सूचकांक सोमबार साँझ (नेपाली समय) २६ जनवरी २०२६ सम्म ९७ मा ओर्लेको छ । यसले पनि विश्व बजारमा डलरमा लगानीकर्ताको आकर्षण घटेको र सुनमा बढेको पुष्टि हुन्छ ।
ट्रेडिङ इकोनोमिक्स डटकमका अनुसार पछिल्लो १० दिनमा अमेरिकी डलरको तुलनामा भारु निरन्तर कमजोर भइरहेको छ । जसअनुसार १४ जनवरी २०२६ मा एक अमेरिकी डलरको विनिमय दर भारु ८९ रहेकामा सोमबार २६ जनवरी २०२६ साझँसम्म ९१.७० पुगेको छ । यसरी डलरको तुलनामा भारु कमजोर भइरहँदा त्यससँग स्थिर विनिमय दर रहेको नेरु पनि कमजोर भएको छ ।
डलरको तुलनामा नेरु कमजोर हुँदा सुन आयात महँगो पर्न गएकाले नेपाली बजारमा सुनको मूल्य धेरैले बढिरहेको जानकारहरू बताउँछन् । विश्व बजारमा सुनसँगै चाँदीको मूल्य पनि प्रतिऔंस १०० डलर पुगेको छ । जुन गत वर्षको तुलनामा १५० प्रतिशतले वृद्धि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
ट्रेडिङ इकोनोमिक्स डटकमका अनुसार पछिल्ला साताहरूमा विदेशी लगानीकर्ताले भारतीय बजारबाट सेयर बिक्री गरेर लगानी फिर्ता लगिरहेका छन् । भारतीय अर्थतन्त्रको वृद्धिदर उच्च रहने अनुमान भइरहेका बेला विदेशी लगानीकर्ताले ठूलो परिणाममा सेयर बिक्री गरिरहेको भारतीय धितोपत्र बोर्ड (सेबी) ले जनाएको छ ।
विश्व बजारमै सुनको मूल्य बढेकाले घरेलु बजारमा पनि सुनको भाउ निरन्तर अकासिएको नेपाल सुन–चाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । ‘सुनको मूल्य विश्व बजारमै बढिरहेको छ । आइतबार मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाले चीनसँग व्यापार सम्झौता गरे अमेरिकाले सय प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन्,’ उनले भने, ‘यो घोषणापछि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य थप बढेको छ । यसको असर नेपाली बजारमा पनि परेको हो ।’
शाक्यका अनुसार सुनका गरगहनाको माग शून्य भएकाले व्यवसायीहरूले बैंकहरूबाट सुन खरिद गरेका छैनन् । ‘बजारमा गरगहनाको माग शून्य भएकाले व्यवसायीहरूले सिफारिसका आधारमा बैंकसँग सुन खरिद नगरेका हुन्,’ उनले भने ।
नेपाली बजारमा चाँदीको कृत्रिम अभाव
नेपाली बजारमा चाँदीको अभाव भएको छ । केही दिनयता बजारमा चाँदीको माग बढिरहेका बेला स्टक सकिएको भन्दै व्यवसायीहरूले चाँदी बिक्री गरेका छैनन् । बैंकले चाँदी बिक्री नगरेको र आफूहरूसँग भएको स्टक सकिएकाले मागअनुसार चाँदी बिक्री गर्न नसकिएको सुन–चाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष शाक्यले बताए । ‘बजारमा चाँदी अभाव भएको छ । किनकि बैंकले आफूसँग चाँदी नभएको भन्दै बेचेका छैनन्,’ शाक्यले भने, ‘बैंकले नबेचेपछि बजारमा चाँदी अभाव भएको हो ।’
तर बजारमा व्यवसायीहरूले नै चाँदीको कृत्रिमा अभाव गराइरहेको स्रोतले बताएको छ । अहिले व्यवसायीहरूले नै चाँदी बेच्न चाहेका छैनन् । यसको कृत्रिम अभाव सिर्जना गरिएको हो ।
बैंकहरूमा चाँदी अभाव रहेको व्यवसायीको भनाइमा पनि सत्यता छैन । किनकि चाँदी व्यवसायी आफैंले पनि आयात गर्न पाउँछन् । यसकारण बैंकले दिएनन् भनेर आरोप लगाउन नपाइने जानकारहरू बताउँछन् । सुन भने नेपालमा वाणिज्य बैंकहरूले मात्र आयात गर्न पाउँछन् । हाल बैंकहरूसँग १३० किलो सुन स्टकमा छ । व्यवसायीहरूबाट खरिदका लागि माग नै नआएकाले सुन बिक्री नभएको बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बताए । ‘बैंकहरूसँग सुन मौज्दात पर्याप्त छ,’ कोइरालाले भने, ‘सुन बिक्री नभएपछि बैंकहरूले कोटाको सुन पनि आयात नगरेको अवस्था छ ।’
बढ्यो अनौपचारिक कारोबार
केही महिनायता बजारमा सुन र चाँदीको मूल्य निन्तर बढिरहेको छ । सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार पुगेको छ । यस्तै चाँदीको मूल्य प्रतितोला ६ हजार ७ सय नाघिसकेको छ । सुन र चाँदीको मूल्य अझै धेरैले बढ्ने अनुमान गरिएका छन् । यस्तो अवस्थामा महँगो भएकाले धेरै ग्राहकले सुन खरिद गर्न सकेका छैनन् । यही कारण धेरै ग्राहकको आकर्षण चाँदीमा गएको व्यवसायीहरू बताउँछन् ।
‘व्यवसायीहरूले बैंकबाट सुन र चाँदी खरिद गर्न व्यवसायीहरूको संघ/महासंघबाट सिफारिस चाहिन्छ । यसरी खरिद गरेको सबै कारोबार रेकर्डेड हुन्छ । यसरी खरिद गरेको सुन–चाँदीका गहना पनि खरिद दरमै बिक्री गर्नुपर्ने हुन्छ । त्यो दरमा व्यवसायीहरूले कारोबार गर्दा बजारमूल्य धेरै महँगो हुन्छ,’ एक व्यवसायीले भने, ‘यसकारण अहिले बजारमा अनौपचारिक कारोबार भइरहेको छ । यसकारण बैंकको सुन नबिकेको हो ।’
यस्तै, ग्रिनल्यान्डलाई लिएर अमेरिका र नाटोबीचको तनाव र विश्वव्यापी वित्तीय र भूराजनीतिक अनिश्चितताका कारण सुनको मूल्य वृद्धि हुन पुगेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिका कारण बजारलाई चिन्तित बनाएको छ । शनिबार ट्रम्पले क्यानडाले चीनसँग व्यापार सम्झौता गरेमा १०० प्रतिशत भन्सार कर बढाउने चेतावनी दिएका छन् ।
अमेरिकी डलर कमजोर बनिरहँदा ठूला देश र केन्द्रीय बैंकले सुन र चाँदीमा लगानी बढाइरहेका छन् । चीन, पोल्यान्ड, ब्राजिल, भारतलगायत राष्ट्र सुनको मौज्दात बढाउने रणनीतिमा छन् । चीनले सुनलाई विदेशी सञ्चितिको एक प्रमुख भागका रूपमा लिएको देखिन्छ ।
विश्व बजारमा देखिएको आर्थिक अस्थिरता, विनिमय दर जोखिम, वैदेशिक दबाबको समयमा सुरक्षित भण्डालगायत कारण ती देशहरूले सुनको भण्डारणलाई बढाइरहेका हुन् । यसले अन्तर्राष्ट्रिय बजारमा ठूलो प्रभाव पारिरहेको जानकारहरू बताउँछन् ।
नेरु निरन्तर कमजोर
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको विनिमय दर १४७.४१ रुपैयाँ (बिक्री दर) तोकेको छ । यो हालसम्मकै उच्च हो । पछिल्ला सातामा अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर बन्दै आएको छ ।
सोही क्रममा डलरको विनिमय दरले निरन्तरजसो नयाँ रेकर्ड बनाउँदै आएको हो । यद्यपि गत शनिबार एक अमेरिकी डलरको विनिमय दर १४७.४१ रुपैयाँ थियो । एक साताअघि यस्तो विनिमय दर १४६.८१ रुपैयाँ थियो । असार २०८२ को तुलनामा गत मंसिरसम्म अमेरिकी डलरसँग नेपाली रुपैयाँ ५.१ प्रतिशतले अवमूल्यन (कमजोर) भएको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । गत वर्षको सोही अवधिमा नेपाली रुपैयाँ १.५ प्रतिशतले अवमूल्यन भएको थियो । मंसिर २०८२ मा अमेरिकी डलर एकको खरिद विनिमय दर १४४.३७ रुपैयाँ पुगेको थियो । २०८२ असार मसान्तमा उक्त विनिमय दर १३७ रुपैयाँ थियो ।
डलर महँगिँदा के लाभ, कस्तो नोक्सानी ?
डलर बलियो बन्दा नेपाललाई लाभ पनि हुन्छ । हालको अवस्थामा सबैभन्दा बढी फाइदा रेमिट्यान्स आप्रवाहमा पर्छ । डलर बलियो हुँदा एकातिर रेमिट्यान्स आप्रवाह (मुलुक भित्रिने रकम) बढ्छ भने अर्कोतिर रेमिट्यान्स पठाउनेको संख्या पनि तीव्र हुन्छ । डलर बढेको समयमा फाइदा पुग्ने भएकाले विदेशमा रहेका नेपालीले ठूलो मात्रामा रेमिट्यान्स पठाउँछन् । पछिल्ला महिनाहरूमा रेमिट्यान्समा लगातार बढोत्तरी आउनुको एउटा कारण डलर बलियो हुनु पनि हो । डलर बलियो हुँदा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा पनि सकारात्मक प्रभाव पर्छ ।
यसरी रेमिट्यान्स र एफडीआईमा आएको सुधारले मुलुकको भुक्तानी सन्तुलन बचतमा राख्न ठूलो मद्दत पुग्छ । नेपालले पर्यटन र निर्यातमा राम्रो सुधार गरेर पनि डलर बलियो हुनुको लाभ लिन सक्थ्यो । अहिले पर्यटक बिस्तारै बढ्न थाले पनि अपेक्षित रूपमा बढाउन सकिएको छैन । निर्यात बढी रहेको छ । तर, आन्तरिक उत्पादन बढेकाले निर्यात बढेको नभएर भारतबाट कच्चा तेल आयात हुने र यहाँ प्रशोधन भएर भारत निर्यात हुने क्रम बढेकाले जुन दरले निर्यात बढेको छ, त्यो अनुपातको लाभ नेपालले पाउन सकेको छैन ।
डलरको भाउ बढ्दा सबैभन्दा बढी नोक्सानी वस्तु तथा सेवाको आयातबापतको भुक्तानीमा हुन्छ । आयात बढ्दो गतिमा रहेकाले त्यसबापत भुक्तानी गर्नुपर्ने दायित्व पनि बढिरहेको छ । नेरु कमजोर हुँदा वैदेशिक ऋण लगानी भुक्तानीको दायित्व बढ्छ । विदेशबाट लिएको ऋणको साँवा–ब्याज भुक्तानीका लागि पनि धेरै रकम तिर्नुपर्छ । विदेशमा औषधोपचार, अध्ययन, भ्रमणलगायतमा जानेहरूको लागत महँगो पर्छ ।
