किन बढिरहेछ सुनको भाउ ?

सन् २०२४ मा विश्वका केन्द्रीय बैँकहरूले झन्डै १ हजार मेट्रिक टनभन्दा बढी सुन थुपारेको तथ्यांक भिजुअल क्यापिटलिस्टले सार्वजनिक गरेको थियो

माघ १४, २०८२

कान्तिपुर संवाददाता

Why is the price of gold increasing?

What you should know

काठमाडौँ — मंगलबारको तुलनामा बुधबार एकैदिनमा सुनको मूल्य तोलामा ९ हजार ५ सय रुपैयाँले बढ्यो। मंगलबार छापावाल एक तोला सुनको मूल्य ३ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। यसको भाउ बुधबार ३ लाख १८ हजार ८ सय रुपैयाँ पुग्यो।

सुनको मुल्यमा देखिएको यस्तो वृद्धीको कारण के हो ? ट्रेडिङ इकोनोमिक्स डटकमले पछिल्लो एक महिनामा विश्व बजारमा अमेरिकी डलर निरन्तर कमजोर भएको र सुनको मूल्य निरन्तर उकालो लागिरहेको जनाएको छ। जसअनुसार १६ जनवरी २०२६ मा प्रतिऔंस ४ हजार ४ सय ४८ डलर रहेको सुनको मूल्य सोमबार साँझ (नेपाली समय) २६ जनवरी २०२६ मा ५ हजार ७७ डलर पुगेको छ।

यसरी सुनको मूल्य निरन्तर उकालो लाग्नुको कारण डलरमा आएको गिरावट पनि हो। जसअनुसार पछिल्लो एक महिनाको तथ्यांक हेर्दा पछिल्लो दस दिनमा विश्व बजारमा डलर सूचकांक लगातार घटिरहेको छ। १९ जनवरी २०२६ मा ९९.३७ रहेको डलर सूचकांक सोमबार साँझ (नेपाली समय) २६ जनवरी २०२६ सम्म ९७ मा ओर्लेको छ। यसले पनि विश्व बजारमा डलरमा लगानीकर्ताको आकर्षण घटेको र सुनमा बढेको पुष्टि हुन्छ।

रोयटर्सका अनुसार गत वर्ष ६४ प्रतिशत र यस वर्ष १७ प्रतिशतले सुनको मूल्य उकालो लाग्नुमा लगानी सुरक्षित गर्ने उपाय पनि मुख्य कारण हो। एकातिर सुनको भाउ उकालो लागिरहेको छ भन अर्कोतिर केही टेक र क्रिप्टोकरेन्सीमा काम गर्ने व्यापारिक कम्पनीहरु र केही देशहरुले सुन थुपार्ने अघोषित दौड सुरु गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकपछि अर्को अस्थीर निर्णय, अतिरिक्त शुल्क र भूराजनीतिक तनावका कारण विभिन्न देशहरू परम्परागत जोहोमा फर्किन थालेको देखिन्छ। सन् २०२४ मा विश्वका केन्द्रीय बैँकहरूले झन्डै १ हजार मेट्रिक टनभन्दा बढी सुन थुपारेको तथ्यांक भिजुअल क्यापिटलिस्टले सार्वजनिक गरेको थियो भने सन् २०२५ को तथ्यांक त्योभन्दा माथि जान सक्ने सञ्चार माध्यमहरूको दाबी छ। सुन धेरै खरिद गर्ने देशहरूमा चीन, पोल्यान्ड, भारतजस्ता देशहरू रहेको फोर्ब्सको एक रिपोर्टमा उल्लेख छ।

लगातार १४ महिनासम्म निरन्तर सुन खरिद गरेको चीनको केन्द्रीय बैँकले आफ्नो सुन भण्डारणलाई लगभग २३ सय मेट्रिक टन पुर्‍याएको छ। रोयटर्सका अनुसार पछिल्ला दिनमा आक्रामक रूपमा सुनमा लगानी गर्ने देश पोल्यान्ड हो। यसले सन् २०२५ मा मात्रै ९५ मेट्रिक टनभन्दा बढी सुन किनेर आफ्नो रिजर्भ ७०० मेट्रिक टनभन्दा ठूलो बनाएको छ। मात्रा नखुले पनि टाइम्स अफ इन्डियाका अनुसार वर्ष २०२४ र २५ मा पोल्यान्डपछि धेरै सुन खरिद गर्ने केन्द्रीय बैँक भारतको हो। भारतसँगै टर्की, काजकस्तान, ब्राजिल, उज्वेकिस्तान, इन्डोनेसिया, चेक गणतन्त्र, घाना, फिलिपिन्सजस्ता देशहरूले अत्यन्तै आक्रामक रूपमा सुनको भण्डार बढाउँदै लगेको फोर्ब्सलगायत सञ्चार माध्यमहरूले जनाएका छन्।

विश्व बजारमै सुनको मूल्य बढेकाले घरेलु बजारमा पनि सुनको भाउ निरन्तर अकासिएको नेपाल सुन–चाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए। ‘सुनको मूल्य विश्व बजारमै बढिरहेको छ। आइतबार मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाले चीनसँग व्यापार सम्झौता गरे अमेरिकाले सय प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन्,’ उनले भने, ‘यो घोषणापछि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य थप बढेको छ। यसको असर नेपाली बजारमा पनि परेको हो।’

शाक्यका अनुसार सुनका गरगहनाको माग शून्य भएकाले व्यवसायीहरूले बैंकहरूबाट सुन खरिद गरेका छैनन्। उनले भने, ‘बजारमा गरगहनाको माग शून्य भएकाले व्यवसायीहरूले सिफारिसका आधारमा बैंकसँग सुन खरिद नगरेका हुन्।’

कान्तिपुर संवाददाता

Link copied successfully