सुन थुपार्नेको होड, टेथरले किन्यो ३ महिनामा २७ मेट्रिक टन

अर्बपति व्यापारीहरू र विश्वका प्रमुख देशले समेत आ–आफ्नो भण्डार बढाउन आक्रामक रूपमा सुन किनेर बजारमा नयाँ रेकर्ड बनाएका छन्।

माघ १३, २०८२

एजेन्सी

Gold hoarding race, Tether buys 27 metric tons in 3 months

What you should know

काठमाडौँ — क्रिप्टो मुद्रा ‘टेथर’ले पछिल्ला महिना धमाधम सुन किनेर थुपारिरहेको पाइएको छ । सन् २०२५ को चौथो त्रैमासिकमा झन्डै २७ मेट्रिक टन सुन खरिद गरेको टेथरले स्वीकार गरेको छ ।

तेस्रो त्रैमासिकमा पनि २६ मेट्रिक टन किनेको बजार विज्ञहरूले औँल्याएका थिए । अन्तर्राष्ट्रिय बजारमा किन सुनको मूल्य अचाक्ली बढिहरेको छ भन्नेबारे यस घटनाबाट पनि अनुमान लगाउन सकिन्छ ।

टेथरले आफ्नो लगानीलाई विविधिकरण गर्न र आफ्नो स्टेबल्कोइन खरिद गर्नेहरूलाई भरोसा दिलाउन सुन रिजर्भ बढाएको दाबी गरेको छ । आलोचकहरूले भने यो गतिविधि क्रिप्टो मुद्राको विशेषताविपरीत भएको बताइरहेका छन् । केन्द्रीय बैँकमा सुन भण्डार गरेर त्यसको आधारमा परम्परागत मुद्रा जारी गर्ने प्रणालीमा असहमति जनाउँदै नयाँ मुद्रा बजार स्थापना गरेका कम्पनीहरू नै यसरी सुन थुपार्नतिर लाग्नु उचित नभएको आलोचकहरूको तर्क छ । 

रोयटर्सका अनुसार गत वर्ष ६४ प्रतिशत र यस वर्ष १७ प्रतिशतले सुनको मूल्य उकालो लाग्नुमा लगानी सुरक्षित गर्ने उपाय पनि मुख्य कारण हो । झन्डै १ खर्ब ८६ अर्ब अमेरिकी डलर बजार मूल्य आकलन गरिएको टेथरले आफ्नो मुद्राको स्थिरता लागि सुन बजारमा लगानी आक्रामक बनाएको देखिन्छ । टेथर मात्र नभएर विश्वकै सबैभन्दा ठूलो हेज फन्ड ब्रिजवाटर असोसियट्सका संस्थापक राय डाइलो, हेज फन्ड व्यवस्थापक जन पल्सनसँगै अर्बपतिहरू नकिब साविरिस, साम जेल, डेभिड आइन्हर्नजस्ता धनाढ्यहरूले पनि सुनमा उल्लेख्य लगानी बढाएका छन् । 

सुन थुपार्ने दौडमा व्यापारीहरू मात्रै नभएर देशहरू पनि छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकपछि अर्को अस्थीर निर्णय, अतिरिक्त शुल्क र भूराजनीतिक तनावका कारण विभिन्न देशहरू परम्परागत जोहोमा फर्किन थालेको देखिन्छ। सन् २०२४ मा विश्वका केन्द्रीय बैँकहरूले झन्डै १ हजार मेट्रिक टनभन्दा बढी सुन थुपारेको तथ्यांक भिजुअल क्यापिटलिस्टले सार्वजनिक गरेको थियो भने सन् २०२५ को तथ्यांक त्योभन्दा माथि जान सक्ने सञ्चार माध्यमहरूको दाबी छ । सुन धेरै खरिद गर्ने देशहरूमा चीन, पोल्यान्ड, भारतजस्ता देशहरू रहेको फोर्ब्सको एक रिपोर्टमा उल्लेख छ। 

लगातार १४ महिनासम्म निरन्तर सुन खरिद गरेको चीनको केन्द्रीय बैँकले आफ्नो सुन भण्डारणलाई लगभग २३ सय मेट्रिक टन पुर्‍याएको छ। रोयटर्सका अनुसार पछिल्ला दिनमा आक्रामक रूपमा सुनमा लगानी गर्ने देश पोल्यान्ड हो । यसले सन् २०२५ मा मात्रै ९५ मेट्रिक टनभन्दा बढी सुन किनेर आफ्नो रिजर्भ ७०० मेट्रिक टनभन्दा ठूलो बनाएको छ । मात्रा नखुले पनि टाइम्स अफ इन्डियाका अनुसार वर्ष २०२४ र २५ मा पोल्यान्डपछि धेरै सुन खरिद गर्ने केन्द्रीय बैँक भारतको हो। भारतसँगै टर्की, काजकस्तान, ब्राजिल, उज्वेकिस्तान, इन्डोनेसिया, चेक गणतन्त्र, घाना, फिलिपिन्सजस्ता देशहरूले अत्यन्तै आक्रामक रूपमा सुनको भण्डार बढाउँदै लगेको फोर्ब्सलगायत सञ्चार माध्यमहरूले जनाएका छन् । 

इतिहासमै पहिलोपटक प्रतिआउन्स ५ हजार अमेरिकी डलरभन्दा माथि पुगेको सुनको मूल्य वर्ष २०२६ भित्र प्रतिआउन्स ५५०० देखि ६५०० सम्म हुनसक्ने तर विस्तारै बजार सुधार हुने इन्भेस्टिङ डट्कमका विज्ञहरूको अनुमान छ । 

एजेन्सी

Link copied successfully