उनले २४ गते भएको घटनामा लुटपाट गर्ने, चोरी गर्ने तथा निजी संस्थाहरू ध्वस्त पार्नेहरूमाथि कारबाही हुनुपर्नेमा जोड दिए ।
काठमाडौँ — नेपाल उद्योग तथा व्यवसायी महासंघका अध्यक्ष भागिरथ सापकोटाले उद्योगी–व्यवसायीहरू सामाजिक दबाबमा परेका र व्यवसायिक अस्थिरताका कारण निजी क्षेत्रको मनोबल कमजोर बनेको बताएका छन् ।
उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकको बृहत् भेलालाई सम्बोधन गर्दै उनले यसै कारण उद्योगी–व्यवसायीहरू सामाजिक फ्रस्टेशनमा पुगेको बताए ।
‘हामी उद्योगी–व्यवसायी सामाजिक फ्रस्टेशनमा छौं । व्यवसायिक हिसाबले अस्थिर अवस्थामा छौं । यस्तो अवस्थामा हाम्रो मनोबल गिरेको छ,’ उनले भने, ‘यस्तो समयमै समाज दुई भागमा विभाजित भएको अवस्था पनि देखिन्छ ।’
सापकोटाले निजी क्षेत्र र उद्यमीहरू अर्थतन्त्र सुधार्न र त्यसको संरक्षण गर्न निरन्तर लागिरहेको बताए । उनले जेन–जी आन्दोलनलाई भदौ २३ र २४ गतेका घटनालाई छुट्टाछुट्टै रूपमा हेर्नुपर्ने धारणा राखे ।
उनले २४ गते भएका घटनामा लुटपाट गर्ने, चोरी गर्ने तथा निजी संस्थाहरू ध्वस्त पार्नेहरूमाथि कारबाही हुनुपर्नेमा जोड दिँदै यदि त्यसो हुन नसके निजी क्षेत्र थप एक्लिँदै जाने र मनोबल झन् खस्किँदै जाने चेतावनी दिए ।
सम्बन्धित समाचार
