ढुक्क भएर काम गर्ने वातावरण बनाउन निजी क्षेत्रको माग

निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन रणनीति छिटो लागू गर्न आग्रह

पुस १६, २०८२

कान्तिपुर संवाददाता

Demand from the private sector to create a safe working environment

What you should know

काठमाडौँ — मुलुकको कानुनको परिधिभित्र बसेर ढुक्क भएर काम गर्ने वातावरण आफूहरूलाई चाहिएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको आज काठमाडौंमा आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवादमा अध्यक्ष ढकालले महत्त्वका क्षेत्रका रूपमा नेपाल सरकार (मन्त्रिपरिषद्) बाट पारित गरी निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन रणनीति छिटो लागू गर्न आग्रह गरेका छन् । 

‘यो रणनीति निर्माण गरी लागू गर्नु आजको आवश्यकता हो,’ उनले भने, ‘त्यो वातावरण निर्माणका लागि पहिलो र प्राथमिक कामका रूपमा सरकार, राजनीतिक दलहरू, निजी क्षेत्र र जेन-जी समूहको प्रतिबद्धता प्रष्ट परिभाषित गरी आज प्रतिबद्धता आओस भन्ने हाम्रो चाहना हो ।’

देशका रोजगारदाता, सेवा प्रदायक, पूर्वाधार निर्माणकर्ता, राजश्व संकलनमा योगदान एवं सम्पत्ति निर्माण गर्ने उद्यमी व्यवसायीको मनोबल उच्च राखी लगानी बढाउन निर्वाध पेसा व्यवसाय गर्न पाउने र सम्पत्तिको हकसम्बन्धी नैसर्गिक अधिकारको सम्मान हुने वातावरण निर्माण गर्न आवश्यक रहेको उनले आग्रह गरे । 

उक्त रणनीतिअन्तर्गत उद्यमी व्यवसायीलाई द्रुत सेवा र सुरक्षा प्रदान गर्ने सुनिश्चतता गरी बन्द हडताल तोडफोड आगजनीलगायतका आक्रमण निषेधित क्षेत्रका रुपमा संरक्षण प्रदान गर्नुपर्ने उनको भनाइ थियो । 

‘उद्योग, कलकारखाना, प्रतिष्ठान, निजी आवासलगायतको सुरक्षाको प्रत्याभूति गराउन छुट्टै हटलाइन र द्रुत सुरक्षा दस्ता तयार पारि सेवा प्रदान गर्ने व्यवस्था सरकारले गर्नुपर्छ,’ उनले भने, ‘भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको गलत घुसपैठ मार्फत कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका र निजी क्षेत्रका निजी सम्पत्ति एवं सार्वजनिक सेवा प्रतिष्ठानमा लुटपाट तथा आगजनीमा संलग्न व्यक्तिहरुलाई आवश्यक कारवाहीको दायरामा ल्याउनुपर्छ ।’ 

सहज व्यवसाय दर्ता, खारेजी, सहुलियतपूर्ण कर्जा एवं बजार सुनिश्चितताका लागि आवश्यक सुविधासहितको युवा उद्यमशीलता विकास योजना निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन रणनीतिको मुख्य अंगका रुपमा कार्यान्वयन गनए पनि उनले आग्रह गरे । यसले स्वदेशमा उद्यमशीलता बढाउन र युवाहरूलाई स्वदेशमा सम्भावना देखाउन मद्दत पुग्ने उनको भनाइ थियो । 

‘राजनीतिक दलहरू जसले तीन दशकभन्दा लामो समय मुलुकको शासन सत्ता सम्हाल्नुभयो, उहाँहरूले पनि सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणमा युवा पुस्ताले उठाएको प्रश्नको समिक्षा गर्ने र यसका लागि गम्भीर हुनुपर्ने आवश्यकता छ,’ उनले भने, ‘लोकतन्त्र, बजार अर्थतन्त्र, शान्ति, स्थायित्व र समृद्धिका लागि प्रतिबद्ध भएर काम गरि उद्योग व्यवसाय क्षेत्रलाई प्राथमिक महत्त्वको क्षेत्रका रूपमा मान्यता दिई निर्वाध पेसा व्यवसाय गर्न पाउने सुनश्चितताका लागि प्रतिबद्धता व्यक्त हुनुपर्छ ।’

कान्तिपुर

Link copied successfully