रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा अनियमितता भएको भन्दै गत साता अर्थ मन्त्रालयमा उजुरी परेको थियो ।
What you should know
काठमाडौँ — रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक सेयर निष्कासन (आईपीओ)मा अनियमितता भएको भन्दै अर्थ मन्त्रालयमा परेको उजुरी सम्बन्धमा अनुसन्धान गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)ले समिति गठन गरेको छ ।
त्यससम्बन्धमा अनुसन्धान गर्न अर्थ मन्त्रालयले निर्देशन दिएपछि बोर्डले सञ्चालक विनोदकुमार भट्टराईको संयोजकत्वमा समिति गठन गरेको हो । समितिका सदस्यमा सञ्चालकद्वय आनन्दराज शर्मा वाग्ले र पिताम्बर भण्डारी रहेको बोर्डले जानकारी दिएको छ ।
‘रिलायन्स स्पीनिङ मिल्सको सेयर बुक बिल्डिङ प्रक्रियाबाट निस्कासन गर्ने सम्बन्धमा भएका काम कारबाहीका सम्बन्धमा निष्पक्ष छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न समितिले आवश्यकताअनुसार अन्य व्यक्तिलाई समेत आमन्त्रित गर्न सक्ने गरी एक समिति गठन गरिएको छ,’ बोर्डको विज्ञप्तिमा भनिएको छ ।
रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा अनियमितता भएको भन्दै गत साता अर्थ मन्त्रालयमा उजुरी परेको थियो । यही पुस ७ देखि सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न लागेको रिलायन्सबारे उजुरी परेपछि अर्थ मन्त्रालयले बोर्डलाई छानबिन गर्न र अनियमितता देखिए कानुनबमोजिम कारबाही गर्न निर्देशन दिएको थियो
