रिलायन्स स्पिनिङ मिल्सको प्रति सेयर मूल्य किन ८ सय २० रुपैयाँ ? पाँच प्रश्नोत्तरमा बुझ्नुहोस्

कस्तो प्रक्रियाका आधारमा र कसरी आईपीओको मूल्य र सेयरको संख्या तोकिन्छ ?

पुस २, २०८२

यज्ञ बञ्जाडे

काठमाडौँ — तीन दशक लामो इतिहास बोकेको रिलायन्स स्पिनिङ मिल्स उद्योगले प्राथमिक सार्वजनिक (आईपीओ) निष्कासन गरेको छ। तर यो सेयर किन्न लगानीकर्ताले अरू बेलाजस्तो प्रति सेयर सय रुपैयाँ नभई प्रतिसेयर ८ सय २० रुपैयाँ तिर्नुपर्छ। अनि अरू बेलाजस्तो न्यूनतम १० कित्ता नभई न्यूनतम ५० कित्ता सेयर किन्नैपर्ने हुन्छ। न्यूनतम सेयर संख्या र प्रतिसेयर मूल्य दुवै उच्च किन भयो ?

कस्तो प्रक्रियाका आधारमा र कसरी आईपीओको मूल्य र सेयरको संख्या तोकिन्छ ? हामीले पाँच प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौं।

सामान्य आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता सेयर खरिद गर्न पाउँछन्। तर रिलायन्स स्पिनिङको सेयर निष्कासनमा किन ५० कित्ता तोकियो ?

आईपीओ निष्कासन गर्दा खरिदकर्ताले आवेदन गर्न पाउने न्यूनतम संख्या कति हुने भन्नेबारे नियामक निकाय धितोपत्र बोर्डले विभिन्न नीतिमार्फत तोकिदिएको छ। धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०७४ मा निष्कासन गरिने धितोपत्र साधारण सेयर भएमा दरखास्त दिन सकिने न्यूनतम सीमा दशले भाग जाने संख्यामा ५० कित्ताभन्दा बढी नहुने व्यवस्था छ। यसकारण सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ५० कित्तासम्म आईपीओमा लगानी गर्न पाउँछन्।

तर बुक बिल्डिङ निर्देशिका २०७७ मा सर्वसाधारणले धितोपत्र खरिदका लागि आवेदन दिने न्यूनतम संख्या ५० कित्ता हुनुपर्ने व्यवस्था छ। संगठित संस्थाले धितोपत्र बाँडफाँट गर्दा प्रति आवेदक न्यूनतम ५० कित्ता पाउने गरी बाँडफाँट गर्नुपर्ने व्यवस्था निर्देशिकामा छ। यसकारण साधारण र बुक बिल्डिङ विधिमार्फत गरिएको निष्कासनमा सर्वसाधारणले लगानी गर्न पाउने न्यूनतम सीमा फरक–फरक हुने हो।

आईपीओ कुन–कुन विधिबाट निर्धारण हुने गर्दछ ?

धितोपत्रको सार्वजनिक निष्कासन साधारणतया दुई विधिबाट हुने गर्छ—निश्चित मूल्य विधि (फिक्स्ड प्राइस) र बुक बिल्डिङ विधि। निश्चित मूल्य विधिबाट धितोपत्र निष्कासन गर्दा धितोपत्रको अंकित मूल्य वा अंकित मूल्यमा प्रिमियम थप गरी तोकिएको मूल्यमा निष्कासन गरिन्छ भने बुक बिल्डिङ विधिमार्फत धितोपत्र निष्कासन गर्दा बजारले निर्धारण गरेको मूल्यमा हुने गर्दछ।

बुक बिल्डिङ विधि भनेको के हो ? यसको प्रक्रिया कस्तो हुन्छ ?

बुक बिल्डिङ धितोपत्र निष्कासन गर्दा मूल्य निर्धारण गर्ने एक प्रक्रिया हो, जसमा निष्कासनकर्ता कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासनका लागि प्रस्ताव गरिने मूल्य निर्धारण गर्ने प्रयास गर्दछ। बुक बिल्डिङका लागि नियामक निकायले निश्चित मापदण्ड तोकेको हुन्छ, जुन पूरा गर्नैपर्ने हुन्छ।

बुक बिल्डिङ विधिमा कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धकको सहयोगमा प्रारम्भिक विवरणपत्र तयार गरी योग्य संस्थागत लगानीकर्तासँग न्यूनतम खरिद संख्या, आशय मूल्य र मूल्यांकन विधिबारे सुझाव लिन्छ। संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यका आधारमा बिक्री मूल्य सीमा तोकी बोलकबोल प्रक्रियामार्फत सेयर बिक्री गरिन्छ। यस विधिअन्तर्गत निष्कासित सेयरमध्ये ४० प्रतिशत योग्य संस्थागत लगानीकर्तालाई र ६० प्रतिशत सर्वसाधारणलाई बिक्री गर्नुपर्छ।

बुक बिल्डिङमार्फत आईपीओ निष्कासन गर्न कम्पनी लगातार तीन वर्ष नाफामा रहेको, साधारण सभाबाट निर्णय भएको, प्रति सेयर नेटवर्थ चुक्ता पुँजीको कम्तीमा १५० प्रतिशत भएको र औसत वा सोभन्दा माथिल्लो क्रेडिट रेटिङ प्राप्त गरेको हुनुपर्छ। यस प्रक्रियामा बोर्डबाट स्वीकृति प्राप्त सूचिकृत कम्पनी, वित्तीय संस्था, सामूहिक लगानी कोष, मर्चेन्ट बैंकर, अवकाश कोषलगायत योग्य संस्थागत लगानीकर्ताले सहभागिता जनाउन सक्छन्।

बुक बिल्डिङ विधिले राम्रो वित्तीय अवस्था भएका कम्पनीलाई उचित बजार मूल्यमा सेयर जारी गर्न सहयोग पुर्‍याउँदै पुँजी बजारको विकासमा योगदान दिन्छ। प्रिमियममा सेयर निष्कासन गर्दा मूल्य नियामक निकायले तोक्ने भए पनि बुक बिल्डिङमा मूल्य निर्धारण संस्थागत लगानीकर्ताको माग–आपूर्तिको आधारमा बजारले तय गर्ने मुख्य फरक हो।

सबै कम्पनीले किन बुक बिल्डिङ विधिबाटै सेयर निष्कासन गर्न चाहँदैनन् ?

कम्पनीले चाहेर मात्र बुक बिल्डिङ विधिबाट सेयर निष्कासन गर्न पाइँदैन, किनकि यो विधिबाट सेयर निष्कासन गर्नका लागि कम्पनीको प्रति सेयर नेटवर्थ कम्तीमा १ सय ५० हुनुपर्छ। कम्पनीको कुल सम्पत्तिबाट कुल दायित्व घटाएपछि बाँकी रहने रकमलाई प्रति सेयरले भाग गरेपछि आउने रकम नै नेटवर्थ हो। जबकि साधारण एक सय मूल्यमा सेयर निष्कासन गर्नका लागि नेटवर्थ ९० भए पुग्छ। यस्ता धेरै मापदण्ड पूरा गर्न नसक्ने भएकाले कम्पनीले चाहेर पनि बुक बिल्डिङ वा प्रिमियम मूल्यमा सेयर निष्कासन गर्न सक्दैनन्।

नेपालमा हालसम्म कति वटा कम्पनीले मात्र बुक बिल्डिङ विधिबाट सेयर निष्कासन गरेका छन् ?

यसअघि २०८० फागुनमा सर्वोत्तम सिमेन्टले यो विधिमार्फत सेयर निष्कासन गरेको थियो। त्यतिबेला सर्वोत्तमको प्रति सेयर मूल्य ३६० रुपैयाँ ९० पैसा थियो र त्यतिबेला पनि न्यूनतम ५० कित्ता किन्नैपर्ने थियो। त्यसपछि अहिले रिलायन्स स्पिनिङले यही विधिबाट सेयर निष्कासन गरेको हो।

यज्ञ बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully