रिलायन्सको आईपीओ निष्कासन सम्बन्धका छानबिन गर्न अर्थ मन्त्रालयबाट पत्र आएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले बताए ।
काठमाडौँ — रियालन्स स्पिनिङ मिल्सको प्राथमिक सेयर निष्कासन (आईपीओ)मा अनियमितता भएको भन्दै अर्थ मन्त्रालयमा उजुरी परेको छ ।
यही पुस ७ देखि सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न लागेको रिलायन्सबारे उजुरी परेपछि अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई छानबिन गर्न र अनियमितता देखिए कानुनबमोजिम कारबाही गर्न निर्देशन दिएको हो ।
उक्त कम्पनीले बुक बिल्डिङ विधिबाट आईपीओ जारी गरेको र मूल्य निर्धारण प्रक्रियामा अनियमितता भएको गुनासो/उजुरी आएपछि थप अध्ययनका लागि धितोपत्र बोर्डलाई पत्र पठाइएको अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा समन्वय महाशाखा प्रमुख महेश आचार्यले बताए ।
‘पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड नै हो । मूल्य निर्धारण कसरी गर्न दिने भन्ने काम पनि उसकै हो । यसकारण रिलायन्स मूल्य निर्धारणलगायत प्रक्रियामा अनियमितता भएको भनी उजुरी आएपछि सो सम्बन्धमा छानबिन गरी आवश्यक कारबाही गर्न र त्यसको जानकारी मन्त्रालय पठाउन सेबोनलाई पत्र पठाएका छौं,’ उनले भने, ‘सेबोनले छानबिन गर्दा कैफियत देखिए, कारबाही गर्न नदेखिए केही गर्नु परेन ।’
रिलायन्सको आईपीओ निष्कासन सम्बन्धका छानबिन गर्न अर्थ मन्त्रालयबाट पत्र आएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले बताए । उजुरीका आधारमा अर्थ मन्त्रालयबाट यस्ता पत्र आउनु नियमित प्रक्रिया भएको र बोर्डले यसअघि नै सबै प्रक्रिया पुर्याएर आईपीओ निष्काशन अनुमति दिइएको उनले दाबी गरे ।
