सोमबार विज्ञप्तिमार्फत सिबिफिनले सप्तरीमा ऋणीहरूको समूहले कर्मचारीलाई घण्टौंसम्म कब्जामा लिइ कुटपित गरेको भन्दै सिबिफिनले भर्त्सना गरेको हो ।
What you should know
काठमाडौँ — ऋणीसँग छलफलमा गएका ज्योति विकास बैंकका कर्मचारीमाथि भएको कुटपीटको घटनाप्रति अध्यक्षहरूको संगठन बैंक तथा वित्तीय संस्था परिसंघ(सिबिफिन) ले भर्त्सना गरेको छ ।
सोमबार विज्ञप्तिमार्फत सिबिफिनले सप्तरीमा ऋणीहरूको समूहले कर्मचारीलाई घण्टौंसम्म कब्जामा लिइ कुटपित गरेको भन्दै सिबिफिनले भर्त्सना गरेको हो ।
‘सप्तरी जिल्लाको रुपनीस्थित ज्योति विकास बैंक शाखाका कर्मचारीहरु प्रवाहित कर्जाको किस्ता लामो समयदेखि नियमित हुन नसक्दा सो विषयको समुचित समाधानका लागि स्वयं ऋणीकै आग्रहमा छलफलका लागि पुग्दा अर्धन्यायिक निकायको रुपमा रहेका स्थानीय तहका जिम्मेवार अधिकारीको नेतृत्वमा रहेका ऋणीहरुको जत्थाले निज कर्मचारीहरुलाई नियोजित रुपमा घण्टौसम्म कब्जामा लिइ गरिएको अत्यन्तै लज्जास्पद, घृणित एवं पशुवत व्यवहार र हिंस्रक आक्रमणको सिबिफिन घोर भत्र्सना गर्दछ,’ परिसंघको विज्ञप्तिमा भनिएको छ ।
यस्तो आपराधिक घटनालगत्तै स्थानीय सुरक्षा निकायले जाहेरीबिना नै तत्काल अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुको सट्टा उल्टै पीडितको जाहेरीप्रति बेवास्ता गर्दै दर्ता नगरेको र मिलापत्रका लागि दबाब दिएको कार्यप्रति समेत सिबिफिनले कडा आपत्ति जनाएको छ ।
‘निहीत स्वार्थपूर्तिका लागि बैंक तथा वित्तीय संस्था जस्ता अत्यन्तै संवेदनशील एवं अत्यावश्यक क्षेत्रमाथिको ज्यादति र कर्तव्यनिष्ठ कर्मचारीहरुको जीवनमा गम्भीर मनोवैज्ञानिक असर पार्ने गरी घटाइएका यस्ता बर्बर र आततायी घटनामा संलग्न दोषीहरुलाई हदैसम्मको कारबाही गर्नसमेत नेपाल सरकार, गृह मन्त्रालय र मातहतका सुरक्षा निकायसमक्ष जोडदार माग गर्दछौ,’ विज्ञप्तिमा भनिएको छ, ‘अर्थतन्त्रको आधारस्तम्भको रुपमा रही सोहीबमोजिमका कर्तव्य र जिम्मेवारीहरुलाई गहनपूर्वक निर्वाह गरिरहेका बैंक तथा वित्तीय संस्था र सोमा कार्यरत कर्मचारीहरुमाथि गरिएको यस्तो निकृष्ट आक्रमण कर्मचारी र बैंकिङ क्षेत्रमाथिको मात्र नभई स्वयं नेपाल सरकारमाथिकै आक्रमण भएको हामीले ठानेका छौं ।’
