किस्ताबारे संवाद गर्न गएका बैंकका कर्मचारीमाथि प्रालिका सेयरधनी र स्थानीयले जुत्ताको माला लगाई मोसो दल्दै सार्वजनिक रूपमा कुटपिट गरेपछि कानुनी प्रक्रिया अघि बढाइएको छ ।
What you should know
काठमाडौँ — ऋणीसँग संवाद गर्न सप्तरीको सप्तकोशी नगरपालिका–७ ओद्राहास्थित सप्तकोशी इन्ट्रिग्रेटेड एग्रो फार्म प्रालि पुगेका ज्योति विकास बैंकका दुई कर्मचारीमाथि अभद्र व्यवहार र कुटपिट भएको घटना सामाजिक संजालमार्फत सार्वजनिक भएपछि धेरैको ध्यान तान्यो ।
गत बुधबार बैंकका प्रादेशिक कार्यालयका उपप्रबन्धक सुमित श्रेष्ठ र रुपनी शाखाका कर्मचारी सविन श्रेष्ठ ओद्राहा पुगेका थिए ।दुवैमाथि प्रालिका सेयरधनी लगायतले मोसो दलेर गालीगलौज र कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जुत्ताको मालासमेत लगाएर लट्ठीले हिर्काइरहेको भिडियोमा देखिन्छ ।
बैंकका सूचना अधिकारी प्रकाश बरालले किस्ता कसरी नियमित गर्न सकिन्छ भन्ने विषयमा संवाद गर्न पुगेका कर्मचारीमाथि सुनियोजित ढंगले कुटपिट गरिएको बताए । ‘प्रालिका सेयरधनी र उनका आफन्तहरुले कर्मचारीमाथि मोसो दल्नुका साथै गालीगलौज र कुटपिट गरेर कर्मचारीको मनोबल कमजोर पार्ने काम गर्नुभएको छ,’ उनले भने, ‘त्यसविरुद्ध हामी कानुनी प्रक्रियामा छौं ।’
प्रालिले २०७८ वैशाख २३ मा बैंकबाट ४ करोड ५० लाख रुपैयाँ ऋण लिएको थियो । ऋण लिँदा प्रालिको नाममा रहेको सोही ठाउँको ३ बिघा १४ कठ्ठा र कञ्चनरुप नगरपालिका–१२ मा रहेको १६ कठ्ठा ८ धुर जग्गा धितो राखेको थियो । तर, प्रालिले २०८१ चैत २८ पछि किस्ता नतिर्दा बैंकले अघिल्लो शुक्रबार जग्गा लिलामी गर्न सूचना निकालेको थियो ।
सूचनाको म्याद नसकिँदै बैंकले जग्गा बिक्री गर्न टिकटकमा विज्ञापन गरेपछि प्रालिका सेयरधनी आक्रोशित बनेका थिए । सोही बेला गत बुधबार पुगेका बैंकका कर्मचारीमाथि उनीहरुले मोसो दलेर गालीगलौज र कुटपिट गरेका हुन् ।
‘हामी अन्तिम समयसम्म त ऋण चुक्ता गर्न सक्थ्यौं नि तर सूचनाको म्याद नसकिँदै जग्गा बिक्री गर्न विज्ञापन नै गर्न थालेपछि सेयरधनी र संस्थाआबद्ध स्थानीयहरु आक्रोशित भएर त्यो घटना भएको रहेछ,’ प्रालिका सेयरधनी प्रभुनारायण चौधरीले भने, ‘म राजविराजमै थिए, त्यहाँ पुग्दासम्म घटना भइसकेको थियो, कर्मचारीमाथि कुटपिट हुनु गलत हो ।’
घटनापछि बैंकले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा ७ जनामाथि अपहरण, शरीर बन्धक, कुटपिट तथा लुटपाट मुद्दा जाहेरी दिएको छ । सेयरधनीहरु प्रभुनारायण चौधरी, सञ्जीवकुमार चौधरी, उनकी श्रीमति रीताकुमारी, छोरा सिरज र पञ्चदेव, प्रालिका ऋणी तथा सेयरधनी उमाकान्त चौधरी र रवीन्द्र स्वर्णकारविरुद्ध जाहेरी परेको हो ।
‘हामीले घाउजाँचका लागि लेखेर दिइसकेका छौं,’ डीएसपी माधवप्रसाद काफ्ले भने, ‘घाउजाँचको रिपोर्ट प्राप्त भइसकेको छैन ।’ घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी काफ्लेले बताए ।
