जहाजको इन्जिन मर्मत र भाडाको भुक्तानी : इजरायली कम्पनीसँग निगमको विवाद पेचिलो बन्दै

निगमले समयमै आवश्यक निर्णय गर्न नसक्दा एमओयूदेखि मर्मत भुक्तानी, वारेन्टी, अर्को जहाजको इन्जिन मर्मतसमेतमा संकट देखिएको छ । इजरायली कम्पनीले झन्डै १ अर्ब रुपैयाँबराबर आफूले पाउनु पर्ने भुक्तानी ढिलाइ नगर्न चेतावनी दिँदै आएको छ ।

मंसिर २५, २०८२

सुरज कुँवर

What you should know

काठमाडौँ — नेपाल वायुसेवा निगम र इजरायली कम्पनी इजरायल एरोस्पेस इन्डस्ट्रीजबीच इन्जिन मर्मत, भाडा, भुक्तानी तथा कानुनी विषयमा उत्पन्न भएको विवाद झनै गम्भीर मोडतर्फ उन्मुख भएको छ।  लामो समयदेखि जारी तानातानका कारण दुवै पक्षबीचको सहकार्य सम्बन्धमा दरार पर्न थालेको छ।

निगमले समयमै आवश्यक निर्णय गर्न नसक्दा एमओयूदेखि मर्मत भुक्तानी, वारेन्टी, अर्को जहाजको इन्जिन मर्मतसमेतमा संकट देखिएको छ । उता इजरायली कम्पनीले झन्डै १ अर्ब रुपैयाँबराबर आफूले पाउनु पर्ने भुक्तानी ढिलाइ नगर्न चेतावनी दिँदै आएको छ ।

निगमका एक निर्देशकका अनुसार ४ दिनअघि निगमलाई नयाँ समझदारीपत्रको मस्यौदा पठाइएको थियो । तर निगमले हालसम्म उक्त कागजमा कुनै औपचारिक प्रतिक्रिया दिएको छैन। कान्तिपुरसँगको कुराकानीमा एक अर्का निर्देशकले ‘निगमका प्राविधिक नायब महाप्रबन्धक डोलेश्वर कोइरालाको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको’ मात्रै प्रतिक्रिया दिए ।

निगमकै अधिकारीहरूका अनुसार इन्जिन मर्मतसम्बन्धी इजरायली कम्पनीसँगका पुराना फाइलहरूको व्यवस्थापन अत्यन्त अव्यवस्थित अवस्थामा छ। तत्कालीन कार्यकारी अध्यक्ष युवराज अधिकारीले केही कागजात ‘घरमै लगेपछि’ अख्तियारको सम्भावित छानबिनको डरले व्यवस्थापनमा रहेका निर्देशक भुक्तानीसम्बन्धी फाइलमा हस्ताक्षर गर्न झनै जटिलता थपिएको बताउँछन् । इजरायली कम्पनीले भने डिसेम्बर १८(पुस ३) भित्र समझदारी पत्रमा हस्ताक्षर हुनुपर्ने भन्दै त्यसपछिका दिनमा निगमसँग कुनै वार्ता गर्न नसक्ने स्पष्ट संकेत दिएको छ।

यसले इन्जिन मर्मतको मुद्दा झनै गम्भीर बन्दै गएको देखाएको छ। निगमको एउटा इन्जिन ९ महिनाअघि नै मर्मत सम्पन्न भएर इजरायलमै तयार अवस्थामा राखिएको छ । तर भुक्तानी नहुँदा इन्जिन नेपाल फिर्ता ल्याउन नसकिएको हो। 

यसबीच निगमले लुम्बिनी न्यारोबडीका लागि भाडाको इन्जिन प्रयोग गर्दै आएको छ । जसको बक्यौता हाल ३.५ मिलियन अमेरिकी डलर, अर्थात् करिब ५० करोड रुपैयाँ पुगिसकेको छ। निगमले मर्मत भइसकेको इन्जिनको भुक्तानीका लागि ६७ लाख ९३ हजार ६७५ अमेरिकी डलर अर्थात् करिब ९१ करोड रुपैयाँबराबरको लेटर अफ क्रेडिट (एलसी) हिमालयन बैंकमा खोलिसकेको महाप्रबन्धक अमृतमान श्रेष्ठले बताए । जुन अहिले इजरायली कम्पनीद्वारा परीक्षण अवधिमा रहेको छ। 

भुक्तानीमा ढिलाइ भइरहँदा इजरायली कम्पनीले यता नेपालमा भाडामा चलिरहेको लुम्बिनी नामको न्यारोबडीको इन्जिन ग्राउन्डेड गर्ने चेतावनी दिँदै आएको छ। विवाद चुलिँदै गए पनि निगमले पछिल्लो केही दिनमा रोकिएका भुक्तानी प्रक्रिया अघि बढाउन थालेको थियो । 

डेढ वर्षदेखि थन्किएको पहिलो इन्जिन मर्मतबापतको २९ करोड रुपैयाँ एक साता अघि भुक्तानी गरेको थियो । झन्डै ९४ करोड रुपैयाँ लागत पर्ने दोस्रो इन्जिन मर्मतका लागि पहिले नै खोलिएको एलसी नवीकरण गर्ने निर्णय निगमले गर्‍यो तर अहिले रोकिएको इजरायली पक्षले आरोप लगाएको छ । एलसी रकम इजरायल जाने निश्चय भएपछि मर्मत पूरा भइसकेको दोस्रो इन्जिन नेपाल वायुसेवा निगमको जहाजमा इजरायली कम्पनीले सिंगापुर वा दोहामा जडान गर्ने जनाएको छ ।

तर यतिबेला भाडाको इन्जिनसम्बन्धी विवाद पनि गम्भीर बन्दै छ ।  निगमले १२ महिनाको इन्जिन भाडा छुट गर्नुपर्ने माग राखेको छ। इजरायली कम्पनीले भने तुलनात्मक रूपमा लचिलो प्रस्ताव गर्दै ७ महिनासम्मको भाडा नलिने तयारी देखाएको छ। निगमले भाडाको इन्जिन झन्डै २ वर्षदेखि निरन्तर प्रयोग गर्दै आएपछि आर्थिक बोझ झनै बढेकाले १२ महिनाको छुट मागेको हो । 

इजरायल–हमास युद्धका कारण दुवै इन्जिनको मर्मतमा ठूलो ढिलाइ हुँदा नेपाल वायुसेवाले ठूलो व्यापार घाटा बेहोर्नु परेको थियो । २०८० असोजदेखि २०८१ सम्म दुईवटा इन्जिन मर्मतका लागि इजरायल पठाइएका थिए। 

तर युद्धका कारण मर्मत कार्य महिनौं धकेलिँदा निगमको न्यारोबडी विमान इजरायलमै तीन महिनाभन्दा बढी ग्राउन्डेड रहेको थियो । निगमका अधिकारीहरूका अनुसार, यसको दैनिक ९० लाख रुपैयाँबराबरको कारोबार र करिब १० लाख रुपैयाँ नाफा हुने नियमित व्यवसाय पूर्ण रूपमा अवरुद्ध भएको थियो ।  

समस्या झनै चुलिँदै जाँदा २०८१ फागुनमा इजरायली कम्पनीले दोस्रो इन्जिनको मर्मत पूरा भएको भन्दै लिन बोलाएपछि तत्कालीन अध्यक्ष युवराज अधिकारीले ढिलाइका कारण निगमलाई करोडौँ घाटा भएको उल्लेख गर्दै क्षतिपूर्ति मागेका थिए। 

तर इजरायली कम्पनीले क्षतिपूर्ति नदिने अडान लिएपछि विवाद महिनौँसम्म तानिएको थियो। सम्झौतामा आकस्मिक परिस्थिति, विशेष गरी युद्धजस्ता कारणबारे स्पष्ट प्रावधान नहुँदा दुवै पक्षले कानुनी व्याख्या आ-आफ्नै ढंगले गर्ने स्थिति आएको देखिन्छ।

पर्यटन मन्त्रालयमा नेतृत्व परिवर्तन पटक–पटक भए पनि विवाद समाधानमा ठोस प्रगति हुन सकेको छैन। २०७९ माघमा सुदन किराती मन्त्री बनेपछि हालसम्म चारजना मन्त्री फेरिए, तर विवादको गाँठो कसिँदै मात्र गइरहेको छ। 

२०८० भदौमा निगम र इजरायली कम्पनी बीच चारवटा इन्जिन मर्मतसम्बन्धी ओभरहल सम्झौता भएको थियो । तर अहिले एउटा मात्रै न्यारोबडी जहाजको दुई इन्जिनकै विवाद गहिरिँदा इजरायली कम्पनी नेपालका अरु वायुसेवासँग पनि भविष्यमा कुनै सहकार्य नगर्ने मनस्थिति बनाउन थालेको स्रोतहरूले बताएका छन्।

सम्झौतामा रहेका कडा प्रावधानहरूले निगमलाई थप जोखिममा धकेल्ने देखिएको छ। २०८० भदौमा भएको सम्झौता अनुसार मर्मत कार्य २१ दिनभन्दा बढी ढिलाइ भएमा २०० प्रतिशतसम्म अतिरिक्त भाडा तिर्नुपर्ने, इन्जिनको बिमा तथा पुनर्बिमा लन्डन वा अमेरिकी बजारमै गर्नुपर्ने, विवाद उत्पन्न भए लन्डन अदालतमार्फत समाधान गर्नुपर्ने र कानुनी खर्चदेखि अनुवाद तथा यात्रा खर्चसम्म निगमले नै व्यहोर्नुपर्ने व्यवस्था छ। 

सम्झौता पालना सहज रूपमा नभए वारेन्टी दाबीसमेत असम्भव हुने र इजरायली कम्पनीले दायित्व नलिने परिस्थिति सिर्जना हुन सक्ने निगमका इन्जिनियरहरूको भनाइ  छ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully