लुम्बिनी न्यारोबडी जहाज ग्राउन्डेड हुने, इन्जिन प्रयोग नगर्न र तुरुन्त फर्काउन इजरायली कम्पनीको कडा चेतावनी
What you should know
काठमाडौँ — न्यारोबडी विमानमा राखिएको भाडाको इन्जिनको झन्डै ४२ करोड रुपैयाँ बिल भुक्तानी नगरेको भन्दै इजरायली कम्पनी आईएआईले नेपाल वायुसेवा निगमसँग सम्झौता रद्द गरेको छ । यो निर्णयले निगमको लुम्बिनी नामको न्यारोबडी विमान अब उडाउन मिल्ने छैन । जहाज ग्राउन्डेड हुँदा निगमले दैनिक करोडौं रुपैयाँबराबरको कारोबार गुमाउनुपर्ने छ ।
पटक–पटकको ताकेतामा पनि इन्जिनको भाडा नबुझाएपछि इजरायल एरोस्पेस इन्डस्ट्रिज लिमिटेड (आईएआई) ले निगमलाई बुधबार इमेल लेखेर इन्जिन लिज सम्झौता रद्द भएको जनाएको छ । कान्तिपुरलाई प्राप्त गोप्य इमेलमा नेपाल वायुसेवा निगमले इजरायली कम्पनीलाई बुझाउन बाँकी ४१ करोड ७१ लाख रुपैयाँबराबरको हिसाब आउने डलर भुक्तानी नगरेका कारण विमान इन्जिन लिज सम्झौता खारेज गरिएको हो ।
निगमले २०८० माघदेखि लुम्बिनी नामको न्यारोबडी विमानमा भाडाको इन्जिन राखेर उडान भर्दै आएको छ । यसको दैनिक भाडा २४ सय अमेरिकी डलर (३ लाख ३८ हजार रुपैयाँ हाराहारी) पर्छ । जहाज उडेको अवस्थामा प्रति घण्टाको २ सय ४० डलर (३३ हजार रुपैयाँ) र प्रति उडान साइकल २ सय ४० डलर (३३ हजार रुपैयाँ) का दरले भाडामा थप शुल्क जोडिँदै जान्छ । निगमले भाडाको इन्जिन प्रयोग गरेको २२ महिना हाराहारी भइसकेको छ । यो बीचमा पर्यटन मन्त्रालयमा तीन मन्त्री (सुदन किराँती, हितबहादुर तामाङ, बद्री पाण्डे) र तीनवटा सरकार फेरिइसकेका छन् ।
इजरायलले त्यसताका निगमसँग गरेको सम्झौतामा भाडा इन्जिन हरेक दिन १० घण्टा उड्नुपर्ने नभए अतिरिक्त विलम्ब शुल्क लाग्ने शर्त लेखेको छ । यो इन्जिन भाडा तीन महिनाका लागि मात्रै थियो । तर २० महिना बितिसक्दा निगमले न त भाडाको रकम बुझाएको छ, न त ८ महिनाअघि मर्मत भइसकेको आफ्नो इन्जिन इजरायलको वर्कशपबाट फिर्ता ल्याउन सकेको छ ।
निगमको जहाज ८६ दिनदेखि ग्राउन्डेड, इजरायलमा मर्मत हुँदै
‘इजरायल एरोस्पेस इन्डस्ट्रिज लिमिटेडले नेपाल एयरलाइन्स कर्पोरेसनसँगको विमान इन्जिन लिज सम्झौता तत्कालै लागू हुनेगरी समाप्त गर्ने घोषणा गरेको छ,’ इमेलमा लेखिएको छ, ‘कम्पनीले नेपाल एयरलाइन्सले करिब अमेरिकी डलर ३,१३६,५१२ (करिब ४२ करोड रुपैयाँ) बराबरको रकम लामो समयसम्म नतिरेको र पटक–पटक माग गर्दा पनि भुक्तानी गरेन ।’
इजरायलस्थित आईएआईका निर्देशक शिमोन प्रितासले निगमका कन्टिन्युइङ एयरवर्थिनेस म्यानेजर इन्जिनियर महेशकुमार मरितालाई पठाएको इमेलमा स्पष्ट रूपमा लेखिएको छ कि ‘नेपाल एयरलाइन्सले लिज सम्झौताका सर्तहरू गम्भीर रूपमा उल्लङ्घन गरेको’ आरोप लगाएको छ । उनले हाल निगमको जहाजमा जडान भएको भाडाको इन्जिन प्रयोग रोक्न र तुरुन्त फिर्ता गर्न निर्देशन दिएका छन् । ‘नेपाल एयरलाइन्सले इन्जिनको प्रयोग तुरुन्तै बन्द गरी त्यसलाई सुरक्षित अवस्थामा राख्नुपर्छ र सम्झौता अनुसार आईएआईको सुविधास्थलमा फिर्ता पठाउनुपर्छ,’ नेपालको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणसहित निगमका थुप्रै निर्देशकहरूलाई बोधार्थ दिइएको इमेलमा लेखिएको छ ।
निगमले भाडाको इन्जिनको ४२ करोड रुपैयाँबाहेक लुम्बिनी एयरबसका दुईवटा इन्जिनको विस्तृत मर्मतबापत १ अर्ब १२ करोड हाराहारी बुझाउनुपर्ने छ ।निगमले इन्जिन भाडामा लिन २०८० भदौमा हस्ताक्षर गरेको थियो । लिज सम्झौताअनुसार भाडाको इन्जिन नेपाल एयरलाइन्सको स्वामित्वमा नभई आईएआईको सम्पत्ति भएको उल्लेख गरिएको छ । इजरायली कम्पनीले नेपाल एयरलाइन्सले उक्त इन्जिनको प्रयोग गर्न पाएको भए पनि भुक्तानी नहुँदा सम्झौता स्वतः खारेज गरिएको स्पष्ट पारेको छ । त्यसैगरी, निगमलाई हालसम्मका भाडा र ढिलाइ शुल्क बुझाउन ताकेता गरिएको छ । यदि निगमले भाडा लगायतका दायित्व भुक्तानी नगरेमा कानुनी बाटो अवलम्बन गर्दै अदालती प्रक्रियामा जाने र त्यसमा लाग्ने खर्च पनि निगमले बेहोर्नुपर्ने लेखिएको छ ।
यो इजरायली कम्पनीलाई निगमले भाडाको इन्जिनको ४२ करोड रुपैयाँबाहेक लुम्बिनी एयरबसका दुईवटा इन्जिनको विस्तृत मर्मतबापत १ अर्ब १२ करोड हाराहारी बुझाउनुपर्ने छ । यो विवाद नटुंगिँदै कार्यकारी अध्यक्ष युवराज अधिकारी शुक्रबारदेखि कार्यकाल सकेर घर फर्किएका छन् । सम्बद्ध स्रोत अनुसार, अधिकारीले इजरायली कम्पनीको नेपाल प्रतिनिधिलाई गत साता नक्सालस्थित आफ्नो निवासमा बोलाएर छलफल गरेका थिए । अधिकारीले सम्झौताभन्दा बाहिर गएर कुराकानी गरेपछि यो एजेन्ट कम्पनीका प्रतिनिधिहरू उनको घरबाट निस्किएको एक सहभागीले बताएका छन् ।
यसैबीच निगमका निर्देशकहरूले नयाँ मन्त्रीको आगमनपछि हुने नयाँ नेतृत्वले इजरायली कम्पनीसँगको विवाद टुंग्याउने बताउँदै अवकाशप्राप्त कार्यकारी अध्यक्ष युवराज अधिकारीले गरेका त्रुटिपूर्ण र कमजोर सम्झौतामा नबोल्ने प्रतिक्रिया दिएका छन् ।
सम्बन्धित समाचार
वायुसेवा निगममा अधिकारीको चारवर्षे कार्यकाल, उडानभन्दा विवाद धेरै
