दिल्ली–काठमाडौँ–दिल्ली तीन र मुम्बई–काठमाडौँ एकसहित दुईतर्फी आठ वटा उडान गर्दै आएको इन्डिगोको काठमाडौँ कार्यालयले उडान प्रभावित भए पनि भारतमा जस्तो नेपालमा अन्तर्राष्ट्रिय उडानहरू रद्द गर्नैपर्ने अवस्था भने नरहेको जनाएको छ।
What you should know
काठमाडौँ — भारतमा इन्डिगो एयरलाइन्सको उडान सञ्चालन अस्तव्यस्त बनेपछि त्यसको प्रत्यक्ष प्रभाव नेपाल–भारत उडानमा पनि परेको छ।बिहीबार दिउँसो ४ बजे काठमाडौँमा अवतरण हुनुपर्ने सिक्सई-११५५ उडान नम्बर भएको विमान बेलुकी साढे ७ बजे मात्रै अवतरण भएको थियो ।
काठमाडौँ विमानस्थलका अनुसार, दिल्ली र मुम्बईबाट काठमाडौँं आउने बिहीबारका अरू तीन उडान पनि करिब १ घण्टा ढिला उडेका थिए । शुक्रवार पनि उडान ढिलाइ हुने देखिएको छ । बिहान १० बजे अवतरण हुने पहिलो उडान ११ बजेपछि अवतरण हुने तालिका छ ।
दैनिक दिल्ली–काठमाडौँ–दिल्ली तीन र मुम्बई–काठमाडौँ एकसहित दुईतर्फी आठ वटा उडान गर्दै आएको इन्डिगोको काठमाडौँ कार्यालयले उडानमा केही असर पर्ने जनाउँदै भारतमा जस्तो नेपालमा अन्तर्राष्ट्रिय उडानहरू रद्द गर्नैपर्ने अवस्था भने नरहेको जनाएको छ।
नेपाल–भारत रुटमा समयमै उडान गर्ने वायुसेवा भनेर चिनिएको इन्डिगोको सेवा मङ्गलवार यतादेखि अव्यवस्थित बनेको छ। मङ्गलवार इन्डिगोको ‘अन टाइम पर्फरमेन्स ३५ प्रतिशतमा झरेको थियो । भारतीय एयरलाइन्समध्ये सो सबैभन्दा कम भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्।
भारतभित्र कडा क्रू–रोस्टर नियम लागू भएसँगै उत्पन्न तनाव र एयर बसको आपत्कालीन सफ्टवेयर अपडेटपछि सुरु भएको उडान अव्यवस्थाको प्रभाव नेपालमा पनि प्रत्यक्ष रूपमा देखिएको हो।
दरबारमार्गस्थित प्रेसिडेन्ट ट्राभल एन्ड टुर्स प्रालिका अध्यक्ष तथा इन्डिगोको नेपाल (जीएसए) प्रतिनिधि भोला विक्रम थापाका अनुसार, एयरबसद्वारा जारी सफ्टवेयर अपडेटबाट सृजित असरका कारण नेपालतर्फका इन्डिगो उडान ढिलाइ भए पनि भारतमा जस्तो उडान रद्द हुने अवस्था भने छैन ।
‘अब केही दिनमै इन्डिगोका उडानहरू पुनः सामान्य बन्छन्,’ थापाले शुक्रवार बिहान कान्तिपुरसँग भने, ‘भारतीय विमानस्थलमा देखिएको जति ठुलो असर नेपालमा हुँदैन। सफ्टवेयर अपडेटकै कारण ढिलाइ मात्र हो, र उडान रद्द भने हुँदैन।’
इन्डिगो भारतको सबैभन्दा ठुलो र लोकप्रिय एयरलाइन हो। ४ सय भन्दा धेरै विमानसहित यस एयरलाइन्सले दैनिक २२ सय भन्दा बढी उडान भरेर कम्तीमा ४० अन्तर्राष्ट्रियसहित भारतभित्रका समेत गरेर १३० गन्तव्यमा दैनिक उडान गर्छ ।
किफायती भाडा, समयमै उडान र सहज सेवा यसको पहिचान मानिन्छ। यस एयरलाइन्सले भारतीय बजारमा अत्यधिक ग्राहक सन्तुष्टि र उच्च समयपालन दर कायम गर्दै आएको छ। तर बुधवार यता भारतमा भने स्थिति निकै गम्भीर बनेको छ।
हिन्दुस्तान टाइम्समा उल्लेख भएअनुसार, इन्डिगोले बुधवार मात्र कम्तीमा १५० उडान रद्द गर्यो । जसका कारण दिल्ली, मुम्बई, हैदराबाद, बेंगलुरुजस्ता ठुला विमानस्थलहरूमा ठुलो अस्तव्यस्त देखियो। इन्डिगोका यात्रुहरू त्यहाँका ठुला विमानस्थलमा लामो समयदेखि फसेका, कनेक्सन उडान छुटेका तथा कतिपयलाई बसोबासको व्यवस्था पनि नपाएको समाचारमा उल्लेख छ।
इन्डिगोले यात्रुहरूलाई क्षमायाचनासहित शुक्रवारसम्म थप उडान रद्द हुन सक्ने चेतावनी दिएको छ। यो समस्या बढ्नुको मुख्य कारण नोभेम्बर २९–३० मा एअरबस ए३२० परिवारका विमानमा गरिएको आपत्कालीन सफ्टवेयर अपडेटलाई मानिएको छ। अपडेटका कारण क्रू–सिड्युलिङ प्रणाली प्रभावित बनेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यसैबीच जुलाई र नोभेम्बरदेखि लागू क्रू–सिड्युलिङ प्रणालीको कडा नियम, रातको उडान समय विस्तार, साप्ताहिक आराम ४८ घण्टा, राती हुने अवतरणको संख्या दुईमा सीमित गरिनु लगायतका कारणले इन्डिगोमा पाइलट अभाव झनै गम्भीर बनाएको थियो।
भारतीय नागरिक उड्डयन कार्यालयका अनुसार, इन्डिगोले नोभेम्बरमा १,२३२ उडान रद्द गरेको थियो । जसमध्ये ७५५ उडान क्रू–सिड्युलिङ प्रणालीका कारणले थियो । अक्टोबर महिनामा ८४.१ प्रतिशत रहेको कम्पनीको समयमै उडान दर नोभेम्बरमा ६७.७०% मा पुगेको छ।
इन्डिगोले लागत घटाउन लगभग सबै ए३२० परिवारका विमान प्रयोग गर्दै आएको छ। तर यही सिंगल–फ्लिट मोडेल, जसले विगतमा फाइदा दिएको थियो, अहिले उडान प्रभावित बनाउने मुख्य कारण बनेको हिन्दुस्तान टाइम्सले लेखेको छ।
एयरबसको सफ्टवेयर सम्बन्धी आपतकालिन आदेशपछि आधाभन्दा बढी ए३२० विमान एकैसाथ मर्मतमा जाँदा इन्डिगोसँग अर्को प्रकारका विमान प्रयोग गर्ने विकल्प नै भएन । जसका कारण दर्जनौँ उडान स्थगन गर्न यो वायुसेवा विवश भयो । इन्डिगोका प्रतिस्पर्धी वायुसेवा एयर इन्डिया, स्पाईसजेट, भिस्तारा जस्ता एयरलाइन्ससँग एयरबसको ए३२० बाहेक बोईङ ७३७, ७७७, ७८७ जस्ता विविध विमान उपलब्ध भएकाले उडानमा असर परेको छैन ।
उडान अस्तव्यस्त अनि विमानस्थलमा यात्रु र ईन्डिगोका कर्मचारी बीच तनाव बढेपछि भारतीय नागरिक उड्डयन कार्यालय (डीजीसीए) ले इन्डिगोलाई बोलाएर विस्तृत जानकारी र समाधान योजना पेस गर्न निर्देशन दिइसकेको छ।
सम्बन्धित समाचार :
