एयरबस जहाजमा संसारभर समस्या देखिँदा नेपाल एयरलायन्स र हिमालय कसरी जोगिए ?

यी दुई वायुसेवा कम्पनीसँग एयरबस A320 सिरिजका ६ वटा विमान सञ्चालनमा छन् ।

मंसिर १४, २०८२

सुरज कुँवर

How did Nepal Airlines and Himalaya survive when problems with Airbus aircraft were seen around the world?

What you should know

काठमाडौँ — विमान निर्माता कम्पनी एयरबसले आफ्ना A320 सिरिजका केही विमानमा सम्भावित प्राविधिक जोखिम भेटिएको भन्दै विश्वभरका अपरेटरहरूलाई सावधानी सम्बन्धी सूचना पठाएपछि विभिन्न मुलुकमा उडानहरू प्रभावित भए । तर सोही सिरिजका विमान प्रयोग गर्ने नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका उडान भने यस घटनाबाट प्रभावित भएनन्।

यी दुई वायुसेवा कम्पनीसँग एयरबस A320 सिरिजका जम्मा ६ वटा विमान सञ्चालनमा छन्। आइतबार बिहान दुवै कम्पनीका प्रतिनिधिहरूले आफ्ना सबै विमानहरू कुनै अवरोध बिना नियमित रूपमा उडिरहेको जानकारी दिए।

नेपाल नागरिक उड्डयन प्राधिकरणका एक एयरवर्थिनेस इन्स्पेक्टरका अनुसार, एयरबसले विश्वभरका अपरेटरलाई पठाएको सूचना (अलर्ट) नेपालले पनि प्राप्त गरेको थियो। उक्त सूचनामा सौर्य विकिरणले उडान नियन्त्रण प्रणालीमा रहेको महत्वपूर्ण डेटा प्रभावित पार्न सक्छ भन्ने सम्भावना उल्लेख गरिएको थियो। प्राधिकरणले दुवै वायुसेवासँग समन्वय गर्दा कुनै विमान ग्राउन्ड गर्नुपर्ने अवस्था नरहेको तथ्य पुष्टि भएको इन्स्पेक्टरले बताए।

एयरबस A320 सिरिजमा के समस्या देखिएको हो? 

शुक्रबार एअरबसले विज्ञप्ति जारी गर्दै तीव्र सौर्य विकिरणले उडान नियन्त्रण प्रणालीका महत्वपूर्ण डाटामा असर पार्न सक्ने भन्दै विश्वभरका नियामक निकायसँग समन्वय गर्दै सुरक्षात्मक कदम तत्काल लागू गर्न आग्रह गरेको थियो । 

एयरबसले उत्पादन गरेको A320 सिरिजका झन्डै ६ हजार विमान विश्वभर सञ्चालनमा छन्। तीमध्ये थोरै विमानमा उच्च उचाइ (क्रुज लेभल) मा तीव्र सूर्य विकिरणका कारण फ्लाइट कन्ट्रोलसँग सम्बन्धित डेटा अस्थिर हुन सक्ने जोखिम पहिचान गरिएको एयरबसले जनाएको छ। यही विषयमा फ्रान्सको टुलुजस्थित मुख्यालयबाट एअरबसले आपतकालीन सूचना (Alert Operators Transmission,AOT) जारी गरेको थियो।

सो सूचनामा सबै अपरेटरलाई अर्को उडानअघि अनिवार्य रूपमा विमानको Elevator and Aileron Computer (ELAC) मा प्रयोग भइरहेको L104 सफ्टवेयरलाई ‘रोलब्याक’ गरी पुरानो सुरक्षित संस्करणमा फर्काउन निर्देशन दिइएको छ। 

यो अपडेटबारे जानकार नेपाल एयरलाइन्सका एक इन्जिनियरका अनुसार केही महिनाअघि एअरबसले A320 परिवार भित्र पर्ने जहाजका लागि L104 भर्सनसहितको सफ्टवेयर बुलेटिन उपलब्ध गराएको थियो। तर यो अपडेट अनिवार्य नभएकाले नेपाल एयरलाइन्सले आफ्ना जहाजमा L104 भर्सन इन्स्टल गरेको थिएन। यही कारणले संसारभर उडिरहेका यो सिरिजका जहाजमा समस्या हुँदा पनि नेपाल एयरलाइन्सको जहाज उडानमा कुनै समस्या भएन् । 

हिमालय एयरलाइन्सले भने एअरबसले उपलब्ध गराएको L104 सफ्टवेयर चारवटै विमानमा अपडेट गरिसकेको थियो । तर एअरबसको सुचनालगत्तै हिमालय एयरलाइन्सले शुक्रबार र शनिबार नेपाल र चीनमा रहेका आफ्ना सबै विमानमा L104 हटाई पुरानो संस्करणमा फर्काएको प्राधिकरणका स्रोतले बतायो ।

न्यूयोर्क टाइम्सका अनुसार, विश्वव्यापी सतर्कताको कारण बनेको घटना भने एक महिना अघि अमेरिकी एयरलाइन्स जेटब्लूमा देखिएको थियो। मेक्सिकोको क्यानकुनबाट न्यू जर्सीतर्फ जाँदै गरेको जेटब्लूको A320 विमानमा क्रुज उचाइमा पिच-डाउन समस्या देखिएपछि विमानले फ्लोरिडामा आपतकालीन अवतरण गरेको थियो। 

उक्त घटनामा २० यात्रु अस्पताल भर्ना भएका थिए, र विमानलाई सेवा बाहिर राखेर विस्तृत निरीक्षण गरिएको थियो। यस घटनापछि A320 परिवारका विमानको उडान नियन्त्रण प्रणालीमाथि विश्वभरको ध्यान केन्द्रित भएको थियो।

जहाजमा  प्रयोग हुने इल्याक उडान नियन्त्रण गर्ने कम्प्युटर हो । जसले विमानको पिच र रोल नियन्त्रण गर्छ। यही प्रणालीमा राखिएको L104 अपडेटमा समस्या देखिएपछि एअरबस र युरोपियन एभिएसन सेफ्टी एजेन्सी ले संयुक्त रूपमा अनुसन्धान अघि बढाएका छन्। युरोपियन एभिएसन सेफ्टी एजेन्सीले ले २९ नोभेम्बर २०२५ मा आपतकालीन निर्देशन जारी गर्दै सबै A320 अपरेटरलाई  L104 तत्काल हटाउन र इल्याकमा  L103 प्लस वा अन्य सुरक्षित संस्करण प्रयोग गर्न भनेको थियो।

थ्यांक्सगिभिङ पर्वको पूर्वसन्ध्यामा सफ्टवेयरको समस्याले अमेरिकन, डेल्टा, ब्लूजेट लगायतका वायुसेवाले थुप्रै उडान कटौती गर्दा सयौं यात्रुहरुका उडान डिले भएको समाचार एजेन्सीले उल्लेख गरेका छन ।  

नोट: यो समाचार अपडेट गरिएको हो । 

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully