सो अवधिमा श्रमिकहरूले सरकारले निर्धारण गरेको न्यूनतम आधारभूत तलब रू १२,१७० प्राप्त गर्नेछन् ।
What you should know
काठमाडौँ — ‘जेन-जी आन्दोलन’ को प्रभावमा एक वर्षका लागि बन्द हुने बौद्धस्थित तारागाउँ रिजेन्सी होटल्स (हयात रिजेन्सी) ले आफ्ना सबै मजदुर तथा कर्मचारीलाई बन्दको अवधिभर न्यूनतम पारिश्रमिक उपलब्ध गराउने भएको छ।
होटलमा कार्यरत मजदुर तथा कर्मचारीहरू आबद्ध नेपाली कांग्रेस, एमाले र माओवादी (हाल नेकपा) निकट मजदुर संगठनहरूसँग भएको वार्तापछि होटल प्रशासनले एक वर्षसम्म तलब दिने सहमति गरेको हो।
एमालेसम्बद्ध नेपाल स्वतन्त्र होटल तथा रेस्टुरेन्ट मजदुर युनियनका अध्यक्ष डिल्लीप्रसाद बजगाईका अनुसार होटल पूर्ण रूपमा मर्मत भएर पुन: सञ्चालनमा आउन कम्तीमा एक वर्ष लाग्ने अनुमान गरिएको छ। सो अवधिमा श्रमिकहरूले सरकारले निर्धारण गरेको न्यूनतम आधारभूत तलब रू १२,१७० प्राप्त गर्नेछन्।
होटल व्यवस्थापनले श्रमिकहरूको तलबको ११ प्रतिशत र होटलको श्रमिक कोषबाट २० प्रतिशत गरी कुल ३१ प्रतिशत रकम सामाजिक सुरक्षा कोषमा जमा गरिदिने प्रतिबद्धतासमेत जनाएको छ। श्रमिकको तलब भुक्तानीका लागि छुट्टै कोष बनाई २ करोड २० लाख रुपैयाँ राख्ने, जसमा थप २० लाख रुपैयाँ व्यवस्थापनले योगदान गर्ने, सहमति पत्रमा उल्लेख छ।
सहमति पत्रमा होटलतर्फबाट महाप्रबन्धक आशिष कुमार, जनसम्पर्क प्रबन्धक गोपालमणि भण्डारी र कम्पनी सचिव गीता दाहालले हस्ताक्षर गरेका छन् भने श्रमिकतर्फ तीनवटै मजदुर संगठनका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।यो सम्झौता केही दिनअघि भएको र हाल श्रमिकहरुले हस्ताक्षर संकलनको काम गरीरहेको अध्यक्ष बजगाईले बताए ।
होटलले अघिल्लो महिना सबै श्रमिक तथा मजदुरलाई एक महिनाको सूचना निकालेर होटल पुननिर्माणका लागि एक वर्ष समय आवश्यक पर्ने भएकाले होटल परिसरमा प्रवेशमा रोक लगाएको थियो । व्यवस्थापनको उक्त निर्णयपछि मजदुरहरुले असहमति जनाउँदै मागपत्र प्रस्तुत गरेका थिए ।
होटल सञ्चालनमा आएसँगै मजदुर तथा श्रमिकलाई काममा फिर्ता बोलाउने सहमति पनि भएको छ । यसअघि कात्तिकमा होटल बन्द अवधिको पारिश्रमिक नदिने र होटलमा पुन: रोजगार पनि नदिने व्यवस्थापनले भनेपछि सबै मजदुरले व्यवस्थापनसमक्ष माग राखेका थिए ।
