प्रदर्शनका क्रममा होटलमा भएको तोडफोड, लुटपाट तथा आगजनीजन्य क्रियाकलापबाट अतिथि कक्ष, कार्यकक्ष, रिसेप्सन, लबी, रेष्टुरेन्ट, बैंक्वेट, चैत्यसहित होटलको समष्टिगत संरचनामा ठूलो क्षति पुगेको छ ।
काठमाडौँ — पाँचतारे होटल तारागाउँ रिजेन्सी होटल्स (हयात रिजेन्सी काठमाडौँ) ले भदौ २४ को प्रदर्शनका क्रममा होटलमा ठूलो क्षति पुगेको बताउँदै पुनर्निर्माणपछि यथाशीघ्र पुनः सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको छ।
होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठद्वारा जारी विज्ञप्ति अनुसार, गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन र प्रदर्शनका क्रममा होटलमा भएको क्षतिको मूल्यांकन भइरहेको र पुनःनिर्माणपछि पर्यटन क्षेत्रमा नेपालको प्रतिष्ठा अझ उच्च बनाउने दृढ संकल्पसहित सञ्चालनमा आउने उल्लेख गरिएको छ।
प्रदर्शनका क्रममा होटलमा भएको तोडफोड, लुटपाट तथा आगजनीजन्य क्रियाकलापबाट अतिथि कक्ष, कार्यकक्ष, रिसेप्सन, लबी, रेष्टुरेन्ट, बैंक्वेट, चैत्यसहित होटलको समष्टिगत संरचनामा ठूलो क्षति पुगेको छ। क्षतिको पूर्ण मूल्यांकनपछि होटल स्तरोन्नति र पुनर्निर्माण गरी अझ विस्तारित र उत्कृष्ट सेवासहित यथाशीघ्र सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको छ। होटलका अनुसार, पुनर्निर्माण र स्तरोन्नतिका लागि कम्तीमा एक वर्ष लाग्नेछ।
होटलका अनुसार, उच्च सिजनमा एक दिन बन्द हुँदा मात्र २० देखि २५ लाख रुपैयाँसम्म कारोबार गुम्ने गर्दछ। आव २०८०/८१ मा होटलको वार्षिक कारोबार १ अर्ब ५५ करोड ८९ लाख ५२ हजार ३४० रुपैयाँ रहेको थियो।
आक्रमणको दिन करिब ४ हजार आन्दोलनकारी होटल परिसरमा प्रवेश गरेको अनुमान गरिएको छ। त्यसबेला होटलमा १ सय २३ जना अतिथि रुममा बसेका थिए । जसमा केही घाइतेसमेत भएका थिए। आकस्मिक रुपमा आगलागी भएपछि अतिथिहरूले झ्याल तोडेर डोरीको सहायतामा बाहिर निस्कने प्रयास गरेका थिए। नेपाल सेनाको सहयोगमा सबै अतिथिहरूलाई उद्धार गरी याक एण्ड यति होटलमा स्थानान्तरण गरिएको थियो।
२४ गते भारतीय नागरिक रामविर सिंह र उनकी श्रीमती राजेशदेवी गोला होटलमा रहेका थिए। आकस्मिक आक्रमणका क्रममा भाग्ने क्रममा राजेश गोला घाइते भएकी थिइन्। श्रीमतीको नाकमा चोट लागे पनि टाउकोमा गम्भीर चोट नभएको बताइएको छ। उद्धारपछि उनलाई गाडीमा राख्दा होसमा थिइन् तर भोलिपल्ट त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको श्रीमान् रामविर सिंहले होटललाई बताएका छन्। होटलले उक्त घटनामा दुःख व्यक्त गर्दै सिंहलाई आवश्यक सहयोग प्रदान गरेको र भारतीय दूतावाससँग समन्वय गरी मृतकको शव भारत पठाउने व्यवस्था मिलाएको जनाएको छ ।
होटलमा हाल ३ सय जना (रेगुलर र आउटसोर्स) कर्मचारी कार्यरत छन्। होटलका प्रमुख कर्पोरेट क्लाइन्टहरूमा टर्किस एयरलायन्स, क्रिकेट एसोसिएसन अफ नेपाल, क्याथे प्सासिफिक एयरवेज लगायतका दर्जनौं कर्पोरेट संस्था थिए ।
हयातका उच्च अधिकारीहरूका अनुसार, आन्दोलनका कारण केही समयका लागि हायतका लोयल कस्टुमर र ब्रान्ड फ्लोरलाई असुविधा भएको छ । यो होटल पुनर्निर्माणपछि अझ विस्तारित र गुणस्तरीय सेवासहित सञ्चालनमा आउनेछ कम्पनीले जनाएको छ । यसले दीर्घकालीन रूपमा नेपालको पर्यटन क्षेत्र र लगानी वातावरणलाई बलियो बनाउने विश्वास व्यवस्थापनले व्यक्त गरेको छ।
कम्पनीले सरकारले होटल पुनर्निर्माणका क्रममा आवश्यक अनुमति, सहयोग र समन्वय सहज रूपमा उपलब्ध गराउने अपेक्षा राखेको छ। साथै, जेन–जी आन्दोलन र प्रदर्शनको घटनाले देशको अर्थतन्त्र र लगानी वातावरणमा गम्भीर असर पारेको भन्दै, सरकारलाई विदेशी लगानीमैत्री नीति र पुनरुत्थानका ठोस कदम चाल्न आग्रह गरेको छ। प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सरकारले आवश्यक साथ–सहयोग प्रदान गर्ने आश्वासन दिएकोमा होटलले आशा व्यक्त गरेको छ ।
होटलले आगामी दिनमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र स्थापना गर्ने योजना अघि बढाइरहेको छ, जसले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा हजारौं रोजगारी सिर्जना गर्नेसँगै राजस्व वृद्धिमा उल्लेखनीय योगदान पुर्याउने बताएको छ। तर, विदेशी लगानीकर्ताहरूले विगत ८ वर्षदेखि लाभांश नपाएकाले थप लगानीमा कठिनाइ भइरहेको होटलको भनाइ छ।
‘होटल पछिल्ला साढे दुई दशकमा नेपालमा भएका विभिन्न राजनीतिक र सामाजिक परिवर्तनको साक्षी रहँदै आएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस अवधिमा हामीले द्वन्द्व, शान्ति प्रक्रिया, संविधान निर्माण, भूकम्प र कोरोना महामारीजस्ता चुनौतीपूर्ण अवस्थाको सामना गर्दै हजारौंलाई रोजगारी र अर्थतन्त्रमा योगदान दिएका छौं।’
होटलले पर्यटनमार्फत मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै, सात पटक सबैभन्दा बढी आयकर तिर्ने करदाता र दुई पटक सबैभन्दा धेरै विदेशी मुद्रा संकलन गर्ने होटलका रूपमा सरकारले सम्मान गरेको स्मरण गर्दै चाँडै सञ्चालनमा आउने जनाएको छ ।
