तोडिँदै छन् सडक र पुलका २२९ वटा ठेक्का 

सडक डिभिजन र योजना कार्यालयहरूले निर्माण व्यवसायीको नाम, प्रगति नभएका सडक, पुलको ठेक्का किन नतोड्ने भन्दै १५ दिनको समय दिएर सार्वजनिक सूचना प्रकाशित गरिरहेका छन् ।

कार्तिक २५, २०८२

विमल खतिवडा

229 road and bridge contracts are being terminated

What you should know

काठमाडौँ — सडक विभागअन्तर्गत विभिन्न सडक डिभिजन तथा योजना कार्यालयमार्फत गरिएका ठेक्कामा प्रगति नभएपछि तोड्ने प्रक्रिया अघि बढाइएको छ । सडक विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार त्यस्ता सडक, पुलको सख्या २ सय २९ छ । यी सबैलाई रुग्ण ठेक्काअन्तर्गत राखिएको छ ।

धमाधम सडक डिभिजन र योजना कार्यालयहरूले निर्माण व्यवसायीको नाम, प्रगति नभएका सडक, पुलको ठेक्का किन नतोड्ने भन्दै १५ दिनको समय दिएर सार्वजनिक सूचना प्रकाशित गरिरहेका छन् । 

सूचना जारी भएपछि केही निर्माण व्यवसायी सम्पर्कमा आएर काम गर्ने प्रतिबद्धता जनाएका छन् । तर केही सम्पर्कमै नआएको सडक विभागले जनाएको छ । अहिलेसम्म सबैभन्दा धेरै रुग्ण ठेक्का सडक डिभिजन, काठमाडौंअन्तर्गत छन् । कार्यालयका अनुसार ५७ वटा त्यस्ता रुग्ण ठेक्का छन् । १५ दिनको समय दिएर सूचना निकालिएकाले निर्माण व्यवसायीसँग काम नसकिनुको कारण मागिएकाले यसबारे हेरेर ठेक्का तोड्ने प्रक्रिया अघि बढाइने सडक डिभिजन काठमाडौंका प्रमुख सुवोधकुमार देवकोटाले बताए । 

२०६८ सालदेखिका ठेक्का अझै सम्पन्न हुन नसकेको पनि सडक विभागले जनाएको छ । अहिले १५ दिनको समय दिइएकामध्ये ४९ वटा ठेक्काको त्यो अवधि पुगेको र निर्माण व्यवसायीले काम सम्पन्न नगर्नुको कारण पेश गरेकाले त्यसबारे अध्ययन भइरहेको सडक विभागका प्रवक्ता श्यामबहादुर खड्काले बताए । ‘केही ठेक्काको त सूचना निकालेपछि काम पनि भएको छ, थोरै काम सक्न बाँकी भएकाहरूको काम सकिएको छ,’ उनले भने, ‘केही ठेक्कामा तोकिएको समयावधि सकिएकाले व्यवसायीले पेस गरेको लिखित कारण हेर्ने काम भइरहेको छ, चितबुझ्दो जवाफ नभए र काम गर्ने अवस्था नदेखिए त्यस्ता ठेक्का कानुनतः तोडिने छ ।’ 

सडक विभागले उपलब्ध गराएको तथ्यांकअनुसार सडक डिभिजन कार्यालय तुम्लिङटारअन्तर्गत १७, सडक डिभिजन डोटीअन्तर्गत १५ वटा ठेक्कामा प्रगति नभएपछि तोड्नका लागि भन्दै सूचना प्रकाशित गरिएको छ । 

कुन कार्यालयअन्तर्गत कति ठेक्का तोड्ने प्रक्रियामा ? 

सडक डिभिजन, डोटी : १५ 

सडक डिभिजन, चन्द्रनिगाहपुर : ५ 

सडक डिभिजन, नुवाकोट : २ 

इटहरी हुलाकी योजना कार्यालय : ५

सडक डिभिजन, लहान : ६ 

सडक डिभिजन, विराटनगर : ५ 

पुल सेक्टर, नेपालगन्ज : १

सडक डिभिजन, धनकुटा : १ 

सडक डिभिजन, हर्कपुर : ६ 

सडक डिभिजन, जनकपुर : २१

सडक डिभिजन, पाल्पा : ४ 

सडक डिभिजन, दमौली : ४

सडक डिभिजन, पोखरा : १

गोरखा सडक योजना : १

सडक डिभिजन, साँफेबगर : ६

सडक डिभिजन, काठमाडौं : ५७

सडक डिभिजन, इलाम : १२

सडक डिभिजन, तुम्लिङटार : १७

सडक डिभिजन, नेपालगन्ज : ४

सडक डिभिजन, सुर्खेत : ७

सडक डिभिजन, हेटौंडा : ७

सडक डिभिजन, बुटवल : २

मध्यपहाडी राजमार्ग योजना कार्यालय, रामेछाप : १

सडक डिभिजन, भरतपुर : ५

पुल सेक्टर, पोखरा : १

मध्यपहाडी राजमार्ग योजना कार्यालय, गोरखा : १ 

सडक डिभिजन, प्यूठान : ५

सडक डिभिजन, जुम्ला : ५

मदनभण्डारी राजमार्ग योजना कार्यालय, तम्घास : १

हुलाकी योजना कार्यालय, कपिलवस्तु : १

हुलाकी योजना कार्यालय, धनगढी : २

मध्यपहाडी राजमार्ग योजना कार्यालय, पर्वत : १

सडक डिभिजन, चरिकोट : ८

मध्यपहाडी राजमार्ग योजना कार्यालय, गोरखा : १

मध्यपहाडी राजमार्ग योजना कार्यालय, दैलेख : ३

मध्यपहाडी राजमार्ग योजना कार्यालय, पाँचथर : ५

सस्पेन्सन ब्रिज डिभिजन, ललितपुर : ६ 

बबई सिँचाइ आयोजना : ६ 

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, जनकपुर : १२

सम्बन्धित अन्य समाचार

समाचार सिँचाइका १८ ठेक्का तोडिए, सडकका २०८ र झोलुंगे पुलका ६ ठेक्का पनि तोड्ने प्रक्रियामा

सडक, सिँचाइ र पुलका २०९ ठेक्का तोडिँदै

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully