सिँचाइका १८ ठेक्का तोडिए, सडकका २०८ र झोलुंगे पुलका ६ ठेक्का पनि तोड्ने प्रक्रियामा 

‘ठेक्का किन नतोड्ने ?’ भन्दै जारी गरिएको सूचनाअनुसार निर्माण व्यवसायीले काम गर्ने तत्परता नदेखाए अब सम्झौता तोडिनेछ ।

कार्तिक १६, २०८२

विमल खतिवडा

18 irrigation contracts terminated, 208 road contracts and 6 suspension bridge contracts are also in the process of being terminated.

काठमाडौँ — पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको कन्काई पुलको ठेक्का लागेको १४ वर्ष भयो । अहिलेसम्म प्रगति ५६ प्रतिशत मात्रै छ । जबकि यो बीचमा ओली चार पटक प्रधानमन्त्री भएका छन् । ७ सय २५ मिटर लामो पुल बनाउन २९ जेठ २०६८ मा सम्झौता गरिएकामा २९ जेठ २०७२ मा काम सकिसक्नुपर्ने हो । जसको ठेक्का पप्पु–महादेव खिम्ती कम्पनी जेभीले ३४ करोड ९ लाखमा लिएको हो ।

जेन–जी आन्दोलनपछि बनेको सरकारले यो रुग्ण आयोजनाको ठेक्का तोड्न प्रक्रिया अगाडि बढाएको छ । यसका लागि हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत इटहरी योजना कार्यालयले १५ दिनको समय दिएर गत असोज ३१ मा सार्वजनिक सूचना जारी गरेको छ ।

सडक विभागका अनुसार बुधबारसम्म २ सय ८ वटा रुग्ण ठेक्का किन नतोड्ने भन्दै सूचना निकालिएको छ । सूचना निकालेपछि निर्माण व्यवसायीले काम गर्न तदरुकता नदेखाए ठेक्का तोडिने सडक विभागका प्रवक्ता श्यामबहादुर खड्काले बताए । ‘काम नगरे ठेक्का तोड्ने कुरा सम्झौतामै उल्लेख हुन्छ, ठेक्का तोडेपछि बाँकी निर्माण गर्न जति खर्च लाग्छ, त्यही निर्माण व्यवसायीबाट सरकारी बाँकी सरह असुलउपर गरिन्छ,’ उनले भने, ‘कार्यसम्पादन जमानत पनि जफत गरिन्छ ।’ त्यसपछि सार्वजनिक खरिद अनुगमन कार्यालयमा कालोसूचीमा राख्न लेखेर पठाइने उनले बताए ।  

‘ठेक्का किन नतोड्ने ?’ भन्दै जारी गरिएको सूचनाअनुसार निर्माण व्यवसायीले काम गर्ने तत्परता नदेखाए सम्झौता तोडिनेछ । कन्काई पुलको ठेक्का पाएको पप्पु कन्स्ट्रक्सनले अन्य आयोजना पनि अलपत्र पारेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । उसले नयाँ ठेक्का लिन पाउँदैन । यो ठेक्कामा उसले काम गर्न नसकेपछि जेभीको रूपमा रहेको कम्पनी महादेव खिम्तीले गर्दै आएको थियो । महादेव खिम्ती कन्स्ट्रक्सन नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको हो । यसमा ठेक्का लिने र लगाउने दुवै निकायको कमजोरी रहेको अध्यक्ष सिंहको भनाइ छ । 

‘२९ महिना भयो, योजना कार्यालयले ठेक्काको म्याद थप गरेको छैन,’ उनले भने, ‘यो बीचमा योजना कार्यालयले काम पनि गरायो, तर म्याद थप नहुँदा भुक्तानी भएन ।’ ठेक्का किन नतोड्ने भनेर योजना कार्यालयले सूचना निकालेकाले त्यसको जवाफ दिने तयारीमा रहेको उनले बताए । ‘यो आयोजनामा मेरो २० करोड आर्थिक क्षति भइसकेको छ,’ उनले भने, ‘८ वटा स्पान ढलान गरिसकेको छु, ११ वटा स्पान ढलान गर्न बाँकी छ, गडरको काम धेरै गरिसकिएको छ ।’ 

काम गर्दैगर्दा पुल निर्माणमा प्राविधिक त्रुटि देखिएपछि पुल्चोक इन्जिनियरिङ क्याम्पसको प्राविधिक टोलीले अध्ययन गरेको योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर उपेन्द्र दासले बताए । ‘सुरुमा राष्ट्रिय सतर्कता केन्द्रबाट आएको टोलीले पुल्चोक क्याम्पसलाई अध्ययन गर्न भनेको थियो,’ उनले भने, ‘त्यहीअनुसार त्रुटि सच्याए पनि निर्माणमा थप प्रगति छैन ।’ 

यही कार्यालयअन्तर्गत सप्तरीको कठौना–पातो–फत्तेपुर–कटिया सडक स्तरोन्नतिको काम गर्न कान्छाराम–बाम्ती–देव एन्ड सहयर जेभीले २०७५ जेठ ४ मा ठेक्का लिएको थियो । २०७७ मंसिर ३ मा सकिनुपर्ने ठेक्काको प्रगति ४५ प्रतिशत मात्र छ । यसको ठेक्का लिने एउटा निर्माण कम्पनी हो, पूर्वऊर्जा सहायकमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) को कान्छाराम कन्स्ट्रक्सन । तामाङ रामेछापबाट कांग्रेसबाट निर्वाचित सांसद पनि थिए । 

७० करोड ४४ लाखको ठेक्कामा १८ किलोमिटर सडक बन्नुपर्नेमा अहिलेसम्म ३ किमि मात्र कालोपत्र भएको छ । ‘दुई किमिमा कालोपत्र गर्ने तयारी गरिएको भए पनि काम भएको छैन, यो दुई लेन सडक हो,’ हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत इटहरी योजना कार्यालयका सूचना अधिकारी दासले भने, ‘वर्षौंदेखि सडक बनाउन ताकेता गर्दा पनि निर्माण व्यवसायीले काम गरेनन् ।’ 

यही योजना कार्यालयअन्तर्गत खाम्पाचे शेर्पा निर्माण सेवाले झापाको भद्रपुर–राजगढ सडकको २० किमिमा नाली, कल्भर्ट निर्माणको ठेक्का २०७७ चैत ११ मा लिए पनि अहिलेसम्म काम सकेको छैन । ५ करोड ९१ लाखमा लिएको ठेक्काको अहिलेसम्म प्रगति ४५ प्रतिशत मात्र छ । जबकि यसको काम २०७९ असोज १० मा सकिसक्नुपर्ने हो । 

पश्चिम कोशी क्यानलमा स्टिल ट्रस्ट ब्रिज निर्माणका लागि योजना कार्यालयले २०७३ जेठ १६ मा लामा–बाम्ती जेभीसँग ठेक्का सम्झौता गर्‍यो । सम्झौताअनुसार यसको काम २०७५ असार १५ मा सकिसक्नुपर्ने हो । निर्माण प्रगति ४० प्रतिशत मात्र छ । ‘फाउन्डेसन उठाएर छाडिएको छ, प्रगति सोचेअनुरूप छैन,’ सूचना अधिकारी दासले झने, ‘त्रंकिटको काम सकिएकाले स्टिल ट्रस्ट राख्ने काम अझै भएको छैन ।’ यसको ठेक्का रकम १० करोड ९२ लाख रुपैयाँ रहेको छ । 

सप्तरीमै कलियाखोलाको पुल निर्माण २०७४ असार २८ मा सक्ने भन्दै २०७२ असार २९ मा लामा–बाम्ती जेभीसँग २ करोड ९६ लाख रुपैयाँमा सम्झौता भयो । ‘पुलको काम सकिसकेको छ,’ दासले भने, ‘रेलिङ राख्न बाँकी छ, पुल जोड्ने सडक र नदी नियन्त्रण गर्नुपर्नेमा निर्माण व्यवसायीले गरेका छैनन् ।’ अब पनि काम नगरे ठेक्का तोड्नुको विकल्प नरहेको उनले सुनाए । 

भरतपुर डिभिजिन सडक कार्यालय चितवनअन्तर्गत ५ वटा ठेक्का तोड्ने भन्दै सूचना निकालिएको छ । सहरी विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास विभागअन्तर्गत सस्पेन्सन ब्रिज डिभिजनतर्फ पनि कान्छाराम निर्माण कम्पनीले वर्षौंदेखि काम अधुरै छाडेको छ ।

उक्त कम्पनीले संयुक्त रूपमा लिएको झोलुंगे पुल निर्माणको ठेक्का अलपत्र पारेको पाइएको छ । सस्पेन्सन ब्रिज डिभिजनले काममा प्रगति नभएका ठेक्का तोड्ने भन्दै सूचना निकालेको छ । सूचनाअनुसार झापाको कमल खोला दोभान झोलुंगे पुलको ठेक्का २०७८ असार १० मा भएकामा निर्माण प्रगति २५ प्रतिशत मात्र छ । कान्छाराम–युनिकर्न जेभीले २०७९ पुस ६ मा सक्ने गरी ३ करोड ६ लाख रुपैयाँमा ठेक्का लिएको हो । अहिलेसम्म सकिएको छैन । 

पूर्वतयारीका काम नै नगरी ठेक्का लगाउँदा ढिलाइ भएको कान्छाराम कन्स्ट्रक्सनका पूर्णबहादुर तामाङ (कान्छाराम) ले बताए । ‘झोलुंगे पुलको फेब्रिकेसन गर्न मात्र बाँकी हो,’ उनले भने, ‘सप्तरीको कठौना खण्डमा सडकको काम गर्न चैत मसान्तसम्म म्याद छ, त्यो समयभित्र काम सकिन्छ ।’ 

सरकारले ठेक्का तोडे केही फरक नपर्ने उनले बताए । ‘कानुनले तोड्न मिल्ने ठेक्का तोडे हुन्छ, के फरक पर्छ, सबैभन्दा ठूलो कुरा कानुन हो,’ उनले भने, ‘तर ठेक्कामा कसको छैन कमीकमजोरी ? काम गरेको भुक्तानी नदिने कसको कमजोरी हो ? साइट क्लिएर नगर्ने कसको कमजोरी हो ?’ सरकारसँग धरौटी र बैंक ग्यारेन्टी राखेर काम गरेको उनले बताए । ‘अहिले आउनुभएका मन्त्री कुलमान घिसिङले भने जस्तो ठेक्का तोड्न सजिलो छैन,’ उनले भने, ‘१४औं खरिद नियमावलीले पुराना आयोजनाहरूको म्याद थपको सुविधा पनि दिएको छ ।’ भौतिक पूर्वाधार तथा यातायातमन्त्री घिसिङले कसैको अनुहार नहेरी काम नभएका ठेक्का तोडेरै छाड्ने बताएका छन् । 

खोटाङको पिलम्पामा झोलुंगे पुल निर्माणको ठेक्का नीलगिरी निर्माण सेवाले २०७५ साउन २३ मा लिए पनि प्रगति न्यून छ । २०७७ वैशाख १९ मा सकिनुपर्ने झोलुंगे पुलको काम बल्ल ६० प्रतिशत पुगेको छ । त्यस्तै गोरखाको क्योग्मा, बिरिङ बाह्रदशी झोलुंगे पुल झापा, खोटाङ र उदयपुर जोड्ने बुबा खोला झोलुंगे पुल निर्माण पनि अलपत्र छ । थुमी बुधेगरा, गोरखा र धादिङको लिखु धुनीबेंसी जोड्ने गरी झोलुंगे पुल निर्माण गर्न ठेक्का भए पनि काम हुन सकेको छैन । २०७८ असोज १२ मा ठेक्का भएअनुसार यसको काम २०७९ चैत ८ मा सकिसक्नुपर्ने हो । जसको ठेक्का रकम १ करोड ८५ लाख रुपैयाँ रहेको छ । 

ठेक्का किन नतोड्ने भनेर सूचना निकालेपछि धेरै निर्माण व्यवसायी सम्पर्कमा आएर काम सुरु गर्ने कुरा गरिरहेको सस्पेन्सन ब्रिज डिभिजन पुल्चोकका प्रमुख शंकर बुढाथोकीले बताए । ‘सम्पर्कमा आएर काम सुरु गरे तत्काल ठेक्का तोड्दैनौं, निर्माण व्यवसायीले काम गर्ने अन्तिम मौका पाउनेछन्,’ उनले भने ।

अमन कन्स्क्ट्रसन बर्दियाले बबई सिँचाइ आयोजनामा लिएको ६ वटा प्याकेजमा प्रगति नभएपछि तोड्ने प्रक्रिया अघि बढाइएको छ । केही प्याकेजमा प्रगति शून्य र केहीको ५५ प्रतिशत मात्र प्रगति छ । उक्त समग्र प्याकेजको ठेक्का रकम १ करोड ७५ लाख रुपैयाँ रहेको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना जनकपुर, धनुषाअन्तर्गत १२ वटा नदी नियन्त्रणसम्बन्धी ठेक्कामा प्रगति नभएपछि सूचना निकालिएको छ । 

जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मित्र बरालले महोत्तरीमा नदी नियन्त्रणसम्बन्धी १२ वटा ठेक्का सूचना निकालेर तोडिसकेको जानकारी दिए । ‘केहीलाई चैत मसान्तसम्म समय दिइएको छ,’ उनले भने । 

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully