प्रशासनले व्यवसाय सञ्चालनका लागि क्यासिनो नियमावली २०८२ ले तय गरेका सर्त र मापदण्ड पूरा गर्न व्यवसायीलाई सचेत गराएको हो ।
What you should know
भैरहवा — व्यवसायलाई सुरक्षित र व्यवस्थित तुल्याउन जिल्ला प्रशासनले क्यासिनो सञ्चालकलाई कानुनले तय गरेका शर्त र मापदण्ड पालना गर्न चेतावनी दिएको छ । प्रशासनले व्यवसाय सञ्चालनका लागि क्यासिनो नियमावली २०८२ ले तय गरेका सर्त र मापदण्ड पूरा गर्न व्यवसायीलाई सचेत गराएको हो । सर्त र मापदण्ड पालना नहुँदा व्यावसायिक वातावरण खलबलिने प्रशासनको भनाइ छ ।
जिल्ला प्रशासन र राजस्व अनुसन्धान कार्यालयले क्यासिनोमा नेपालीको प्रवेशलाई लिएर चासो देखाएका छन् । क्यासिनो नियमावलीले नेपालीको प्रवेशमा रोक लगाए पनि रुपन्देहीका क्यासिनोमा भारतीय आधार कार्ड बनाएर नेपाली छिराउने गरिएको आशंका जिल्ला प्रशासनले गरेको छ ।
सबैतिर गुनासो बढेपछि प्रशासनले क्यासिनोभित्र प्रवेश गर्नेको विवरण माग गरेको छ । व्यवसायीले यस्तो विवरण बुझाउन आनाकानी गरेको प्रशासनको भनाइ छ । नियमावलीले क्यासिनोले ६ महिनाको सीसीटीभी फुटेज सुरक्षित राख्नुपर्ने व्यवस्था गरेको छ ।
जिल्ला प्रशासनले गत बुधबार सरकारी सरोकारवाला, पर्यटन व्यवसायी र क्यासिनो सञ्चालकको बैठक आयोजना गरेर संवैधानिक अधिकार उपयोग गर्दै व्यवसायमा लगानी गरे पनि नीतिनियम पालना गर्न चेतावनी दिएको थियो ।
बैठकमा क्यासिनोको सुरक्षा व्यवस्थापन र नियमावलीको पालनालाई लिएर प्रश्न उठेको एक सहभागीले जानकारी दिए । बैठकमा प्रशासनले सुरक्षा जाँच, भारतीय आधार कार्ड बनाएर हुने नेपालीको प्रवेश रोक्न र क्यासिनो नियमावलीका शर्त र मापदण्ड पालना गर्न निर्देशन गरेको थियो । ‘नियममा रहेर मात्र व्यवसाय सञ्चालन गर्नूस् भनेका छौं,’ प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले भने, ‘क्यासिनो नियमावलीमा उल्लेख गरिएको नीति, मापदण्ड र सर्त पालना गर्न भनेका छौं ।’
प्रशासन स्रोतका अनुसार नियमावलीको मापदण्ड अनुसार जिल्लामा सञ्चालित कुनै पनि क्यासिनोले मापदण्ड पालना गरेका छैनन् । ‘हामीले अनुगमन त गरेका छैनौं,’ प्रशासनका एक अधिकृतले भने, ‘तर ५० प्रतिशत पनि मापदण्ड पालना गरिएको छैन भन्ने कुरा क्यासिनो सञ्चालकले नै स्वीकारेका हुन् ।’ उनका अनुसार क्यासिनोले नेपाली नागरिक प्रवेश गराउने, क्यासिनो खेल्न जानेहरूको विवरण नराख्ने गरेको पाइएको छ ।
क्यासिनोमा ग्राहक प्रवेश गर्दा गेटमा डिटेक्टर मेसिनले जाँच गर्नुपर्ने हुन्छ, तर जिल्लाका एक/दुई वटा क्यासिनोबाहेकले यस्तो मापदण्ड पालना नगरेको उनले बताए । ‘लाभकर लगायतका कर छलीका लागि क्यासिनो खेल्न जानेको विवरण समेत इन्ट्री नगरेर क्यासिनोले बदमासी गरिरहेका छन्,’ उनले भने । प्रशासनले नियम अनुसार क्यासिनोमा अनुगमन गर्ने जनाएको छ ।
