क्यासिनो सञ्चालन मापदण्डमा प्रशासनले कडाइ गर्न थालेको छ भने यही घटनाका कारण भारतीय पर्यटकको संख्यामा कमी आएको व्यवसायीले बताएका छन् ।
What you should know
भैरहवा — होटल निर्वाणा लक्जरी इन्टरनेसनलको क्यासिनोमा आएका र स्विमिङ पुलमा बसेर खानपिन गरिरहेका ग्राहकबीच एकाएक विवाद सुरु हुन्छ । त्यसपछि ग्राहकको दुवै समूह बाहिरिन थाल्छन् ।
प्रहरीलाई प्राप्त सीसीटीभी फुटेजमा भारतीय ग्राहक होटलबाट पहिले निस्कन्छन् र गेटबाहिर ढुकेर बस्छन् । त्यहीबेला मोटरसाइकलमा नेपाली ग्राहक बाहिरिन्छन् । मोटरसाइकलका व्यक्ति सरासर गन्तव्यतर्फ लाग्छन् । भारतीयले केही भनेर मोटरसाइकल रोक्छन् । लगत्तै मोटरसाइकल नजिक आएर मुक्का हानेर नेपाली ग्राहकलाई ढलाउँछन् । मोटरसाइकलसहित पल्टिएका उनी उठ्छन् र दुवै भारतीयलाई हेलमेटले हिर्काउँछन्, लडाउँछन् ।
केहीबेर धकेलाधकेल गरेपछि भारतीयले सर्टभित्रबाट पेस्तोल निकालेर नेपाली ग्राहकलाई प्रहार गर्छन् । गोली छल्दै नेपाली ग्राहक होटलभित्र पुग्छन् । उनलाई तोकेको गोली सुरक्षागार्ड बस्ने गार्डरुमको भित्तामा लाग्छ । भित्ताबाट उछिट्टिएको गोलीको छर्रा खुट्टामा लागेर सुरक्षागार्ड मीनबहादुर परियार सामान्य घाइते हुन्छन् ।
यो दृश्य गत सोमबार मध्यरातको हो ।
भारतीय सीमाबाट नजिकै रहेको होटलमा भएको झगडा त सेलायो । तर, उक्त घटनामा संलग्न व्यक्ति र प्रयोग गरिएको हतियार आइतबार मध्याह्नसम्म फेला परेका छैनन् । उक्त घटनापछि भैरहवामा सञ्चालनमा रहेका क्यासिनोको सुरक्षा व्यवस्थापन र क्यासिनो नियमावलीको पालनालाई लिएर जिल्ला प्रशासनले प्रश्न उठाएको छ ।
गत बुधबार प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, राजस्व अनुसन्धान, व्यावसायिक संस्थाका प्रतिनिधि र क्यासिनो सञ्चालकबीच बैठक भएको थियो । उक्त बैठकमा प्रशासनले क्यासिनो सञ्चालकलाई सुरक्षा जाँच, भारतीय आधारकार्ड बनाएर हुने नेपालीको प्रवेश रोक्न र क्यासिनो नियमावलीका सर्त र मापदण्ड पालना गर्न निर्देशन गरेको थियो । ‘नियममा रहेर मात्र संविधानले दिएको स्वतन्त्रताबमोजिम व्यवसाय सञ्चालन गर्नुस् भन्यौं,’ प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले भने, ‘क्यासिनो नियमावलीमा नीति, मापदण्ड र सर्त पालना गर्न भनेका छौं ।’
बैठकपछि राजस्व अनुसन्धान कार्यालय बुटवलले पनि गत बुधबार क्यासिनोलाई पत्राचार गरेर विभिन्न ९ बुँदामा विवरण र जानकारी माग गरेको छ । राजस्व चुहावट कसुर/नियन्त्रणको विषयमा आवश्यक जानकारी लिनुपर्ने भएकाले २०८१/०८२ देखि चालु वर्षको विवरण तीन दिनभित्र पेस गर्न भनेको छ । राजस्व अनुसन्धानले क्यासिनोले कुन प्रकारको इजाजत प्राप्त गरेको हो र अहिले भइरहेको खेलको विवरण, क्यासिनो नियमावली २०८२ को नियम १४ को उपनियम २ बमोजिमको विवरण मागेको छ । यस्तै, उक्त नियमावलीको नियम १८ बमोजिमको विवरण, नगद र वित्तीय कारोबारको विवरण, आकस्मिक लाभकर दाखिलाको विवरण, आधार कार्ड प्रयोग गरी प्रवेश गर्ने नेपालीको विवरण, प्रतिबन्धित भारतीय नोटको कारोबार भएको छ/छैन, सीसीटीभी क्यामेराको अभिलेख कम्तीमा ६ महिनासम्म राख्नुपर्ने नियम पालना छ/छैन र गत आर्थिक वर्षको कर चुक्ता तथा चालु आर्थिक वर्षको इजाजतपत्र नवीकरणको विवरण पेस गर्न भनेको छ ।
क्यासिनो व्यवसायीले राजस्वअनुसन्धान कार्यालयले क्षेत्राधिकारबाहिर गएर विवरण माग गरेको दाबी गरेका छन् । ‘राजस्व अनुसन्धानले मागेका विवरण हामीले आन्तरिक राजस्व कार्यालयमा बुझाउने गरेका छौं,’ एक व्यवसायीले भने, ‘राजस्व अनुसन्धानले प्रतिबन्धित नोटबारे मात्र चासो राख्न पाउँछ ।’ आन्तरिक राजस्व कार्यालयमा बुझाउनुपर्ने विवरण मागेर कार्यालयले लगानीकर्ता तर्साउन खोजेको ती व्यवसायीको भनाइ छ । होटलमा भएको गोली काण्डपछि अहिलेसम्म त्यसमा संलग्न व्यक्ति र हतियार फेला नपर्नुले भैरहवाको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको व्यवसायीले बताए । यस्तो बेला सुरक्षा व्यवस्था मिलाएर व्यवसाय सञ्चालन गर्ने वातावरण तयार गरिनुपर्नेमा प्रशासन र राजस्व अनुसन्धानले अनुगमन र कारबाही गर्नेगरी पत्राचार गरेर ‘आतंक’ सिर्जना तुल्याएको व्यवसायीको आरोप छ ।
राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख सुवास श्रेष्ठले क्यासिनोले लाभकर बुझाए/नबुझाएको बुझ्न र राजस्व चुहावटको खतरा टार्न कार्यालयले विवरण माग गरेको बताए । ‘राजस्व चुहावटको शंका लागेमा हामी विवरण माग्न सक्छौं,’ उनले भने, ‘आइतबारसम्म दुईवटा क्यासिनोले विवरण बुझाइसके । अरूले पनि बुझाउँछौं भनेका छन् ।’
भैरहवाका पर्यटन व्यवसायीले गोलीकाण्डपछि प्रहरीले बढाएको सुरक्षा जाँच, चेतावनी र अनुगमनको त्रासले व्यवसाय ओरालो लागेको दाबी गरेका छन् । घटनापछि प्रहरीले सुरक्षा जाँचका नाममा भारतीय पर्यटकका गोजीसम्म छाम्न थालेको व्यवसायीले आरोप छ । अधिकांश भारतीय पर्यटकले भैरहवा र आसपासका होटल, क्यासिनो र रेस्टुरेन्ट धानिएका छन् । एक साताअघि भएको गोली प्रहारको घटनापछि तारेहोटल र क्यासिनोका ग्राहक घटेको व्यवसायीको भनाइ छ ।
सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ (सीपी) ले भवितव्यका रुपमा भएको गोली प्रहारको घटना दोहोरिन नदिन व्यवसायी सचेत हुनुपर्ने र यस्ता घटना न्यूनीकरणका लागि प्रशासन सतर्क हुनुपर्ने बताए । ‘व्यवसायीले पनि ग्राहक प्रवेश गराउँदा उनीहरुलाई जाँच गरेर परिचय खुल्ने रेकर्ड राख्नुपर्यो, क्यासिनो प्रवेश गरेका व्यक्तिको अनुहार प्रस्ट खुल्नेगरी सीसीटीभी क्यामरा जडान गर्नुपर्यो,’ उनले भने, ‘प्रशासनलेपनि धेरै कडाइ गर्दा ग्राहक नआउने कुरालाई ख्याल राखेर सावधानी अपनाइदिनुपर्यो ।’ कतिपय क्यासिनोमा नेपालीलाई प्रवेश गराउने कुराले व्यवसायी आलोचित बन्ने वातावरण रोकिनुपर्ने उनले बताए ।
जिल्ला प्रहरीले गोली प्रहारको घटनालगत्तै प्रहरी परिचालन गरे पनि संलग्न व्यक्ति र हतियार अहिलेसम्म फेला नपरेको जनाएको छ । जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले घटनाको प्राविधिक विश्लेषण र म्यानुअल रुपमा सूचना संकलन गरेर अनुसन्धान भइरहेको बताए । प्रहरीले भारतीय समकक्षीसित समन्वय गरेर भारतका शंकास्पद स्थलसम्म पुगेर सोधखोज गरेको जनाएको छ । भैरहवाका खाली स्थानमा रहेका झाडीमा समेत प्रहरीले हतियार खोजी गरेका छन् । ‘अहिलेसम्म हतियार फेला पर्न सकेन,’ उनले भने, ‘अनुसन्धानका लागि आवश्यक सबै सामग्री जुटाइसकेका छौं ।’ घटनापछि भैरहवा क्षेत्रको सुरक्षामा कडाइ गरिएको जनाउँदै उनले अनुसन्धानका क्रममा कसैलाई समस्यामा पार्ने उद्देश्य नभएको बताए ।
