जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुरज कार्कीले राति दुई समूहबीच झगडा हुँदा गोली चलेको जानकारी दिए ।
भैरहवा — रुपन्देहीको भैरहवास्थित होटल निर्वाणा लक्जरी इन्टरनेसनल परिसरमा सोमबार राति गोली चलेको छ । मध्यरात होटल परिसरमा गोली चल्दा एक जना घाइते भएको जिल्ला प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुरज कार्कीले राति दुई समूहबीच झगडा हुँदा गोली चलेको जानकारी दिए । घटनालगत्तै प्रहरी पुगे पनि गोलीको खोका फेला नपरेको कार्कीले जनाए ।
प्रहरीका अनुसार गोली लागेर होटलका सुरक्षा गार्ड २७ वर्षीय मीनबहादुर परियार घाइते भएका छन् । उनको तिघ्रामा गोली लागेको प्रहरीले जनाएको छ । परियार बुटवल उपमहानगरपालिका–१५ का बासिन्दा हुन् । ‘घटनाको अनुसन्धान सुरु गरेका छौं,’कार्कीले भने, ‘थप केही खुलेको छैन ।’
प्रहरीका अनुसार घाइते परियारलाई राति उपचारका लागि भैरहवास्थित भीम अस्पतालमा पुर्याइएको थियो । उपचारपछि परियार डिस्चार्ज भइसकेको डीएसपी कार्कीले जानकारी दिए ।
प्रहरीका अनुसार होटल अगाडि केही व्यक्तिबीच वादविवाद चलिरहेको थियो । त्यही क्रममा एक समूह होटलमा प्रवेश गर्न थालेपछि सुरक्षा गार्डले रोक्ने प्रयास गरेका थिए । प्रहरीले सीमा क्षेत्रमा कडाइ गरेर गोली प्रहार गर्ने व्यक्तिको खोजी सुरु गरेको जानकारी दिएको छ ।
