गहना व्यवसायी भन्छन्– ‘तोलाको साढे दुई लाख रुपैयाँभन्दा बढी हुँदा ८० किलो बिक्री हुनु राम्रो हो ।’
What you should know
काठमाडौँ — सुनचाँदीको मुख्य कारोबार हुने धनतेरसमा एकै दिन करिब ८० किलो सुन र १५ सय किलो चाँदी बिक्री भएको छ ।
सुनचाँदी बिक्रीको यो परिमाण मुलुकभरकै रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले बताए । ‘धनतेरसकै दिन सुनको मूल्यले कीर्तिमान बनाएको थियो । कीर्तिमानी मूल्य रहेकै बेला एकै दिन ७० देखि ८० किलो बिक्री हुनु धेरै राम्रो हो,’ उनले भने, ‘गत वर्षको तुलनामा सुन बिक्री केही कम भए पनि मूल्यका हिसाबले धेरै राम्रो हो ।’
पछिल्लो समय सुनचाँदीको मूल्य अस्वाभाविक रूपमा वृद्धि भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा भइरहेका विभिन्न उत्तारचढावले नेपाली बजार प्रत्यक्ष प्रभावमा परेको छ । धनतेरसकै दिन (कात्तिक १) मा महासंघले सुनको मूल्य तोलाकै २ लाख ५८ हजार रुपैयाँ तोकेको थियो । गहना खरिद गर्दा सर्वसाधारणले अझ बढी मूल्य तिर्नुपर्छ । किनभने व्यवसायीले ज्याला–जर्तीलगायत गरी करिब औसतमा १२ देखि १५ प्रतिशत थप शुल्क लिन्छन् ।
‘सुरक्षित लगानीकै लागि सर्वसाधारणले गहनामा लगानी गरेको देखिन्छ, धनतेरसमा भएको सुन बिक्रीले पनि यसलाई पुष्टि गर्छ,’ रसाइलीले भने । धनतेरसका दिन १ हजार ५ सय किलो चाँदी बिक्री भएको उनले जनाए । महासंघले प्रतितोला चाँदीको मूल्य ३ हजार ३ सय ३५ रुपैयाँ तोकेको छ । तर सर्वसाधारणले चाँदीका गहना खरिद गर्दा थप शुल्क तिर्नुपर्छ ।
लक्ष्मीपूजा गर्न पैसाभन्दा सुनचाँदी प्रयोग गर्ने चलन बढ्दो रहेको गहना व्यवसायीको भनाइ छ । सर्वसाधारणले आफ्नो क्षमताअनुसार सुनचाँदीका गहना, मूर्ति, सिक्कालगायत खरिद गर्छन् । मूल्य अझै बढ्ने आकलनले सर्वसाधारणले गहनाभन्दा सिक्का, ढिक्का, बेरुवा औंठीलगायतमा चासो दिएका छन् । ‘गहना व्यवसायीका लागि धनतेरस एउटा पर्व नै हो । अन्य बेला व्यापार नभए पनि धनतेरसमा धेरै हुने अनुमान हुन्छ, व्यापार पनि हुन्छ,’ महासंघका वरिष्ठ उपाध्यक्ष दियशरत्न शाक्यले भने, ‘गत वर्षको तुलनामा व्यापार कम भए पनि मूल्य बढेका हिसाबमा पनि सर्वसाधारणको चासो सुनमा देखियो । बिक्री ढिकै भएको छ ।’
गत वर्षको तुलनामा चाँदी बिक्री भने बढेको उनले बताए । शाक्यका अनुसार सुनका ढिक्का बिक्री गर्न नमिले पनि चाँदीको मिल्छ । मूल्य अझै बढ्ने आकलनले सर्वसाधारणले चाँदी किन्न मन गरेका छन् । धनतेरसको दिनमा खरिद गरिएको सामानले लक्ष्मी भित्रिने मान्यता छ, जसले गर्दा धनतेरस नजिकिएलगत्तै सर्वसाधारणले गहना अर्डर गर्न थालेको व्यवसायी बताउँछन् ।
सुनको मूल्य बढे पनि तिहार (धनतेरस) कै कारण सुनको माग बढेको हो । बैंकले दिनहुँ किन्न पाउने परिमाण २० किलोबाट ५ किलो बढाएर २५ किलो बनाइएको छ । राष्ट्र बैंकले दिनहुँ २५ किलो सुनको कोटा निर्धारण गरे पनि बजारमा माग ४० देखि ४५ किलो पुगेको व्यवसायीको भनाइ छ । पुरानो सुन फिर्ता र विदेशबाट आएको सुनले जसोतसो माग धानेको उनीहरूले जनाए ।
सम्बन्धित समाचार
सुनको मूल्य घट्ला कि पुग्ला तीन लाख ?
सुनको मूल्यमा उतारचढावले सिजनमै कारोबार न्यून
सुन तोलाको साढे दुई लाख नाघ्यो, धनतेरसमा कस्तो प्रभाव पर्छ ?
