वैशाख ९ मा सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ९ सय पुगेको थियो, मंगलबार १३ हजार १ सयले घटेर १ लाख ८४ हजार ८ सय कायम
काठमाडौँ — सिजनमै सुनको गहनाको व्यापार घटेको छ । मूल्यमा ठूलो उतारचढावले गहनाको बिक्री घटेको व्यवसायीले बताएका हुन् । गहना व्यवसायीका लागि वैशाख, जेठ, असार, मंसिर, माघ र फागुन उत्सवको महिना हो । यी महिनामा धेरै विवाह हुने भएकाले गहनाको व्यापार अत्यधिक हुन्छ ।
दैनिक ४५ किलोभन्दा बढी सुनका गहना बिक्री हुने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक छ । तर, यी महिनामै सुनका गहनाको व्यापार घटेको व्यवसायीले बताएका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यका अनुसार यी महिनामध्ये सबैभन्दा धेरै फागुनमा सुन बिक्री हुन्छ । त्यसपछि वैशाख र माघ महिना हो । ‘फागुनमा दैनिक ५० किलोभन्दा बढी नै सुन बिक्री हुन्थ्यो । त्यसपछि वैशाख र माघमा दैनिक ४५ किलो बढी सुनका गहना बिक्री हुन्थ्यो,’ शाक्यले भने, ‘तर यसपालि बजारको अवस्था फरक रह्यो । वैशाखमा धेरै लगन भए पनि सुनका गहना बिक्री भएन ।’
विगतमा लगनका बेला गहना पसलमा सर्वसाधारणको भीड हुन्थ्यो । तर यसपालि गहना पसल सुनसान जस्तै रहे । केही गहना पसलमा सामान्य भीड देखिए पनि पुरानो गहना बिक्री गर्न आएको व्यवसायीको भनाइ छ । बिहेका लागि नभई नहुनेले पुरानो गहनामा थोरै थपेर गहना बनाएको शाक्यले जनाए । यसको एउटै कारण सुनको मूल्यमा ठूलो उतारचढाव रहेको व्यवसायी बताउँछन् ।
अन्तर्राष्ट्रिय बजारमा भइरहेको उथलपुथलले पछिल्लो समय सुन बजार धेरै प्रभावित बनेको छ । आर्थिक र राजनीतिक उथलपुथलले पछिल्लो समय सुनको मूल्यले नयाँ–नयाँ कीर्तिमान बनाइरहेको छ । सुरक्षित लगानीका रूपमा मानिने सुनमा लगानी बढ्दा अन्तर्राष्ट्रिय बजारसँगै स्थानीय बजारमा पनि रेकर्ड ब्रेक भएको थियो ।
फागुनमा दैनिक ५० किलोभन्दा बढी सुन बिक्री हुन्थ्यो, त्यसपछि वैशाख र माघमा दैनिक ४५ किलो बढी सुनका गहना बिक्री हुन्थ्यो, यसपालि बजारको अवस्था फरक रह्यो, वैशाखमा धेरै लगन भए पनि सुनका गहना बिक्री भएन : तेजरत्न शाक्य पूर्वअध्यक्ष नेपाल सुनचाँदी व्यवसायी महासंघ
महासंघका अनुसार वैशाख ९ मा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य ३ हजार ५ सय ९ अमेरिकी डलरसम्म पुगेको थियो । महासंघले मूल्य निर्धारण गर्दा भने प्रतिऔंस ३ हजार ४ सय ८६ डलर थियो । त्यो दिन नेपाली बजारमा प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको थियो । त्यसपछि मूल्यमा तलमाथि हुँदै वैशाख ३० मा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ३२ सय ३७.४० डलर कायम भयो । नेपाली बजारमा प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा झरेको छ ।
‘पछिल्लो साता सुनको मूल्य निरन्तर घटेको छ । अन्तर्राष्ट्रिय बजारमा माहोल सुध्रिए पनि अन्योल कायम नै छ,’ महासंघका वरिष्ठ उपाध्यक्ष दियशरत्न शाक्यले भने, ‘अन्तर्राष्ट्रिय बजारमा सुन बिक्रीको प्रेसर पनि छ, त्यही कारणले मूल्य घटेको देखिन्छ । तर स्थानीय बजारमा लगनमा पनि बिक्री भएन ।’ उनका अनुसार साना तथा मझौला लगानीकर्ताले नाफाका लागि सुन बिक्रीमा राखेका छन् । त्यही कारणले मूल्य घटेको हो ।
अमेरिका र चीनबीचको व्यापारिक तनाव कम हुनु, रसिया र युक्रेनबीचको युद्ध मत्थर हुनु र पाकिस्तान र भारतबीचको युद्ध रोकिनुले लगानीको वातावरणमा सुधार आएको वरिष्ठ उपाध्यक्ष शाक्यको भनाइ छ ।
‘सुरक्षित लगानीका लागि सुनमा लगानी गर्ने हो, पछिल्लो समय अन्तर्राष्ट्रियस्तरमा सुधार छ । त्यही कारणले सुनबाट पैसा झिकेर डलर र सेयरमा पनि लगानी भएको देखिन्छ,’ उनले भने, ‘मूल्य अझै घट्ने प्रक्षेपण पनि भइराखेको छ । यी सबै अन्योलले सिजनमा पनि सुन बिक्री भएन ।’
महासंघका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशका लागि भन्सार महसुल बढाएपछि अन्तर्राष्ट्रियस्तरमा वातावरण बिग्रेको थियो । जसका कारण लगानीकर्ताले सुनमा मौज्दात बढाएका थिए । त्यही कारण पनि सुनको मूल्य अकासिएको थियो ।
‘गत साउनमा सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँ थियो । वैशाख ९ मा मूल्य बढेर १ लाख ९७ हजार ९ सय रुपैयाँ पुग्यो । अहिले फेरि घटेर १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ,’ महासंघका पूर्वअध्यक्ष शाक्यले भने, ‘मूल्य अस्थिर छ । बजार कता जान्छ भन्न सक्ने अवस्था नै रहेन ।’ अमेरिकी डलर पनि तलमाथि भइराखेकाले बजारमा थप अस्थिरता छाएको उनको बुझाइ छ ।
महासंघका अनुसार ५ दिनयता सुनको मूल्य ७ हजार ४ सय रुपैयाँले घटेको छ । वैशाख २५ मा प्रतितोला सुनको भाउ १ लाख ९२ हजार २ सय रुपैयाँ थियो । वैशाख ३० मा महासंघले प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ निर्धारण गरेको छ । तर उक्त मूल्यमा सर्वसाधारणले गहना पाउँदैनन् । गहनामा व्यवसायीले ज्याला र जर्तीका नाममा थप १२ देखि १८ प्रतिशत जोड्छन् ।
