सुनको मूल्य घट्ला कि पुग्ला तीन लाख ?

विश्व बजारमा सुनको मूल्य बढ्नुका तीन कारण— अमेरिकाले भन्सार दर बढाएपछिको व्यापार युद्धले सिर्जना गरेको अनिश्चितता, डलरको तुलनामा भारतीय मुद्रा कमजोर र अमेरिकी केन्द्रीय बैंकलाई परेको ब्याजदर घटाउने दबाब हुन् ।

कार्तिक ३, २०८२

राजु चौधरी

Will the price of gold decrease or reach three lakhs?

What you should know

काठमाडौँ — अन्तर्राष्ट्रिय बजारमा भइरहेको व्यापार युद्ध, आर्थिक अन्योल, राजनीतिक उतारचढावलगायत कारण केही महिनायता सुन बजार अस्थिर देखिएको छ ।

अस्थिरताकै कारण सुरक्षित लगानी खोज्दै लगानीकर्ता सुनतर्फ आकर्षित हुँदा एक महिनामा प्रतिऔंस सुनको मूल्य ६ सय ७८ अमेरिकी डलर बढेको छ । नेपाली बजारमा प्रतितोला ४२ हजार रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले असोज १ मा मूल्य निर्धारण गर्दा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार ६ सय ८२ अमेरिकी डलर थियो । यहाँ प्रतितोला २ लाख १६ हजार १ सय रुपैयाँ निर्धारण गरियो । त्यसपछि निरन्तर मूल्य बढ्दै असोज ३१ मा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ४ हजार ३ सय ६० अमेरिकी डलरमा पुगेको थियो । महासंघले यहाँ प्रतितोला २ लाख ५८ हजार रुपैयाँ निर्धारण गरेको थियो । यो मूल्य अहिलेसम्मकै उच्च हो ।

‘एक महिनामा प्रतितोला ४२ हजार रुपैयाँ बढ्नु आफैंमा कीर्तिमान हो । लगानीकर्ता सुरक्षित लगानीका लागि सुनमा आकर्षित भएर लगानी बढाउनु यसको कारण हो । सुनको माग बढ्यो, मूल्य अस्वाभाविक रूपमा बढ्यो,’ गहनाविज्ञ तेजरत्न शाक्यले भने । कात्तिक १ मा महासंघले नयाँ मूल्य निर्धारण गरेन । गहना बजारमा शुक्रबारकै मूल्य (प्रतितोला २ लाख ५८ हजार रुपैयाँ) मा खरिदबिक्री भयो । आइतबार बजार खुल्दा भने प्रतितोला सुनको मूल्य ४ हजार ८ सय रुपैयाँ घटाएर २ लाख ५३ हजार २ सय रुपैयाँ कायम गरिएको छ । कारण हो, अन्तर्राष्ट्रिय बजारमा आएको गिरावट र डलरको सटहीदर ।

महासंघले आइतबार मूल्य निर्धारण गर्दा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य ४ हजार २ सय ८२ अमेरिकी डलर थियो । गत शुक्रबारको तुलनामा प्रतिऔंस ७८ डलर घटेपछि स्थानीय बजारमा पनि मूल्य घटेको हो । डलरको सटहीदर पनि घटेको छ । ‘आइतबार १ अमेरिकी डलर बराबर १ सय ४२ रुपैयाँ ३५ पैसा थियो । शुक्रबार एक डलर बराबर १ सय ४१ रुपैयाँ १० पैसा छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्नुको कारण गाजा र इजरायलको युद्धविराम नै हो,’ गहनाविज्ञ शाक्यले भने, ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रुसबीच पनि युद्धविराम गराउने चर्चासँगै बजारमा करेक्सन आएको देखिन्छ ।’

अहिले महासंघले अन्तर्राष्ट्रिय बजारलाई ७५ र भारतीय बजारलाई २५ प्रतिशत आधार मानेर मूल्य निर्धारण गर्दै आएको छ । अन्तर्राष्ट्रिय बजार मूल्य, डलरको विनिमय दर, भन्सार दर र १ प्रतिशत मुनाफा (बैंकलाई ५० प्रतिशत र व्यवसायीलाई ५० प्रतिशत) गरी बजार मूल्य निर्धारण गरिन्छ ।

अन्तर्राष्ट्रिय अर्थशास्त्रीहरूले २०२६ डिसेम्बरसम्म प्रतिऔंस सुनको मूल्य ५ हजार अमेरिकी डलरसम्म पुग्ने बताएका छन् । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ५ हजार डलर पुगे नेपाली बजारमा प्रतितोला तीन लाख रुपैयाँसम्म पुग्न सक्छ । तर युद्धविराम, आर्थिक अवस्था सुधार र लगानीको वातावरण बने मूल्य घट्न पनि सक्ने जानकार बताउँछन् ।

‘आइतबार मूल्य घट्नुको प्रमुख कारण नै युद्धविराम हो । अन्तर्राष्ट्रिय बजार सुनको सेलिङ प्रेसर हो । जसले गर्दा अन्तर्राष्ट्रिय बजारमा केही मूल्य घटेको छ,’ गहनाविज्ञ शाक्यले भने, ‘करेक्सन करिब १० प्रतिशतसम्म हुने प्रक्षेपण पनि गरिएको छ । १० प्रतिशत मूल्य घट्दा नेपाली बजारमा प्रतितोला २० देखि २५ हजारसम्म घट्न सक्छ ।’

हमास र इजरायलसँगै रुस र युक्रेनबीच पनि युद्धविराम भए सुनको मूल्य थप घट्न सक्ने बताइएको छ । ‘मूल्य दिनदिनै फरक परेको छ । बजारमा अन्योल छ । युद्धविराम र लगानीको वातावरण बने मूल्य घटेर दुई लाख रुपैयाँसम्म आउन सक्ने पनि प्रक्षेपण गरिएको छ,’ शाक्यले भने । सुनको मूल्य अस्वाभाविक बढेपछि विदेशको सिको गर्दै नेपालीहरूले पनि सुनमा लगानी बढाएका छन् । सर्वसाधारणले सके ढिक्का सुन नभए बेरुवा औंठी, सिक्कालगायत खरिद गरेका छन् । अन्य क्षेत्रमा लगानीको वातावरण सहज नहुँदा सर्वसाधारणले सुनमा लगानी गर्न खोजेको गहना व्यवसायी बताउँछन् ।

भारतीय सञ्चारमाध्यमले सुनको मूल्य तीन लाख रुपैयाँसम्म पुग्ने बताएकाले सुनको माग बढेको महासंघका वरिष्ठ उपाध्यक्ष दियशरत्न शाक्यले जनाए । ‘मूल्य दिनहुँ बढे पनि सुरक्षित लगानीका लागि सुन रोजेका छन्, त्यही भएर मूल्य बढे पनि खरिद घटेको छैन,’ शाक्यले भने ।

सुनको माग बढेपछि राष्ट्र बैंकले पनि सुनको आयात कोटा बढाइदिएको छ । दिनको २० किलो आयात गर्न पाउनेमा अहिले २५ किलो निर्धारण गरिएको छ । ‘अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरताले स्थानीय बजारमा अन्योल ल्याएको छ । मूल्य अनुमान गर्न सक्ने अवस्था छैन,’ महासंघका अध्यक्ष अर्जुन रसाइलीले भने ।

विश्व बजारमा किन बढिरहेको छ सुनको मूल्य ?

अन्य वस्तु तथा सेवाको जस्तै सुनको मूल्य पनि माग र आपूर्तिका आधारमा निर्धारण हुन्छ । खासगरी अन्तर्राष्ट्रिय वस्तु बजारमा हुने माग र आपूर्तिले सुनको मूल्य निर्धारण गर्छ । पछिल्ला केही महिनायता विश्व बजारमा लगातार सुनको माग बढिरहेकाले त्यसको मूल्य पनि अकासिएको हो । सुनको मूल्य पनि विश्व बजारको अवस्था, अमेरिकी डलरको दर, ब्याजदर, मुद्रास्फीति, माग–आपूर्ति र राजनीतिक स्थिरतालगायत कारणमा निर्भर हुन्छ । अमेरिकी डलर कमजोर हुँदा र अस्थिरता बढ्दा सुन महँगो हुन्छ । तर डलर बलियो हुँदा र ब्याजदर बढ्दा सुन सस्तो हुन्छ ।

अमेरिकालगायत ठूला राष्ट्रमा ब्याजदर घट्दा वा विश्व बजारमा राजनीतिकलगायत कारणले अस्थिरता बढ्दा लगानीकर्ता सुरक्षित विकल्पका रूपमा सुन रोज्छन् । यस्तो अवस्थामा सुनको मूल्य बढ्छ ।

तर अमेरिकी डलर बलियो हुँदा वा बैंकहरूले उच्च ब्याजदर प्रस्ताव गर्दा लगानीकर्ताले सुन बेच्छन् । यस्तो अवस्थामा सुनको मूल्य घट्छ । नेपालको सन्दर्भमा दसैं–तिहार, विवाहको महिनामा सुनको माग बढ्छ । जब कि अन्य (सामान्य) समयमा माग घटेकाले मूल्य घट्छ ।

व्यवसायीका अनुसार सुनको भाउ बढ्नुमा विभिन्न कारण छन् । विश्व अर्थतन्त्र अस्थिर हुँदा सुरक्षित लगानीका लागि लगानीकर्ता सुनतर्फ आकर्षित छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न मुलुकलाई भन्सार बढाउँदा पनि असर पर्‍यो । अर्को कारण अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ बैंक) को नीति पनि हो ।

‘फेडले ब्याजदर घटाउँदै ४ देखि ४.२५ बनाएको छ, अझै घटाउनुपर्ने उसमा दबाब छ । अमेरिकाबाहेक क्यानडा, बेलायत, युरोपियन युनियन, अस्ट्रेलिया, मेक्सिको, रुसलगायतका केन्द्रीय बैंकले पनि ब्याजदर घटाएका छन्,’ वरिष्ठ उपाध्यक्ष शाक्यले भने, ‘घट्दो ब्याजदरको कारण उच्च प्रतिफलका लागि लगानीकर्ताले सुनमा लगानी गरे ।’ यीबाहेक अर्को कारण भूराजनीतिक पनि हो । विभिन्न राष्ट्रबीच जारी युद्धले लगानीकर्ताले सुरक्षित लगानी गर्न सकेका छैनन् । उनीहरूले कुनै पनि मुलुकको मुद्राको विश्वास गर्न सकेका छैनन् । यही कारण पनि सुनमा लगानी बढ्दो छ । माग चुलिँदो छ, जसले मूल्य बढाउन सहयोग गरेको छ ।

सुनको मूल्य लगातार उकालो लाग्नुमा तीन तत्त्व जिम्मेवार रहेको नेपाल राष्ट्र बैंकका पूर्वकामु गभर्नर कृष्णबहादुर मानन्धर बताउँछन् । पहिलो, अमेरिकी डलरको भारित औसत मूल्यमा करिब १४ प्रतिशतले कमी (अवमूल्यन) हुनु, दोस्रो अमेरिकाको भन्सार दरका कारण विश्व अर्थतन्त्रमा अनिश्चितता बढ्नु र तेस्रो अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा (भारु) कमजोर हुनु । नेपालमा पनि सुनको मूल्य बढ्नुमा आन्तरिक अर्थतन्त्रमा देखिएको शिथिलता र राजनीतिक अस्थिरताको कुनै हात नरहेको मानन्धरले बताए ।

‘नेपाल र भारतको विनिमयदरसँगको तुलनामा अमेरिकी डलरको मूल्य बढेको (अधिमूल्यन भएको) छ । तर सबै मुद्रासँग तुलना गर्दा अमेरिकी डलरको भारित औसत मूल्य करिब १८ प्रतिशतले घटेको छ,’ उनले भने, ‘यसकारण औसतमा अमेरिकी डलरको भाउ घटेकाले सुनमा लगानीकर्ताको आकर्षण बढेको हो ।’

विश्व बजारमा अमेरिकी अर्थतन्त्रको प्रभुत्व कायम रहेकाले खासगरी अमेरिकी सरकारले विभिन्न राष्ट्रहरूमा भन्सार दर बढाएपछि अनिश्चितता बढेकाले धेरै राष्ट्रहरूको अर्थतन्त्रले राम्रो कार्यसम्पादन गर्न सकेका छैनन् । यस्तो अवस्थामा लगानीकर्ताहरूको आकर्षण सुनमा देखिएकाले सुनको मूल्य आकासिएको नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक गुणाकर भट्टले जनाए ।

‘व्यापार युद्धका कारण विश्व बजारमा सिर्जना भएको अनिश्चितताका कारण लगानीकर्ताले सुरक्षित लगानीको बाटो खोज्दै सुनमा लगानी बढाएको देखिन्छ,’ उनले भने, ‘अमेरिकाले भारतमा भन्सार दर धेरै बढाएपछि भारतीय अर्थतन्त्र कमजोर भइहाल्छ कि भन्ने अनुमानका आधारमा डलरको तुलनामा भारतीय मुद्रा कमजोर भएको र त्यसको असर नेपालमा पनि परेको हो ।’ यद्यपि अनुमान गरिएजस्तो भारतीय अर्थतन्त्र कमजोर नभएको अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) को पछिल्लो प्रतिवेदनले देखाएको छ । प्रतिवेदनले भारतीय अर्थतन्त्रको विस्तार साढे ६ प्रतिशत हुने र यो नै विश्वकै तीव्र आर्थिक वृद्धि भएको जनाएको छ ।

‘पछिल्ला महिनामा अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भलाई ब्याजदर घटाउनुपर्ने दबाब छ । त्यहाँको मुद्रास्फीतिले भने ब्याजदर घटाउनुपर्ने अवस्था छैन । तर दबाबबीच ब्याजदर घटिहाल्छ कि भन्ने अनुमानका आधारमा लगानीकर्ता सुनमा आकर्षित देखिएका हुन सक्छन्,’ उनले थपे ।

आइतबार सुनको मूल्य घट्नुको कारण हमास र इजरायलबीचको युद्धविराम रहेको गहनाविज्ञ शाक्यको भनाइ छ । ‘अहिले बजार अझै अस्थिर छ । घट्छ कि बढ्छ, यसै अनुमान गर्न सक्ने अवस्था छैन । सबै अवस्था सामान्य बने घटेर प्रतितोला २ लाख रुपैयाँ पनि पुग्न सक्छ, अवस्था असहज बने २०२६ डिसेम्बरसम्म ३ लाख पुग्न पनि सक्छ ।’ 

राजु चौधरी कान्तिपुरमा उद्योग, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता, कृषि तथा आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully