खाइपाई आएको सेवा सुविधा अर्थ मन्त्रालयले कटौती गरेको भन्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) का कर्मचारी आन्दोलन उत्रिएका थिए ।
What you should know
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारीले सुरु गरेको आन्दोलन २१औं दिनसम्म पनि जारी छ । आफूहरूले खाईपाई आएको सेवा सुविधा अर्थ मन्त्रालयले कटौती गरेको भन्दै उनीहरुले आन्दोलन सुरु गरेका हुन् ।
आज पनि कर्मचारीहरुले कार्यालय बिहान १ घण्टा धर्ना दिएर दिनभर काम ठप्प गर्दै छन् । अर्थ मन्त्रालयले आफूहरुको माग सुनुवाई नगरेको भन्दै उनीहरुले आन्दोलनलाई जारी राखेका हुन् ।
बोर्डले काम कारवाही ठप्प पारेको विरोधमा आइतबार सेयर लगानीकर्ताहरुले पनि धितोपत्र बोर्डमा गएर तालाबन्दी गरेका थिए । बोर्ड उच्च व्यवस्थापनले प्रहरीलाई बोलाएपछि ताला खोलिएको थियो भने प्रहरीले अध्यक्ष सन्तोषनारायण श्रेष्ठलगायत केही सञ्चालकहरुलाई बाहिर निकालेको थियो । आज पनि बोर्ड परिसरमा ठूलो संख्यामा प्रहरी उपस्थित छन् ।
भदौ ३१ गतेको अर्थ मन्त्रालयको सचिवस्तरीय निर्णयले धितोपत्र बोर्ड कर्मचारी कल्याण कोष कार्याविधि २०७१ र कर्मचारी सुरक्षण कोष (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०७५ तत्काल खारेज गर्ने निर्णय गरेको थियो । उल्लेखित कार्यविधि नेपाल धितोपत्र बोर्ड कर्मचारी सेवा, सर्तसम्बन्धी नियमावली २०६८ को नियम १६७ विपरीत जारी भएको भन्दै खारेज गरिएको मन्त्रालयले जनाएको छ ।
यस्तै, प्रचलित कानुनविपरीत बनेका कार्यविधिका आधारमा विगतमा कोषबाट भुक्तानी भएको रकम सम्बन्धित व्यक्तिबाट सरकारी बाँकी सरह असुलउपर गर्ने प्रकिया तत्काल सुरु गर्ने निर्णय पनि अर्थ मन्त्रालयले गरेको छ । आगामी दिनमा आर्थिक दायित्व गर्ने विषयमा निर्णय गर्नुपूर्व अनिवार्य रूपमा अर्थ मन्त्रालयको सहमति लिनुपर्ने व्यवस्था कार्यान्वयन गर्नु भन्ने पनि अर्थ मन्त्रालयको निर्देशन छ ।
बोर्डमा काम रोकिएकोबारे अर्थ मन्त्रालय पनि जानकार छ । तर आफ्नो निर्णय यथावत रहेको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
