यो निर्णयले नेपाली निर्यातकर्ताको मनोबलमा नकारात्मक असर पार्ने र सरकारप्रति उद्योगी व्यवसायीको विश्वास घटाउने खतरा बढेको संघको भनाइ छ ।
What you should know
पर्सा — नेपाल सरकारले गत आर्थिक वर्षको निर्यात अनुदान आवेदन प्रक्रिया अघि नबढाउने निर्णय गरेपछि वीरगन्ज उद्योग वाणिज्य संघले गम्भीर आपत्ति जनाएको छ । संघले शुक्रबार विज्ञप्तिमार्फत आपत्ति जनाएको हो ।
संघका अध्यक्ष हरिप्रसाद गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा यो निर्णयले नेपाली निर्यातकर्ताको मनोबलमा नकारात्मक असर पार्ने र सरकारप्रति उद्योगी व्यवसायीहरूको विश्वास घटाउने खतरा बढेको उल्लेख छ ।
उद्योग विभागले असोज २३ गते सूचना प्रकाशित गरी आव २०८१/०८२ मा निर्यात गरिसकेका निर्यातकर्ताहरूको अनुदान आवेदन यस वर्ष प्रक्रिया नगर्ने निर्णय गरेको थियो । ‘भूपरिवेष्ठित देश नेपालका निर्यातकर्ताहरूले आर्थिक मन्दी र राजनीतिक संक्रमणबीच पनि राष्ट्रका लागि वैदेशिक मुद्रा आर्जनमा योगदान दिइरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ,‘यस्तो अवस्थामा सरकारकै नीतिले उनीहरूको उत्साहमा चोट पुर्याएको छ ।’
विज्ञप्तिमा सरकारले विगतका वर्षहरूमा निर्यात प्रोत्साहनका लागि अनुदान दिने व्यवस्था अवलम्बन गर्दा त्यसले सकारात्मक नतिजा ल्याएको स्मरण गराइएको छ । तर हालको स्थगनले देशको निर्यात प्रवद्र्धन नीति नै कमजोर पार्ने संघको निष्कर्ष छ ।
संघले आर्थिक वर्ष २०८१/०८२ का निर्यातकर्ताहरूका लागि स्वघोषणासहित अनुसूची–३ अनुसारको निवेदन बुझाउने म्याद थप गर्न माग समेत गरेको छ । साथै तत्काल नगद अनुदान वितरण सम्भव नभए पनि सो रकम बराबरको बण्ड जारी गरी निर्यातकर्ताको संरक्षण गर्न पनि सरकारलाई आग्रह गरेको छ ।
संघले वर्तमान वित्तीय संकट, संक्रमणकालीन अवस्था र असामान्य आर्थिक परिस्थितिलाई सरकारले गम्भीरतापूर्वक बुझ्नुपर्ने भन्दै निर्यात प्रवद्र्धन र औद्योगिक विकासका लागि ठोस कदम चाल्न सुझाव समेत दिएको छ ।
