विभागले थप निवेदन लिन अस्वीकार गरेसँगै उद्योगी व्यवसायीले गत वर्षमा निर्यात गरेबापतको नगद अनुदान पनि नपाउने भएका छन् ।
काठमाडौँ — सरकारले निर्यातमा दिँदै आएको नगद अनुदान खारेज गरेको छ । बिहीबार उद्योग विभागले एक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०८२/८३ मा थप दायित्व सिर्जना हुने गरी निवेदन नलिने जानकारी दिएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशन भन्दै विभागले आर्थिक वर्ष २०८१/८२ को स्वघोषणाको विवरण उद्योग विभागमा नगर्न पनि सबै सरोबारवालाहरुलाई आग्रह गरेको छ । यसरी विभागले थप निवेदन लिन अस्वीकार गरेसँगै उद्योगी व्यवसायीले गत वर्षमा निर्यात गरेबापतको नगद अनुदान पनि नपाउने भएका छन् ।
यसअघि निर्यातकर्ताले आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र स्व–घोषणा गरी विभागसमक्ष निवेदन दिने व्यवस्था रहेको थियो । यो व्यवस्थाअनुसार गत आव २०८१/८२ को अनुदान लिन निर्यातकर्ताले असोजभित्र निवेदन दिनुपर्ने थियो ।
निर्यातबापत नगद अनुदानका लागि सरकारले यस वर्ष पर्याप्त बजेट विनियोजन नगरेकाले अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालयलाई खारेज गर्न निर्देशन दिएको थियो ।
