स्थानीय तहमा पर्दै छ, टुक्रे योजना कटौतीको प्रभाव

'नगरसभाले पारित गरेका नागरिकले पाउने सुविधाका योजना किन कटौती भयो ?' वडाध्यक्षहरुले प्रश्न गरेका छन् ।

आश्विन ११, २०८२

आनन्द गौतम

The impact of piecemeal planning cuts is falling at the local level

ताप्लेजुङ — फुङलिङ नगरपालिका-८ ले आफ्नो वडामा मृत्यु भएका परिवारका सदस्यलाई १० हजार रुपैयाँ प्रदान गर्दै आएको छ । घरदेखि घाटसम्म पुर्‍याउन शव बोक्ने वाहनको भाडासम्म भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले वडाले यस्तो कार्यक्रम सञ्चालन गरेको हो । भाडा अभावमा घण्टौंसम्म शव बोकेर खोलामा पुग्नुपर्ने पीडामा मल्हम लगाउन अघिल्लो आर्थिक वर्षदेखि यस्तो कार्यक्रम सञ्चालनमा छ । 

वडाका सुत्केरी महिलाले १० हजार रुपैयाँ बराबरको सहयोग पाउँछन् । जसमा एउटा कुखुराको भाले, अण्डा, पोसिलो खानेकुरा, घिउ लगायतका वस्तु हुन्छन् । सुत्केरी भएको सातादिन नबित्दै वडाध्यक्ष क्षितिज सुनुवार, महिला तथा दलित महिला सदस्य सहितका जनपतिनिधि यस्ता सामग्री बोकेर सुत्केरीको घरमै पुग्छन् । त्यही सन्दर्भमा घरायसी अवस्था अवलोकन गर्छन् र महिला तथा दलित महिला सदस्यमार्फत सुत्केरी महिलाको अवस्था बुझ्छन् । थप सहयोग गर्नुपर्ने अवस्था भए नगरपालिका उपप्रमुखसँग समेत परामर्श गरेर सुत्केरी महिलालाई सहज वातावरण बनाउँछन् । यो कार्यक्रम सञ्चालन भएको दुई आर्थिक वर्ष भइसकेको छ । 

वडाले गर्ने कार्यक्रम तय गरेपछि नगरसभामा पेस गर्छन् । नगरसभाले पारित गरेपछि कार्यान्वयन सुरु हुन्छ । यस आर्थिक वर्षका लागि पनि यो कार्यक्रम रहेको छ । तर यस आर्थिक वर्षमा भने यस वडाका सुत्केरी महिला र मृतक परिवारले यस्तो सहयोग पाएका छैनन् । वडाध्यक्ष क्षितिज सुनुवार आफैं पनि शोकमा परे । आफूसँगै रहेका बाजे कर्ण सुनुवारको साउन १८ गते निधन भयो । पारिवारिक शोकमा परेका उनी बाजेको १३औं दिनको किरिया तथा ४५ औं दिनको कार्यमा व्यस्त भए । घरायसी समस्या सुल्झाएपछि वडाका सुत्केरी र मृत्यृ भएका परिवारको तथ्यांक संकलनमा वडा कार्यालय जुट्यो । साउनयता दर्जनको हाराहारी सुत्केरी र आधा दर्जन मृत परिवार छन् । 

उनीहरुका लागि करिब दुई लाख रुपैयाँ आवश्यक पर्छ । यो सहयोगका लागि उनीहरुले फुङलिङ नगरपालिकाको आर्थिक तथा प्रशासनिक शाखामा पेस्की रकम मागे । तर प्रशासन शाखाले संघीय सरकारबाट टुक्रे योजना कटौतीको निर्देशन आएकाले दिन नमिल्ने निर्णय सुनायो । 'नगरसभाले पारित गरेका नागरिकले पाउने सुविधाका योजना किन कटौती भयो ?' वडाध्यक्ष सुनुवार प्रश्न गर्छन् ? उनीजस्ता वडाध्यक्षहरु बिलखन्दमा परेका छन् । यति मात्रै नभएर वडाले दुई लाख रुपैयाँ वडाको सडक मर्मतका लागि छुट्याएको छ । बर्खाले बिगारेको सडक मर्मत दसैं अगाडि भए नागरिकले घरसम्मै पुग्ने सुविधा पाउँछन् । तर नगरपालिकाले यसका लागि पनि बजेट निकासा दिन मानेन । 

‘नगरपालिकाले हामी जनप्रतिनिधिको भत्ता खातामा हालिसक्यो । सामाजिक सुरक्षा भत्ता खातामा हालिसक्यो । शिक्षक कर्मचारीको तलब हालिसक्यो । नागरिकले पाउने यस्ता योजनाको रकमचाहिँ किन नपाउने, अर्थमन्त्री यस्ता विषय प्रस्ट पार्नुपर्ने भएको छ,’ सुनुवारले भने । आफूले ऋण खोजेर भए पनि दिनुपर्ने अवस्था रहेको उनको टिप्पणी छ । भने, ‘अहिले यस्तो परेका परिवारले फोन गरेर सोधिरहेका छन्, दसैं अगाडि नै ऋण खोजेर पनि उपलब्ध गराउनुपर्ने अवस्था भएको छ । सडक मर्मत गर्नुपर्ने आवश्यकता छ ।’

विपन्न परिवारको बसोबास भएको क्षेत्रमा सुत्केरी महिला र मृतक परिवारले किरिया खर्चबापत दिइने रकमको आशा राख्ने र कहिले पाइन्छ भनेर फोन गर्ने गरेको क्षितिज सुनाउँछन् ।अर्थ मन्त्रालयले तल्लो निकायलाई यस्ता विषयमा प्रस्ट्याउनुपर्ने उनीजस्ता वडाध्यक्षमने माग छ । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully