सुनको मूल्य अकासिँदा कारोबारमा गिरावट, विस्थापित हुने चिन्तामा व्यवसायी

विगतमा विवाह वा तीजजस्ता पर्वमा सुन बजारमा हुने उच्च भिडभाड यस वर्ष देखिएन ।

भाद्र २२, २०८२

रञ्जना बिसी

As the price of gold falls, businessmen are worried about being displaced

What you should know

कैलाली — गत शुक्रबार प्रतितोला २ लाख १० हजारमा कारोबार भएको सुनको मूल्य आज २ हजारले बढेर २ लाख १२ हजार पुग्यो । नेपालमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुग्दा कारोबारमा भने गिरावट आएको छ । पछिल्लो समय सुन किनमेल गर्नेहरूको संख्या भारी मात्रामा घटेको व्यापारीहरु बताउँछन् । 

विगतमा विवाह वा तीजजस्ता पर्वमा सुन बजारमा हुने उच्च भिडभाड यस वर्ष देखिएन । व्यापारीहरूका अनुसार यस वर्षको तीजमा मात्रै कारोबार करिब ९९ प्रतिशतले घटेको छ । मूल्य वृद्धि र सरकारले सुनलाई विलासी वस्तुका रूपमा वर्गीकरण गर्दै २ प्रतिशत 'लक्जरी कर' थपेपछि बजार सुस्ताएको  हो । 

सुन पसलहरु दैनिक खुल्छन् । दिनभरि ग्राहकको पर्खाइमा बस्छन्, तर ग्राहक आउँदैनन् । छिटपुट आएका ग्रहाक पनि मूल्य सुनेर फर्किन्छन् । कुनै दिन त साँझसम्म पनि बोहनी नभई पसल बन्द गर्नुपर्ने व्यापारी बताउँछन् । 

धनगढीको सिमोन सुनचाँदी गहना पसलका सञ्चालक दानबहादुर रसाइली यही पीडामा गुज्रिरहेका छन । सरकारले लगाएको विलासिता करले व्यवसाय धराशायी बनेको उनी बताउँछन । आएका ग्राहक विलासिता कर भन्नेबित्तिकै ‘केको कर तिर्नु’ भन्दै व्यापारीसँग जंगिने गरेको उनले सुनाए । आफ्नै देशमा केही गरिखाऊँ भन्दै बसेका उनी व्यापार चौपटमा परेपछि अन्य विकल्पको खोजिमा छन् । 

'पहिला काराबार राम्रै थियो । अहिले चौपट छ । सुन किन्न सकिँदैन, ग्यारेन्टीवाला गहना लगाउँछौ भन्दै ग्राहक फर्किन्छन्,' रसाइली भन्छन्, 'सरकारले व्यवसायीलाई मार पर्ने गरी नीति बनाएपछि हाम्रो विकल्प विदेसिनुबाहेक केही छैन ।”

व्यापारमा आएको मन्दीले कारिगरहरुलाई तलब दिन नसकेपछि काम छोड्दै विदेश जाने गरेको उनले सुनाए । उनी सुनचाँदी व्यवसायी संघ कैलालीका सहकोषध्यक्षसमेत हुन् । 

'सुनलाई कुनै पनि देशमा विलासिता कर लगाएको छैन । गाडी, रक्सी, मोबाइल र अन्य विलासी वस्तुमा सुनलाई कम्प्रमाइज गर्न मिल्दैन । किनभने यो विलास भएर जाने चिज होइन । पुस्तौंसम्म यसको मूल्य बढिरहन्छ,' उनले भने । 

As the price of gold falls, businessmen are worried about being displaced

धनगढीकै न्यु पशुपति सुनचाँदी गहना पसलका सञ्चालक विवेक सोप सुनचाँदी खपत हुने मुख्य सिजनमै व्यापार घटेको बताउँछन् । तीजको समयमा उच्च व्यापार हुने उनको पसलमा यो वर्ष छिटफुट ग्राहक मात्रै आए । 'पहिले दैनिक भिड हुन्थ्यो, यो वर्ष ग्राहक निकै घटेका छन् । अहिले सिजनमै दिनमा ६–७ जना ग्राहक मुस्किलले आउँछन् । सुनको मूल्य सुनेर ग्राहक तर्सन्छन्,' उनले भने । 

ग्राहकको आकर्षण भारततर्फ

सुन व्यापारमा संलग्न अर्का व्यवसायीले खरिद गर्न ग्राहक भारत जाने गरेको बताए । उनी भन्छन्, 'नेपालमा भन्दा भारतमा सुन किन्दा सस्तो पर्छ । तर त्यहाँ गुणस्तरको ग्यारेन्टी हुँदैन, ठगीमा पर्ने सम्भावना धेरै हुन्छ । तर ग्राहकले तत्काल मूल्यलाई मात्र हेरेर भारतबाट ल्याउने गर्छन् । यसले हाम्रो व्यापार लगभग ठप्पै बनाइदिएको छ ।' 

व्यापारीहरूका अनुसार नेपालमा सुन महँगो र कर बढी भएपछि ग्राहक भारततर्फ आकर्षित भएका हुन् । यसले नेपाली बजार मात्र होइन, ग्राहक आफैंलाई पनि जोखिममा पर्ने सम्भावना हुन्छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले विलासिता कर खारेजको माग गर्दै आएको छ । संघका जिल्ला अध्यक्ष यदु सुनार करका कारण वैध कारोबार कमजोर भएको मान्छन् । ग्राहकलाई सस्तो र सुरक्षित सुन दिन सरकारले चाँडै कदम चाल्नुपर्ने उनको सुझाव छ । अन्यथा सुनको अवैध कारोबार र ठगी बढ्ने खतरा रहेको उनले बताए । 

सुनार भैरव सुनचाँदी गहना पसलका सञ्चालक हुन । व्यापार नहुँदा बैंकको ब्याजसमेत उनले बुझाउन सकेका छैनन् । एक वर्षअघि मात्रै उनको पसलमा ८ जना कारिगर थिए । तलब दिन सक्ने अवस्था नरहेपछि पाँचजना काम छाडेर गए । बाँकी रहेका ३ जनाका लागि पनि काम नभएको उनी बताउँछन् । 

'तीज, गौरा, दसैं, तिहारमा वर्षभरि सबैभन्दा बढी व्यापार हुने समय हो । तर, मुख्य सिजनमै हामी शून्यमा छौं । दिनभरि यौटा ग्राहक आउँदैन । यस्तो अवस्थामा कसरी ब्याज तिर्ने, कसरी सटर भाडा र कर्मचारी पाल्ने,' उनले सुनाए । 

As the price of gold falls, businessmen are worried about being displaced

सुनको मूल्य १ लाख हुँदा उनको पसलमा दिनमा १० लाख सम्मको कारोबार हुन्थ्यो । तर पछिल्लो समय दिनमा ५/१० हजारको कारोबार पनि मुस्किलले हुन्छ । उनी मात्र होइन सबै सुनचाँदी व्यवसायीको अवस्था उस्तै छ । 

व्यवसायीहरुले सुनको भन्सार शुल्क १० प्रतिशत तिर्नुपर्छ । तर नजिकैको भारतमा यो शुल्क ६ प्रतिशत छ । भारतभन्दा ४ प्रतिशत त्यसै महँगो, अझै त्यसमा २ प्रतिशत विलासिता कर थपेपछि ग्राहाक सस्तोको खोजीमा भारत जाने गर्छन् । त्यहाँ सुन खरिद गर्दा ग्राहकलाई तोलामा १२ देखि १४ हजार सस्तो पर्ने अध्यक्ष सुनार बताउँछन् । 

कोरोना महामारीपछि थलिएको व्यवसाय उठ्नै लाग्दा सरकारले व्यापारीलाई उत्साहित बनाउनुको सट्टा निराश बनाएको छ । पछिल्लो समय कैलालीमा मात्रै होइन, देशभरका सुन पसल व्यापार नभएर व्यवसाय जोगाउने चिन्तामा छन् । यो अवस्था लामो समय रहे धेरै व्यापारी विस्थापित हुनेछन् । जसको प्रत्यक्ष असर व्यवसायीलाई मात्र होइन, समग्र अर्थतन्त्रलाई नै पर्नेछ । 

सुन बजारलाई पुनः सक्रिय बनाउन सरकार र व्यापारीबीच छलफल गरेर उपभोक्तामैत्री कर नीति बनाउनुपर्ने, सुनचादी व्यवसायी संघ कैलालीका अध्यक्ष सुनारको जोड छ । उनले चाडपर्वलाई लक्षित गरी राहत दिने, उच्च भन्सार दरलाई समायोजन गरी व्यवसायमैत्री नीति बनाउने र सीमा नाकामा निगरानी थप कडाइ गर्न सुझाव दिए ।

रञ्जना

Link copied successfully