ट्रम्पको नीतिले विश्वको आपूर्ति प्रणाली, मूल्य सञ्जाल र कूटनीतिक सम्बन्धमा समेत असर परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
What you should know
काठमाडौँ — एक सातादेखि सुनको मूल्यले नयाँ–नयाँ कीर्तिमानी बनाएको छ । अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ बैंक) ले ब्याजदर घटाउने हल्ला र अमेरिकी डलरको सटही दरमा भारु र नेपाली रुपैयाँको अवमूल्यन भएपछि सुनको मूल्य बढेको सरोकारवालाले बताएका छन् ।
यसले एक सातायता दिनहुँ मूल्यमा नयाँ कीर्तिमान बनाएको उनीहरूको भनाइ छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार मूल्य निर्धारण गर्दा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य ३ हजार ४ सय ७४ अमेरिकी डलर थियो । सोहीअनुसार महासंघले नेपाली बजारमा प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको मूल्य कीर्तिमानी नभए पनि स्वदेशी बजारमा तोकिएको मूल्य कीर्तिमानी हो । डलरको सटही दरमा भारु र नेपाली रुपैयाँ अवमूल्यन नै यसको मुख्य कारण रहेको गहनाविज्ञ तेजरत्न शाक्यले बताए ।
गत वैशाख ९ मा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य ३ हजार ४ सय ८५ डलर थियो । नेपाली बजारमा भने त्यति बेला सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार ९ सय रुपैयाँ तोकिएको थियो । ‘त्यति बेला पनि मुख्य कारण भारु र नेपाली रुपैयाँको सटही दर नै थियो । त्यस बेला एक अमेरिकी डलर बराबर १ सय ३६ रुपैयाँ थियो,’ शाक्यले भने, ‘सोमबार पनि अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य ३ हजार ४ सय ७४ अमेरिकी डलर छ । तर एक डलर बराबर १ सय ४१ रुपैयाँ ४५ पैसा पर्छ । सोही कारण नेपाली बजारमा मूल्य अकासिएको हो ।’ अन्तर्राष्ट्रिय बजारको हकमा भने डलर कमजोर नै रहेको उनले जनाए ।
अन्तर्राष्ट्रिय बजारलाई ७५ र भारतीय बजारलाई २५ प्रतिशत आधार मानेर महासंघले मूल्य निर्धारण गर्छ । अन्तर्राष्ट्रिय बजार मूल्य, डलरको विनिमय दर, १० प्रतिशत भन्सार दर र १ प्रतिशत मुनाफा (बैंकलाई ५० प्रतिशत र व्यवसायीलाई ५० प्रतिशत) गरी बजार मूल्य निर्धारण गरिन्छ ।
पछिल्लो एक सातायता अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढ्दै गएको छ । ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको ट्यारिफ पनि सुनको मूल्य बढ्नुको कारण हो,’ शाक्यले भने । अमेरिकी राष्ट्रपति ट्रम्पले ९० देशमा भन्सार शुल्क बढाएका छन् । ट्रम्पको नीतिले विश्वको आपूर्ति प्रणाली, मूल्य सञ्जाल र कूटनीतिक सम्बन्धमा समेत असर परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सोही कारण अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानी बढ्दो क्रममा छ ।
सुनमा लगानी बढेपछि मूल्य पनि वृद्धि भइरहेको छ । त्यसको असर नेपाली बजारमा पनि परेको छ । भदौ १३ यता सुनको मूल्य तोलाकै २ लाख रुपैयाँ नाघेको छ । तर बजारमा यही मूल्यमा गहना किन्न पाइँदैन । गहना किन्न उपभोक्ताले थप ज्याला–जर्तीको शुल्क तिर्नुपर्छ ।
सुनमा विलासिताको शुल्क अब उपभोक्ताबाट मात्रै
सुन तथा सुनका गहनामा विलासिता शुल्क अब एक तहमा मात्रै लाग्ने भएको छ । तहगत शुल्कले उपभोक्ता मूल्य बढ्ने भन्दै गहना व्यवसायी आन्दोलित भएपछि सरकारले एक तहमा मात्रै कर लगाउने निर्णय गरेको हो । अर्थ मन्त्रालयले आर्थिक ऐन, २०८२ लाई संशोधन गर्दै यस्तो निर्णय गरेको हो । अब गहनामा २ प्रतिशत विलासिता कर उपभोक्ताबाट मात्रै लिने निर्णय गरिएको हो ।
करको दायरा परिमार्जन गर्दै अर्थ मन्त्रालयले भदौ २ मा राजपत्रमा सूचना प्रकाशन गरिसकेको छ । यससँगै आन्तरिक राजस्व विभागले पनि सोमबार विलासिता शुल्कसम्बन्धी कार्यविधि २०८२ बनाएर कार्यान्वयनमा ल्याएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुन तथा सुनका गरगहनामा २ प्रतिशत विलासिता कर र हीरालगायत बहुमूल्य पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेको थियो । त्यसको विरोधमा व्यवसायी सडकमा उत्रिएका थिए । २ प्रतिशत विलासिता करले गहनाको मूल्य तहअनुसार बढ्ने भन्दै संघर्ष समिति बनाएर उनीहरू आन्दोलित बनेका थिए । उपभोक्ताले किन्ने सुनका गहनामा २ प्रतिशत विलासिताको कर लगाइए पनि उपभोक्ताले सुन फिर्ता गर्दा यस्तो शुल्क लाग्दैन ।
एक सातायता सुनको मूल्य (तोलामा)
भदौ ९ : १ लाख ९७ हजार २ सय
भदौ १० : १ लाख ९८ हजार ७ सय
भदौ ११ : १ लाख ९९ हजार
भदौ १२ : १ लाख ९९ हजार ४ सय
भदौ १३ : २ लाख ६ सय
भदौ १५ : २ लाख ३ हजार ६ सय
भदौ १६ : २ लाख ५ हजार ३ सय
