फिनटेकमा खेतान समूहको प्रवेश, फोनपेको १४ प्रतिशत सेयर खरिद

खेतानसहित १० लगानीकर्ताद्वारा फोनपेको २२.३७ प्रतिशत सेयर करिब डेढ अर्ब रुपैयाँमा खरिद, यो कारोबारसँगै फोनपेको मूल्यांकन ६ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।

भाद्र १७, २०८२

यज्ञ बञ्जाडे, सजना बराल

Khaitan Group's entry into fintech, purchase of 14 percent stake in PhonePay

What you should know

काठमाडौँ — डिजिटल भुक्तानी प्रणाली सञ्चालक कम्पनी ‘फोनपे’ मा उद्योगपति राजेन्द्र खेतान पनि भित्रिएका छन् । खेतानसहित १० लगानीकर्ताले फोनपेको २२.३७ प्रतिशत सेयर करिब डेढ अर्ब रुपैयाँमा खरिद गर्ने भएका हुन् । खेतानले मात्र १४ प्रतिशत सेयर खरिदका लागि गरेको प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेको हो । 

‘डिजिटल भुक्तानीसँगै अन्य वित्तीय प्लाटफर्म निर्माता कम्पनी एफवानसफ्टअन्तर्गत रहेको फोनपेको सेयर संरचना परिवर्तनका लागि दुवै पक्षले राष्ट्र बैंकसमक्ष पेस गरेको प्रस्ताव स्वीकृत भएको छ,’ राष्ट्र बैंकका एक उच्च अधिकारी भन्छन्, ‘प्रशासनिक काम पूरा गरेर सम्बन्धितलाई औपचारिक जानकारी दिनेछौं ।’

राष्ट्र बैंकको स्वीकृतिसँगै खेतानले व्यक्तिगत रूपमा १४ प्रतिशत सेयर किन्ने भएका छन् । यसबाहेक उनकै संलग्नता रहेको र्‍यापिड इन्भेस्टमेन्टले १ प्रतिशत, नेपाल इम्प्याक्ट फन्ड वानले २ प्रतिशत, नेपाल इन्फ्रास्ट्रक्चर फन्डले १ प्रतिशत, नेपाल इम्प्याक्ट ग्लोबल इक्विटी फन्ड वानले १ प्रतिशत, स्वेडा इन्भेस्टमेन्टले ०.५ प्रतिशत र लक्ष्मी माइक्रो इन्भेस्ट प्रालिले थप ०.५ प्रतिशत सेयर किन्नेछन् । त्यसैगरी, डिजे श्रेष्ठले ०.०७ प्रतिशत र जीजीसी इन्भेस्टमेन्ट्स प्रालिले ०.३ प्रतिशत सेयर खरिद गर्दै छन् । पर्सा होल्डिङ्स प्रालि नामक कम्पनीले २ प्रतिशत सेयर किन्ने छ ।

फोनपेमा एफवानसफ्ट र सूचना प्रविधि विज्ञ असगर अलीको लगानी छ । एफवानसफ्ट अन्तर्गतको १४.३७ प्रतिशत र अलीअन्तर्गतको ८ प्रतिशत सेयर खेतानसहितका १० लगानीकर्ताले खरिद गरेका हुन् । २२.३७ प्रतिशत सेयर १ अर्ब ४९ करोड रुपैयाँमा कारोबार भएको हो । यो कारोबारसँगै फोनपेको मूल्यांकन ६ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।

डिजिटल भुक्तानीका लागि २६ माघ २०७६ मा राष्ट्र बैंकबाट सञ्चालन अनुमति पाएको यो कम्पनीको चुक्ता पुँजी ५० करोड ५० लाख रुपैयाँ रहेको छ ।

नेपालको डिजिटल भुक्तानी प्रणालीमा वर्चस्व जमाएको फोनपेमा खेतान समूहको प्रवेशलाई रणनीतिक रूपमा हेरिएको छ । खेतान ग्रुप बैंक तथा वित्तीय संस्था, बिमा र पुँजी बजार क्षेत्रमा लगानी गर्ने नेपालको ठूलो औद्योगिक घराना मानिन्छ । खेतान समूहले पछिल्लो समय गोर्खा ब्रुअरी र कार्ल्सबर्ग इन्डियामा रहेको आफ्नो लगानी फिर्ता लिँदै वित्तीय क्षेत्रमा ध्यान केन्द्रित गरेको छ । समूहले केही समयअघि मात्रै गोर्खा र कार्ल्सबर्गमा रहेको आफ्नो सेयर १ खर्ब रुपैयाँमा बेचेको थियो । 

Khaitan Group's entry into fintech, purchase of 14 percent stake in PhonePay‘फोनपेमा लगानी गर्ने प्रक्रिया चलिरहँदा नै खेतानले हालै १.२६ अर्ब रुपैयाँमा लक्ष्मी बैंकको ५.२१ प्रतिशत प्रमोटर सेयर पनि किनिसकेका छन् । अब उनीसँग बैंकको कुल ७.५ प्रतिशत सेयर स्वामित्व पुगेको छ,’ राष्ट्र बैंक स्रोतले भन्यो । 

हाल राजेन्द्र खेतानकै मुख्य लगानीमा लक्ष्मी सनराइज बैंक, एभरेस्ट हिमालयन इन्स्योरेन्स, म्युचुअल फन्ड कम्पनी, भेन्चर क्यापिटललगायत विभिन्न कम्पनी सञ्चालनमा छन् । वित्तीयसँगै वित्तीय–प्रविधि क्षेत्रमा उनी प्रखर रूपमा लागिपरेको देखिन्छ । नेपालको डिजिटल भुक्तानी प्रणालीमा वर्चस्व कायम गरेको फोनपेमा खेतान प्रवेश गर्न सफल भएका हुन् ।

आधुनिक बैंकिङ (डिजिटल बैंकिङ) मार्फत वित्तीय सेवा तथा पहुँचबाट वञ्चित रहेका समाजका तल्लो वर्गसम्म बैंकिङ सेवा पुर्‍याउने उद्देश्यले फोनपेमा लगानी गर्ने निर्णय गरेको राजेन्द्र खेतान बताउँछन् । ‘म र मेरो समूहका लागि वित्तीय क्षेत्रमा लगानी नयाँ होइन,’ उनी भन्छन्, ‘अहिलेको समयमा तीव्र रूपमा वित्तीय सेवा विस्तार गर्ने माध्यमका रूपमा डिजिटल बैंकिङ अघि आएको छ । हामीले पनि बैंकको ब्याकअपमा डिजिटल बैंकिङमार्फत वित्तीय सेवा विस्तार गर्न चाहेका छौं ।’

भौतिक रूपमा उपस्थितिबिनै एपको माध्यमबाट समाजका तल्लो वर्गले पनि सजिलै वित्तीय सेवा लिन सक्ने सेवा विस्तार गर्ने लक्ष्य रहेको खेतान बताउँछन् । ‘सेयरमा लगानीका लागि करिब ७० लाखले डिम्याट खाता खोलिसकेका छन्, उनीहरूलाई चाहिने सबै प्रकारका वित्तीय सेवा पनि एपबाटै उपलब्ध गराउने हाम्रो उद्देश्य हो,’ उनले थपे । 

फोनपेमा यसअघि पनि लगानी भित्र्याउने प्रयास भएको थियो । तीन वर्षअघि फोनपेको माउ कम्पनी एफवानसफ्टले डोल्मा इम्प्याक्ट फन्डलाई आफ्नो २० प्रतिशत सेयर बेच्ने तयारी गरेको थियो । त्यो बेला २ अर्ब कुल मूल्यांकनमा डोल्मासँग समझदारीपत्रमा हस्ताक्षर भए पनि राष्ट्र बैंकले स्वदेशी लगानीकर्तालाई प्राथमिकता दिनुपर्ने निर्देशन दिएपछि त्यो कारोबार रोकियो । ‘त्यो बेला डोल्मा मात्र होइन, इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी) ले पनि चासो देखाएको थियो,’ फोनपेको तत्कालीन सेयर संरचनाको प्रयासबारे जानकार राष्ट्र बैंकका एक अधिकारी भन्छन्, ‘तर, उनीहरूले २० प्रतिशत किन्न खोजेका थिए । हामीले भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति २०७९’ मा कि शतप्रतिशत विदेशी लगानी हुनुपर्ने कि त स्वदेशी कम्पनीमा १५ प्रतिशतभन्दा बढी विदेशी लगानी हुन नहुने व्यवस्था गरेपछि उनीहरू पन्छिए । त्यो सेयर अहिले खेतानले हात पार्न सफल भएका हुन् ।’ 

हाल नेपालमा क्यूआर कोडमार्फत हुने कारोबारमध्ये ९२ देखि ९४ प्रतिशत फोनपेबाट हुने गरेको छ । बाँकी नेपाल क्लियरिङ हाउस लिमिटेडले गर्छ । कम्पनीका अनुसार दैनिक १८ लाख वटा कारोबार फोनपेमार्फत हुन्छ र यसबाट दैनिक १८ अर्ब रुपैयाँ बराबरको कारोबार हुने गरेको छ । दिनमा १३ लाख वटा क्यूआर कारोबार र ५ लाख वटा कारोबार फोनपेले इन्टर बैंक फन्ड ट्रान्सफर गरिरहेको छ । क्यूआर कारोबार निःशुल्क भएकाले आम्दानी खासै नहुने तर अन्तरबैंक कारोबारबाट केही आम्दानी हुने कम्पनीले जानकारी दिएको छ । यसरी फोनपेको वार्षिक आम्दानी १ अर्ब रुपैयाँभन्दा बढी रहेको र यस वर्षको मुनाफा करिब २५ करोड रुपैयाँ हुने कम्पनीले जानकारी दिएको छ । 

Khaitan Group's entry into fintech, purchase of 14 percent stake in PhonePayफोनपेको माउ कम्पनी एफवानसफ्टले ई–सेवा, फोन लोन, फोन प्वाइन्ट्स, माइक्रो इन्भेस्टमेन्टजस्ता नयाँ भर्टिकल विस्तार गरिरहेको छ । कम्पनीका अनुसार, यही विस्तारका लागि रकम जुटाउन फोनपेको सेयर बिक्री गरिएको हो । एफवानले फोनपेको सेयर बिक्री गरेको सम्बन्धमा कम्पनीका सहसंस्थापक सुवास शर्मा भन्छन्, ‘एफवानले फोन लोन, फोन प्वाइन्टजस्ता नयाँ भेन्चर हुर्काइरहेको छ, त्यसका लागि पैसा चाहिएले केही सेयर बिक्री गरेका हौं ।’ 

सन् २०१८ मा स्थापना भएको फोनपे सुरुदेखि नै सार्वजनिक कम्पनीका रूपमा दर्ता भएकाले आईपीओमा जानैपर्ने बाध्यता छ । सन् २०२० र गत वर्ष नै आईपीओ जारी गर्ने चर्चा चले पनि कम्पनी घाटामा भएकाले पन्छिएको थियो । नियामक राष्ट्र बैंकले ‘आईपीओमा किन नगएको ?’ भनेर ताकेता गरिरहेको र अहिले मुनाफा पनि कमाउन थालेकाले उपयुक्त मूल्यांकनसहित सेयर बजारमा आउने तयारी देखिन्छ । सेयर बिक्रीबाट उठ्ने रकम एफवानले आगामी चार वर्षका लागि खर्च गर्ने योजनासहित नयाँ भर्टिकल विस्तारमा लगाउने जनाएको छ । आईपीओ पनि निष्कासन गर्ने, नयाँ भर्टिकलमा लगानी पनि गर्ने कम्पनीको योजना छ ।

फोनपेको माउ कम्पनी एफवानसफ्टमा विश्वास ढकाल, सम्भव सिरोहिया, सुवास शर्मा र सुवास सापकोटाको लगानी छ । सिरोहिया कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक हुन्, उनी फोनपेको सञ्चालक समितिमा छन् । फोनपेका बाँकी तीन जना लगानीकर्ता स्टार्टअप उद्यमी हुन् । एफवानसफ्ट स्थापनाकालमा आईटी विज्ञ असगर अलीसमेत थिए । एफवानसफ्टबाट सन् २०२४ मा बाहिरिएका अलीको फोनपेसँगै एफवान मातहतकै ई–सेवा र ई–सेवा मनी ट्रान्सफरमा पनि सेयर छ । फोन लोन, फोन प्वाइन्टजस्ता एफवानका अन्य नयाँ भेन्चरमा भने उनी आबद्ध छैनन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीका प्रविधि विज्ञ सल्लाहकार हुन् । तर एफवानसफ्ट मातहतका कम्पनीमा उनको हिस्सा क्रमशः घट्दै गएको देखिन्छ । सेयर बेचेर कुनै लगानीकर्ता बाहिरिन खोजेको हो कि भन्ने सवालमा शर्माको भनाइ छ, ‘कोही पनि बाहिरिन मिल्ने अवस्थै छैन । एक त हाम्रो काम सकिएको छैन, हाम्रा नयाँ कम्पनीहरू हुर्काएर ई–सेवाजस्तै ठूलो बनाउनु छ ।

अर्कोतर्फ फोनपे पब्लिक लिस्टिङमा जानैपर्नेछ ।’ आईपीओ जारी गरेपछि संस्थापकहरूले तीन वर्षसम्म सेयर बेच्न नमिल्ने भएकाले अहिलै नै केही स्वामित्व बेचेर वित्तीय अवस्था बलियो बनाउनका लागि समेत यो कारोबार गरिएको हुन सक्ने अनुमान छ । फोनपेको सर्भिसमा १९ वटा वाणिज्य बैंक, १४ वटा विकास बैंक, १४ वटा फाइनान्स कम्पनी, ९ वटा वालेट र एक माइक्रो फाइनान्स कम्पनी आबद्ध छन् ।

यज्ञ बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully