६ वर्षदेखि अलपत्र बर्दघाट सडक निर्माण सुरु

२०७६ मंसिरमा ब्रजगुरु महालक्ष्मी जेभी कम्पनीले ठेक्का सम्झौता गरेर काम थालेको थियो, उक्त कम्पनीले सडक भत्काएर छाडेपछि स्थानीयले हिउँदमा धूलो र बर्खामा हिलो सास्ती बेहोरेका थिए

असार ३२, २०८२

दीपेन्द्र बडुवाल, नवीन पौडेल

Construction of Bardghat road, which has been stalled for 6 years, has started

परासी — लामो समय अलपत्र पश्चिम नवलपरासीस्थित हुलाकी मार्गअन्तर्गत बर्दघाट नगरपालिकाको नारायणचोकदेखि त्रिवेणीसम्मको १६ किलोमिटर खण्ड पुनर्निर्माण सुरु भएको छ । निर्माण कम्पनीले काम नगरेपछि ६ वर्षसम्म अलपत्र उक्त खण्डमा धमाधम निर्माण थालिएपछि स्थानीयले धूलो–धूवाँबाट मुक्त हुने आशा गरेका हुन् । 

ठेक्का सम्झौताअनुसार २०७९ मंसिरमा निर्माण सकिनुपर्ने सडक ठेकेदार कम्पनीको ढिलासुस्तीले अलपत्र परेको थियो । पटकपटक म्याद थप्दासमेत काम नभएपछि स्थानीय आक्रोशित थिए । निर्माण कार्यलाई पूर्णता दिन माग गर्दै स्थानीयसँगै जिल्लाका जनप्रतिनिधिसमेत आन्दोलित बनेका थिए ।

उक्त क्षेत्रबाट प्रतिनिधिसभा सांसद विनोद चौधरी, प्रदेशसभा सदस्य देवकरणप्रसाद कलवार र स्थानीय पालिकाका जनप्रतिनिधिले लिखितका साथै आमरण र रिले अनशन बसेर दबाब दिएका थिए । जिल्लाको प्रमुख धार्मिक पर्यटकीय स्थल त्रिवेणी आउजाउ गर्ने मुख्य सडक अलपत्र परेपछि यात्रुले सास्ती बेहोरिरहेका छन् । 

समयमै निर्माण पूरा गराउन आफूले पटकपटक पहल गरेको सडक खण्डअन्तर्गत पर्ने प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले जनाए । ‘मेरो नेतृत्वमा अनशन नै बस्यौं, प्रदेश र संघ सरकारलाई विभिन्न माध्यमबाट दबाब दियौं,’ उनले भने, ‘अहिले निर्माणको काम सुरु भएको छ । यसलाई निरन्तरता दिन सकियो भने एक वर्षभित्र निर्माण सकिन्छ कि ।’ 

ठेकेदारले ढिलाइ गरेपछि गाउँपालिकाको क्षेत्रमा पर्ने ६ किलोमिटर सडक पालिकामार्फत निर्माण गर्न देऊ भन्दै माग गरेको यादवले जनाए । उक्त १६ किलोमिटर सडक खण्ड बर्दघाट नगरपालिका, प्रतापपुर र सुस्ता गाउँपालिकाको मुख्य मार्ग हो । निर्माण सकिएपछि एक लाख स्थानीयका साथै त्रिवेणी ओहोरदोहोर गर्ने सयौं धार्मिक पर्यटक लाभान्वित हुने उनको भनाइ छ । 

सडक निर्माणका लागि २०७६ मंसिरमा ब्रजगुरु महालक्ष्मी जेभी कम्पनीले ठेक्का सम्झौता गरेर काम थालेको थियो । उक्त कम्पनीले सडक भत्काएर छाडेपछि स्थानीयले हिउँदमा धूलो र बर्खामा हिलो सहनुपरेको थियो । सडकमा ठूला–ठूला खाडल बनेकाले दुर्घटनासमेत वृद्धि भएको स्थानीय बताउँछन् ।

पछिल्लो सहमतिअनुसार भैरहवास्थित निर्माण व्यवसायी चन्द्रमणि अधिकारीले आठ महिनाभित्र निर्माण पूरा गर्ने गरी काम सुरु गरेका हुन् । बज्रगुरु कम्पनीसित आन्तरिक सहमति गरी ठेकेदार अधिकारीले काम सुरु गरेको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर पवित्रमणि आचार्यले जनाए ।

‘ठेक्का तोडेर अर्कै प्रक्रियाबाट काम गर्दा झन् ढिलाइ हुने भएकाले ठेकेदार–ठेकेदारबीच आन्तरिक सहमति गराएर पुरानै निर्माण कम्पनीको फर्मबाट भुक्तानी पाउने गरी निर्माण सुरु गरिएको हो,’ उनले भने, ‘पहिलो चरणमा डेढ किमि कालोपत्र भइसकेको छ ।’ 

आयोजनाका अनुसार गोपीगन्ज बजार क्षेत्रको १ हजार ५ सय मिटर सडक अधिकारीले कालोपत्र गरिसकेका छन् । सुरुमा कोरोना महामारीलगत्तै आर्थिक मन्दी सुरु भएको कारण देखाउँदै ठेकेदारले काममा ढिलाइ गरिरहेको थियो । यससँगै ठेकेदार कम्पनी बैंकिङ कालोसूचीमा परेपछि निर्माणको काम ठप्प भएको थियो ।

प्रतिनिधिसभा सदस्य चौधरीले बैंकिङ समस्या समाधानमा सहजीकरण गरेपछि आफूले ठेकेदार कम्पनीसित आन्तरिक सहमति गरेर बज्रगुरु कम्पनीबाटै भुक्तानी लिने गरी सडक निर्माण थालेको ठेकेदार अधिकारीले बताए । ‘हामीलाई आन्तरिक सहमति गराउन र बैंकको समस्या समाधानमा सांसद चौधरीले ठूलो सहयोग गर्नुभयो । यसपछि काम भइरहेको छ,’ उनले भने । स्थानीय पालिका र प्रदेश सांसदबाट पनि सहयोग प्राप्त भइरहेको उनको भनाइ छ । 

कुन ५८ करोड लागतमा निर्माण भइरहेको उक्त हुलाकी खण्डको चौथो पटक म्याद थप भइसकेको छ । पछिल्लो पटक २०८२ चैतसम्म समयसीमा तोकिएको छ । सडक खण्डको हालसम्म भौतिक प्रगति ४० र वित्तीय प्रगति ३८ प्रतिशत छ । बजार क्षेत्रमा नालीसहित ११ मिटर र अन्य ठाउँमा नालीबिनै ८ मिटर फराकिलो गरी यो सडक खण्ड निर्माण भइरहेको छ । 

दीपेन्द्र

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully