आज मौद्रिक नीति आउँदै, नियमनमा उदार बन्दै गभर्नर  

सुपरिवेक्षणमा कडाइ, धेरै विषयमा लचिलो बन्दै मौद्रिक नीति

असार २७, २०८२

कान्तिपुर संवाददाता

Today the monetary policy is coming, the governor is becoming liberal in regulation

काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आज आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दैछन् । मौद्रिक नीतिको मस्यौदा तयार पारी सकेका गभर्नरले बिहीबार दिउँसो व्यवस्थापन समितिको बैठक बसेर नीतिमा छलफल गरेका थिए । 

सोही दिन साँझ उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसँग छलफल गरेका थिए । त्यसपछि बिहीबार साँझ नै तयारी सञ्चालक समितिको बैठक डाकेका थिए । सो बैठकमा धेरै कुरा टुंगिएको स्रोतले बताएको छ । त्यसपछि मौद्रिक नीतिलाई अन्तिम रूप दिन अहिले (बिहान ८ बजेदेखि) राष्ट्र बैंक सञ्चालक समितिमा बैठक बसिरहेको छ । बैठक टुंगिएपछि आजै दिउँसो (एक, दुई बजे) मौद्रिक नीति सार्वजनिक गर्ने योजना रहेको स्रोतले बताएको छ ।

अघिल्ला वर्षहरूमा प्रायः साउन पहिलो सातादेखि मौद्रिक नीति आउने गरेकोमा यस वर्ष नयाँ गभर्नर पौडेलले आफ्नो पहिलो नीति असारभित्रै ल्याउन लागेका हुन् । वित्त नीति (बजेट) साउन १ देखि कार्यान्वयनमा आउने भएकाले मौद्रिक नीतिलाई पनि सोही मितिदेखि कार्यान्वयनमा ल्याउन खोजिएको हो ।

नयाँ मौद्रिक नीतिमा गभर्नर पौडेल निकै उदार बन्ने सम्भावना देखिएको छ । वित्तीय प्रणालीमा पर्याप्त तरलता र चार वर्ष यताकै न्यून ब्याजदर हुादा पनि अपेक्षित रूपमा कर्जा प्रवाह हुन सकेको छैन । आर्थिक गतिविधि चलायमान बन्न सकेको छैन । ऋणीहरुको ऋण तिर्ने क्षमतामा ह्रास आइरहेको छ । ऋणीले समयमै साँवा ब्याज तिर्न नसक्दा बैंक तथा वित्तीय संस्थाको पनि खराब कर्जा बढिरहेको छ । यस्तो अवस्थामा ऋणी र बैंक तथा वित्तीय संस्था दुवै पक्षलाई राहत हुने गरी मौद्रिक नीति खुकुलो गर्ने राष्ट्र बैंकको तयारी छ ।

बढिरहेको खराब कर्जा व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना, कालो सूचीमा पर्ने व्यवस्थामा ललिचो, साना ऋणीलाई सुविधा, चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा लचिलो, कर्जाको वर्गीकरणसम्बन्धी विद्यमान व्यवस्था परिमार्जनलगायत व्यवस्था मौद्रिक नीतिमा गरिने स्रोतले बताएको छ ।  

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाको नयाा लाइसेन्सबारे निकै चर्चा चलिरहे पनि त्यससम्बन्धमा सञ्चालक समितिमा निकै छलफल भइरहेको छ । यसकारण नियो बैंकलगायत विशिष्टिकृत बैंकको लाइसेन्स वितरण गरे पनि सबै लाइसेन्स अहिल्यै नै खुला हुने सम्भावना नरहेको स्रोतको दाबी छ ।

कान्तिपुर

Link copied successfully