निस्दीमा अदुवाको व्यवसायिक खेती : चाना बनाएर जर्मनी निर्यात

यो वर्ष मात्र ७१ लाख ९१ हजार रुपैयाँको अदुवाको सुकेको चाना जर्मनी निर्यात

असार ११, २०८२

माधव अर्याल, विमल खतिवडा

Commercial cultivation of ginger in Nisdi: Made into rice and exported to Germany

निस्दी,पाल्पा — केही वर्षयता निस्दी गाउँपालिका–५, गल्धाका किसानको दिनचर्या फेरिएको छ। विशेषतः महिला किसानको व्यस्तता बढेको छ। पहिला गाउँमा अदुवा खेती त लगाइन्थ्यो, तर बजारको समस्या थियो। जसोतसो उत्पादन बजार पुर्‍याइए पनि बिचौलियाको भर पर्नुपर्ने बाध्यता थियो। मूल्य पाउन गाह्रो पर्थ्यो।

फेरि किसानले दाउरा बालेर कालो सुठो बनाएर बिक्री गर्ने गर्थे। जब २०७३ सालमा गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्था स्थापना भयो, त्यसपछि स्थानीय कृषि उत्पादनको प्रवर्द्धन सुरु भयो। दाउराको विकल्पमा अहिले मेसिनको प्रयोगबाट अदुवाको चाना बनाउने गरिएको छ।

सदरमुकाम तानसेनदेखि ६५ किलोमिटर टाढा रहेको उक्त गाउँमा अहिले व्यावसायिक रुपमा अदुवा खेती गर्नेहरू बढेका छन्। ०७८ सालबाट सहकारीले किसानको अदुवा खरिद गर्न थाल्यो। सहकारीमा ५ सय ४१ जना महिला सेयर सदस्य छन्। अदुवा २ सय ७२ जनाले लगाएका छन्।

सेयर सदस्यले लगाएको अदुवा सहकारीले खरिद गर्छ। ५ नम्बर वडामा करिब ९ सय रोपनी क्षेत्रफलमा अदुवा लगाइएको सहकारीकी व्यवस्थापक डिलमाया सारुले बताइन्। ‘गाउँमा अदुवा त पहिलाबाटै लगाइन्थ्यो, नजिकका सहर बजारमा लगेर बिक्री गरिन्थ्यो,’ उनले भनिन्, ‘बजार भएपनि अदुवाले मुल्य पाउँदैन थियो, अहिले विदेश पनि निर्यात हुन्छ ।’

उनका अनुसार युरोप निर्यात गर्न थालेको तीन वर्ष भयो। ‘सुरुको वर्ष ८ सय ५ केजी ३ सय ५० रुपैयाँका दरले, दोस्रो वर्ष ४ हजार ४ सय ६० केजी, ७ सय ५० रुपैयाँका दरले जर्मनी पठायौं,’ उनले भनिन्, ‘चालु वर्षको अहिलेसम्म १४ हजार ५ सय ६० प्रति केजी ४ सय ९३.९ रुपैयाँका दरले निर्यात गरिसकेका छौं ।’ 

यो वर्ष मात्र ७१ लाख ९१ हजार रुपैयाँको सुकेको चाना अदुवा निर्यात गरिएको हो। उनका अनुसार १ लाख १५ हजार केजी ताजा अदुवा किसानबाट खरिद गरिएको थियो। किसानबाट प्रतिकेजी ६० रुपैयाँका दरले अदुवा खरिद गरिएको हो। पछि बढीमा बिक्री गरेको रकम सहकारीमा रहने र सेयर सदस्यलाई बोनसका रुपमा बाँड्ने गरेको उनले बताइन्। 

Commercial cultivation of ginger in Nisdi: Made into rice and exported to Germany

‘९३ हजार ३ सय ७३ केजी प्रशोधन गर्दा १४ हजार केजी चाना बन्यो,’ उनले भनिन्, ‘फेरि अदुवा साढे ६ केजी प्रशोधन गर्दा एक केजी मात्र चाना बन्छ।’ खरिद गरेकैबाट ८ हजार ६ सय ९० केजी जुसका लागि यही वर्ष जर्मनी पठाएको उनको भनाइ छ । जसबाट ८ लाख १९ हजार ४ सय ६७ रुपैयाँ सहकारीले आम्दानी भयो ।

गाउँमा उत्पादन भएको अदुवा हेफर इन्टरनेशनल नेपालको सहयोगमा अकेस्टा नेपालले नसे जातको अदुवाको २० हजार केजी सुकाएको चाना माग गरेको थियो। माग अनुसार पुर्‍याउन नसकिएको व्यवस्थापक सारुको भनाइ छ । अदुवा लगाउनदेखि प्रशोधन गर्नसम्म हेफरको आर्थिक र प्राविधिक सहयोग रहेको सारुले बताइन्।  

त्यस्तै, सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा अदुवा धुने, चाना पार्ने, सुकाउने, पिस्ने, प्याकेजिङ गर्ने सामग्री सहयोग जुटाएर सहकारीले महिलाहरूलाई रोजगार दिएको छ । अदुवा अर्ग्यानिक हो, होइन भनेर जर्मनीकै सेरेस कम्पनीले किसानै घरघर पुगेर गुणस्तर जाँच गर्छ। उसले अर्ग्यानिक हो भनेर प्रमाणित गरेपछि मात्र यो जर्मनी निकास गर्न योग्य हुने व्यवस्थापक सारुले सुनाइन्। युरोप निर्यात भने अकेस्टा नेपाल मार्फत हुने गरेको छ ।

यसवर्ष अर्ग्यानिक प्रमाणित भएको काँचो अदुवासमेत निकासी गर्न सफल भएको सहकारीकी अध्यक्ष अममाया मश्राङ्गीले बताइन्। ‘२० हजार केजी काँचो अदुवाको माग थियो,’ उनले भनिन्, ‘तर माग अनुसार उत्पादन हुन नसक्दा थोरै मात्र निकासी गरेका हौं।’ 

जुसजन्य प्रयोजनका लागि लगाइएको बोसे अदुवा राम्रो नफलेका कारण लक्ष्य अनुसार पठाउन नसकेको उनले बताइन्। सुकेको चाना अर्ग्यानिक प्रमाणित भएको अदुवा कम भएकाले थोरै निकासी भएको हो । महिलालाई आत्मनिर्भर गराउन नगदेबाली अदुवा लगाउन प्रोत्साहन गर्दै आएको सहकारी संस्थाकी नारायणी ढुंगानाले बताइन् ।

गल्धा क्षेत्रको मात्र अर्ग्यानिक प्रमाणित भएकाले आगामी दिनमा नजिकका ज्यामिरे, मित्याल, झिरुवास र सहलकोटको अदुवा पनि अर्ग्यानिक प्रमाणितको पहल गर्ने संस्थाले जनाएको छ ।

निस्दीमा उत्पादित अदुवा स्थानीय व्यापारीले खरिद गरी यसअघि बुटवल, भैरहवा, काठमाडौंदेखि छिमेकी देश भारतसम्म मात्र लग्थे । ‘अरु–अरु देशमा पनि पठाउने तयारी छ,’ व्यवस्थापक सारुले भनिन्, ‘अलि खेतीमा आकर्षण पनि बढ्दै गएको छ ।’

Commercial cultivation of ginger in Nisdi: Made into rice and exported to Germany

त्यसो त नेपालमा उत्पादित अदुवाको मुख्य बजार भारत हो। चालु आर्थिक वर्षको ११ महिनामा विभिन्न मुलुकमा गरेर ५४ करोड ३६ लाख ७१ हजार बराबरको ३२ लाख ४४ हजार १ सय ७६ केजी अदुवा निर्यात भएको छ।

जसमा ताजा अदुवा मात्र २८ करोड ९८ लाख रुपैयाँ बराबरको २५ लाख ४५ हजार केजी निर्यात भएको भन्सार विभागको तथ्यांकमा छ। नेपालको सबैभन्दा ठूलो बजार भारतमा २८ करोड ७८ लाख मुल्य बराबरको २५ लाख ३६ हजार केजी ताजा अदुवा निर्यात भएको छ। सुठो अदुवा भने ४ करोड ८४ लाख बराबरको २ लाख ९९ हजार २ सय ११ केजी निकासी भएको हो ।

ताजा अदुवा जापानमा १३ हजारको ३० किलो, स्विजरल्याण्डमा ८ हजार रुपैयाँ बराबरको १० किलो निर्यात भएको हो। त्यस्तै, नेदरल्याण्डमा ३८ लाखको सुठो ६ हजार ९ केजी र २० लाख मुल्यको ८ हजार ६ सय ९० केजी ताजा अदुवा निर्यात भएको छ। भारतपछि सबैभन्दा धेरै १७ करोड १५ लाख रुपैयाँ बराबरको २ लाख १० हजार ४ सय ६० किलो सुठो अदुवा जर्मनी निकासी गरिएको छ।

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

विमल खतिवडा खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully