क्रसिङकै सिजनमा उद्योगीले बढाए चिनीको मूल्य

एक सातामा फ्याक्ट्री मूल्य किलोमा ८ देखि १० रुपैयाँसम्म बढ्यो

पुस १५, २०८१

राजु चौधरी

During the crushing season, the industry increased the price of sugar

काठमाडौँ — सरकारले उखुको समर्थन मूल्य तोकेको दुई साता नबित्दै चिनी उद्योगीहरूले पत्रकार सम्मेलन गरे । मंसिर २५ मा आयोजित पत्रकार सम्मेलनमा नेपाल चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले नेपालको बजार तस्करीबाट भित्रिएको चिनीले चलेको दाबी गर्दै स्वदेशी उद्योगीले उत्पादन गरेको चिनी गोदाममै थन्किएको बताए ।

‘आधिकारिक रूपमा आयात नभए पनि बजारमा करिब ६० हजार टन चिनी तस्करीबाट भित्रिएको छ । तस्करीको चिनीले उद्योगीले उत्पादन गरेको चिनी गोदाममै थन्कियो,’ अग्रवालले भनेका थिए, ‘बजारमा चाहिएको परिमाणमा चिनी जति पनि छ ।’

उखुको क्रसिङ धमाधम भइराखेकाले उद्योगको चिनी बिक्री भएर गोदाम शून्य हुनुपर्ने अवस्थामा गोदाममा अझै चिनी थन्किएको उनको भनाइ थियो । उखुको क्रसिङ मंसिरदेखि चैतसम्म चल्छ । संघको भनाइलाई आधार मान्दा बजारमा जति पनि चिनी छ । एकातिर क्रसिङको सिजन र अर्कोतिर तस्करीको चिनी भएकै कारण चिनीको भाउ घट्नुपर्ने हो । तर बजारमूल्य उल्टो देखिएको छ ।

चिनी बिक्री नभएको भन्दै पत्रकार सम्मेलन गरेका उद्योगीहरूले तीन साता नबित्दै चिनीको फ्याक्ट्री मूल्य बढाइदिएका छन् । मूल्य बढ्नुपर्ने खास कारण नभए पनि उनीहरूले ‘सिन्डिकेट’ गर्दै मूल्यवृद्धि गरेका हुन् । 

माग र आपूर्तिको सन्तुलन नमिल्दा केही मूल्य बढ्नु स्वाभाविक हो । तर बजारमा चिनी जति पनि छ । उद्योगीहरूसँग पनि चिनी गोदाममा थन्किएको जानकार बताउँछन् । क्रसिङ भइरहेको छ । आपूर्तिमा पनि कुनै समस्या छैन । तर पनि एक सातामै फ्याक्ट्री गेट मूल्य किलोमै ८ देखि १० रुपैयाँसम्म बढेर आएको उनीहरूको भनाइ छ । 

‘एक सातामा चिनीको फ्याक्ट्री गेट मूल्य प्रतिकिलो ८४ रुपैयाँबाट बढेर ८५ रुपैयाँ, ८६ रुपैयाँ, ८८ रुपैयाँ हुँदै ९२ रुपैयाँ पुग्यो । मिलअनुसार एक सातामै प्रतिकिलो ८ देखि १० रुपैयाँसम्म बढेको छ, मूल्य बढाएर बिक्री बन्द भनिएको छ,’ आस्मा एन्ड कम्पनी प्रालिका सञ्चालक सञ्जय फुयालले भने, ‘क्रसिङको सिजन हो । मिलमा चिनी जति पनि छ, तर मूल्य मनपरी रूपमा बढाइएको छ ।’ 

बालाजुका होलसेल व्यापारी ईश्वरी श्रेष्ठको भनाइ पनि उस्तै छ । उनले पनि एक सातायता चिनीको फ्याक्ट्री मूल्य बढेको जनाए । चिनीको फ्याक्ट्री गेट मूल्य बढेपछि होलसेल र खुदामा पनि स्वाभाविक त्यसको प्रभाव पर्ने उनको भनाइ छ । 

उद्योगीहरूले फ्याक्ट्री गेट मूल्य ८४ रुपैयाँ बिक्री गर्दा खुद्रा व्यापार संघले चिनीको मूल्य प्रतिकिलो १ सय २ रुपैयाँ तोकेको छ । एक सातायता फ्याक्ट्री मूल्य बढेको छ । वीरगन्जबाट उपत्यकासम्म ल्याउँदा ढुवानी भाडा प्रतिकिलो ३ रुपैयाँ लाग्ने होलसेल व्यवसायी फुयाल बताउँछन् । महाकालीबाट ल्याउँदा साढे ४ रुपैयाँसम्म लाग्छ । त्यसपछि एकदुई रुपैयाँ मुनाफा राखेर होलसेलले खुद्रा व्यापारीलाई बिक्री गर्छन् । खुद्रा पसलले पनि आफूअनुकूल बिक्री गर्छन् । 

यता उद्योगीहरूले भने उखु क्रसिङ (पेल्दा) सोचेअनुसार रस नबसेकाले मूल्य बढाएको बताएका छन् । ‘मिलमा धमाधम उखु पेल्ने काम भइराखेको छ । तर जति चिनी आउनुपर्ने हो, त्यसअनुपातमा आएको छैन । उखुमा आउनुपर्ने रस बसेको छैन,’ भागेश्वरी चिनी मिलका एक कर्मचारीले भने, ‘त्यही भएर मूल्य बढाएका छौं । एक सातामा करिब ६/७ रुपैयाँ बढ्यो, अब धेरै बढ्दैन ।’

अन्नपूर्ण सुगर मिलका अधिकारीले पनि उखु पेल्दा सोचेअनुसार रस नआएकै कारण मूल्य बढेको दाबी गरेका छन् । ‘मूल्य केही बढे पनि गत वर्षभन्दा धेरै छैन । सुरुमा मूल्य घट्यो, अहिले केही बढेको छ,’ उन्नपूर्ण सुगर मिलका नाम उल्लेख गर्न नचाहने एक कर्मचारीले भने, ‘मूल्य बढ्नुको मूल्य कारण उखुमा पर्याप्त रस नहुनु नै हो ।’

नेपालमा वार्षिक २ लाख ८५ हजार टन चिनीको माग छ । गत वर्ष चिनी उद्योगबाट १ लाख ७८ हजार ७ सय १७ टन चिनी उत्पादन भएको थियो । बाँकी वैध र अवैध आयातले बजार धानेको थियो । संघले चालु आर्थिक वर्षमा २ लाख २० हजार टन चिनी उत्पादन हुने आकलन गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनी क्षेत्रमा ठूलो गिरोह गरेको र उसले मूल्यमा मनोमानी गर्दै आएको जनाएको छ ।

‘दसैंताका कोटाको चिनी आयात गर्न सूचना निकालेका थियौं । पहिला आउनेलाई पहिलो प्राथमिकता दियौं । त्यस बेला बजारमा चिनीको मूल्य किलोको ११५ रुपैयाँ थियो, विभागले कोटाको चिनी १ सय ७ मा बिक्री गर्ने जनाएपछि त्यो चिनी ल्याउन नदिन गिरोहले धेरै प्रयत्न गरेको थियो,’ विभागका महानिर्देशक राजन पौडेलले भने, ‘व्यापारीले कोटाको चिनी ल्याएपछि उद्योगीले मूल्य घटाएर किलोको ९५ रुपैयाँ बनाइदिए । सरकारी कोटाबाट चिनी ल्याउनेलाई चरम घाटा भयो । यसले चिनी क्षेत्रमा मनलाग्दी रहेको देखाउँछ ।’

राजु चौधरी चौधरी कान्तिपुरमा उद्योग, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता, कृषि तथा आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully