०७३ सालमा फोर–जी सेवा सुरु गर्दा ०७६ फागुनसम्म देशभर विस्तार गरिसक्ने योजना भए पनि अझै अपूरै
काठमाडौँ — सञ्चार तथा सूचना मन्त्रालयले सय दिनको अवधिमा लक्ष्यभन्दा धेरै काम सम्पन्न गरेको छ । आफ्नो मन्त्रालयलाई प्रधानमन्त्रीको कार्यालयले दिएको जिम्मेवारीमध्ये शतप्रतिशत मात्र होइन, ११७ प्रतिशत काम पूरा गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको दाबी छ ।
सरकार गठन भएको पहिलो सय दिनका उपलब्धिहरूको सूची सार्वजनिक गर्दै मन्त्रालयले लामो समयदेखि अड्किरहेका नियुक्ति एवं प्रशासनिक प्रक्रियामा रहेका झन्झटको गाँठो फुकाउनुका साथै दूरसञ्चार, प्रसारण, हुलाक सेवाअन्तर्गत विभिन्न क्षेत्रगत सुधारका प्रत्यत्नको सुरुवात भएको दाबी गरेको छ ।
‘हामीले सय दिनमा हासिल गर्न खोजेको लक्ष्यभन्दा पनि धेरै प्रगति हासिल गर्न सफल भएका छौं,’ सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले भने, ‘यस अवधिमा फोरजी एलटीई सेवा प्रयोगकर्ता ७० प्रतिशतबाट ७२ प्रतिशतमा विस्तार गर्ने लक्ष्य लिएकामा ५ प्रतिशत नै बढाउन सक्यौं,’ उनले भने, ‘यसलाई संख्यामा हेर्दा तीन महिनामा ६ लाख ग्राहक थपिनु सञ्चार क्षेत्रका लागि सानो उपलब्धि होइन ।’ मन्त्रालयले हुम्लामा फाइबर टु द होम (एफटीटीएच) विस्तार कार्य सम्पन्न गर्दा देशका ७७ वटै जिल्ला सदरमुकाममा कनेक्टिभिटी पुगेको उनको भनाइ छ ।
‘अहिले सञ्चार मन्त्रालय एक मात्रै यस्तो मन्त्रालय हो, जसले तीन महिनाभित्र आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित दुई विधेयक कानुनका रूपमा पारित गराउन सकेको छ,’ ठाकुरले थपे, ‘प्रक्रियागत र नियमित काम थुप्रै गर्न बाँकी छ, सय दिनभित्र कति नै पूरा गर्न सकिन्छ र । तर यस अवधिमा हामीले राम्रै रफ्तारमै काम गर्यौं भन्ने मेरो धारणा छ ।’
सञ्चार मन्त्रालयले सार्वजनिक गरेको वर्तमान सरकारको पहिलो सय दिनका प्रगति विवरणमा २० कागजरहित सरकारको अवधारणा कार्यान्वयन गर्न एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सञ्चालनका लागि थप २० निकायमा तालिम सञ्चालन गर्ने लक्ष्य लिएकामा ३० वटा निकायलाई नै तालिम दिइसकेको मन्त्रालयले जनाएको छ ।
पाँचवटा निकायको सिस्टम, सफ्टवेयर, वेबसाइट, वेब एप्लिकेसन, मोबाइल एप्लिकेसनहरूको सुरक्षा अडिट गरिएको र फिक्स्ड ब्रोडब्यान्ड सेवा ४३.७५ प्रतिशतमा विस्तार गरिएको उल्लेख छ ।
अप्टिकल फाइबर (२४ कोरमाथिको) थप १ हजार किलोमिटर विस्तार गरेर १६ हजार किलोमिटर पुर्याएको र मोबाइल सेवा ९७.२५ प्रतिशत जनसंख्यामा विस्तार गरिएको सञ्चार मन्त्रालयले जनाएको छ । गोरखापत्रका पुराना प्रकाशनको थप ८ वर्षको डिजिटल रूपान्तरण भएको, रेडियो नेपालका थप १ हजारवटा पुराना अडियो टेपको डिजिटल रूपान्तरण गरिएको, गोरखापत्रमा राना थारू भाषामा समावेशी कार्यक्रम प्रकाशन भएको, रेडियो नेपाल र नेपाल टेलिभिजनमा पनि थप नेपालभाषा, दनुवार भाषा, मैथिली भाषामा कार्यक्रम र समाचार प्रसारण सुरु भएको र राष्ट्रिय समाचार समितिबाट चौबिसै घण्टा समाचार सेवा सुरु भएको मन्त्रालयको भनाइ छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नै तोकिदिएका यी लक्ष्यबाहेक पनि सञ्चारले नीतिगत सुधार र लामो समयदेखि अल्झिएका नियुक्ति प्रक्रिया, विवादमा रहेका टिकटक प्रतिबन्धका विषय, दूरसञ्चार कम्पनीको अनुमतिपत्र नवीकरण र डिजिटल नेपाल फ्रेमवर्कलाई गति दिने प्रयत्न भएको दाबी गरेको छ । सञ्चार मन्त्रालय मातहतकै परियोजनामा अनियमितता र भ्रष्टाचार पुष्टि भएका घटना बाहिरिएपछि धेरैको निगरानी र चासोमा रहेको मन्त्रालयलाई सुधारको बाटोमा ल्याउन खोजिरहेको मन्त्री गुरुङले बताए ।
‘यो मन्त्रालयमा फोहोरको डंगुर थुप्रेको रहेछ । इमानदार प्रयासले यो डंगुर सफा गर्न सम्भव छ भन्ने यो अविधिमा मेरो मुख्य सिकाइ रह्यो,’ गुरुङले भने, ‘भ्रष्टाचारले जरजर र बिचौलियाको बिगबिगी भएको मन्त्रालय रहेछ । यसबाट मुक्त गर्न कडा मिहिनेत गर्नुपर्नेछ ।’
सूचना प्रविधि र दूरसञ्चार क्षेत्रलाई नियालिरहेकाहरूले भने मन्त्रालय खुद्राखुद्री काममा सीमित रहेको टिप्पणी गरेका छन् । चालु आर्थिक वर्षको बजेटमा आगामी १० वर्षलाई सूचना प्रविधि दशकका रूपमा मनाउने, ३० अर्बको सूचना प्रविधि सेवा निर्यात गर्ने जस्ता महत्त्वाकांक्षी लक्ष्य लिएकामा सरकारले फोरजी सेवा बल्ल ७२ प्रतिशत जसंख्यामा विस्तारजस्ता विषयलाई उपलब्धि मान्नुपर्ने स्थिति रहेकामा जानकारहरूको आलोचना छ । ०७३ सालमा फोरजी सेवा सुरु गर्दा ०७६ फागुनसम्म देशभर विस्तार गरिसक्ने योजना भए पनि अझै पूरा भएको छैन ।
