काठमाडौँ — सरकारले बन्द रहेका सरकारी उद्योगहरू सञ्चालनमा ल्याउने घोषणा गरेको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सार्वजनिक संस्थानलाई सम्भाव्यताका आधारमा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरिने जनाएका हुन् ।
उत्पादन र रोजगारीमा योगदान गर्न सक्ने सम्भावना रहेका रुग्ण उद्योग निजी क्षेत्रसँगको साझेदारीमा सञ्चालनमा ल्याइने पनि उनले घोषणा गरे ।
बन्द अवस्थामा रहेको विराटनगर जुट मिल, हेटौंडा कपडा उद्योग, गोरखकाली रबर उद्योगलगायतका उद्योग सार्वजनिक-निजी साझेदारीमा सञ्चालनमा ल्याइने बजेटमा उल्लेख गरिएको छ । निजी क्षेत्रका रुग्ण उद्योगलाई पुन:स्थापित हुन सहजीकरण गरिने अर्थमन्त्री पुनले बताए ।
