कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१
रुस–युक्रेन युद्धको असर

अमेरिकी डलर, सुन र पेट्रोलको भाउ उचाइमा

जानकार भन्छन्– ‘संकटले निरन्तरता पाए आउँदा दिनमा मूल्यवृद्धि थप अकासिन्छ, अर्थतन्त्र झनै नराम्रो अवस्थामा पुग्न सक्छ’
यज्ञ बञ्जाडे, हेमन्त जोशी

काठमाडौँ — मुलुकको आर्थिक अवस्था संकटको संघारमा रहेका बेला आन्तरिक बजारमा पनि अमेरिकी डलर, सुन, पेट्रोलियमलगायतको मूल्यले नयाँ उचाइ कायम गरेका छन् । यस्तो अवस्थाले निरन्तरता पाए आउँदा दिनमा मूल्यवृद्धि अझै अकासिनुका साथै अर्थतन्त्र झनै नराम्रो अवस्थामा पुग्ने जानकारहरू बताउँछन् ।

अमेरिकी डलर, सुन र पेट्रोलको भाउ उचाइमा

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २३.४४ रुपैयाँ (बिक्रीदर) तोकेको छ । यो हालसम्मकै उच्च हो । यसअघि २०७७ वैशाख १० मा डलरको भाउ त्यतिबेलासम्मकै उच्च १२३.२४ रुपैयाँसम्म पुगेको थियो । करिब ३ महिना अघिसम्म डलर उकालो लाग्ने दरमा केही कमी आएपछि केही सातायता निरन्तर उकालो लाग्दै आएको छ ।

गत असारको तुलनामा पुससम्म अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.९४ प्रतिशतले अधिमूल्यन भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपाली रुपैयाँ २.८७ प्रतिशतले अधिमूल्यन भएको थियो । पछिल्ला ४ वर्षमा अमेरिकी डलर भाउ करिब १९ रुपैयाँ बढेको छ । डिसेम्बर २०१७ मा एक अमेरिकी डलरको भाउ १०२ रुपैयाँ मात्रै थियो । विश्वबजारमा अमेरिकी डलरको माग अकासिएपछि भाउ पनि बढेको हो ।

डलरसँगै आन्तरिक बजारमा सुनको मूल्य पनि लगातार उकालो लाग्दै आएको छ । सोही क्रममा सोमबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम भएको छ । आइतबारको तुलनामा सोमबार तोलामा १ हजार १ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि आइतबार प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि २०७७ साउन २३ गते सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो । सोमबार दिउँसोसम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार ९ सय ८० अमेरिकी डलरभन्दा माथि पुगेको थियो । नेपाली समयअनुसार मध्याह्नपछि सुनको मूल्यको वृद्धिदरमा कमी आए पनि बढ्ने क्रम भने जारी छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य कतिले बढ्छ त्यसका आधारमा मंगलबार नेपाली बजारमा सुनको मूल्य कति माथि पुग्छ भन्ने तय हुने जानकारहरू बताउँछन् । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेकाले नेपालमा असर परेको महासंघको दाबी छ । महासंघका अनुसार युक्रेनमाथि रुसको आक्रमणलाई लिएर अमेरिका, बेलायतलगायत राष्ट्रसँग रुसको विवाद बढ्दा सुनको माग बढ्न गएको हो । त्यसको असरले केही सातायता नेपाली बजारमा सुनचाँदीको मूल्य अकासिएको महासंघको निष्कर्ष छ । भारतीय मुद्रा कमजोर भएकाले नेपाली मुद्राको भाउ अवमूल्यन भएको हो । नेरु र भारुबीच स्थिर विनिमय दर छ । कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर रहेकाले भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । सोमबार साँझसम्म भारुसँग एक अमेरिकी डलरको विनिमय दर ७७ रुपैयाँ कायम भएको छ । यो पनि हालसम्मै उच्च हो । त्यसको असरले नेरुको मूल्य पनि अवमूल्यन भएको हो । चालु आर्थिक वर्षको पहिलो ६ महिनाको तथ्यांक हेर्दा नेपालको कुल वैदेशिक व्यापारको करिब ६३ प्रतिशत हिस्सा भारत केन्द्रित छ । विगतका वर्षमा कुल व्यापारमा यस्तो हिस्सा ६५ प्रतिशतसम्म पनि पुगेको थियो ।

चाँदीको मूल्य पनि सोमबार प्रतितोला १० रुपैयाँ बढेर १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय १५ रुपैयाँ थियो ।

विश्वबजारमा मूल्य बढेर आएको भन्दै नेपाल आयल निगमले गत साता इन्धन (पेट्रोलियम पदार्थ)को मूल्य बढाएर हालसम्मकै उच्च कायम गरेको छ । यसअनुसार प्रतिलिटर पेट्रोल मूल्य १ सय ५० रुपैयाँ छ । २०७० फागुन ३० मा प्रतिलिटर पेट्रोलको मूल्य १ सय ४० रुपैयाँ थियो । त्यतिबेला अन्तर्राष्ट्रिय बजारमा कच्चातेलको मूल्य प्रतिब्यारेल १ सय ८ अमेरिकी डलर र डलरसँग नेपाली मुद्राको विनिमय दर ९८ रुपैयाँ मात्र थियो । त्यसयता अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य र अमेरिकी डलरको विनिमय दर निरन्तर उकालो लागेका छन् । सोही क्रममा सोमबार साँझसम्म अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय २० अमेरिकी डलर हाराहारीमा छ ।

गत माघ ५ मा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ३९ रुपैयाँ रहेकामा माघ १८ मा १ सय ४२ रुपैयाँ पुगेको थियो । त्यसयता हरेक साता पेट्रोलको मूल्यले लगातार नयाँ कीर्तिमानी कायम गर्दै आएको छ ।

प्रकाशित : फाल्गुन २४, २०७८ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?