रुस-युक्रेन युद्धको असर

भारतबाट महँगो बिजुली किन्दै नेपाल

कान्तिपुर संवाददाता

काठमाडौँ — रुस र युक्रेनबीच चलिरहेको युद्धको असर नेपालको ऊर्जा क्षेत्रमा पनि देखिएको छ । दुई देशबीचको युद्धका कारण छिमेकी मुलुक भारतमा ऊर्जा महँगिएपछि त्यसको असर नेपालमा समेत देखिएको हो ।

भारतबाट महँगो बिजुली किन्दै नेपाल

नेपाल विद्युत् प्राधिकरणका अनुसार अहिले नेपालले भारतबाट ३ सय ७० देखि ४ सय मेगावाटसम्म बिजुली आयात गरिरहेको छ । भारतमा ऊर्जाको मुख्य स्रोत प्राकृतिक ग्यासबाट चल्ने थर्मल प्लान्ट र कोईला कारखाना हुन् । भारतले यी वस्तुहरुको आयात ठूलो परिमाणमा रुसबाट गर्ने गरेको छ । युद्धका कारण प्राकृतिक ग्यास र थर्मल कोल आयात प्रभावित भएपछि भारतमा बिजुलीको मूल्य बढेको हो । नेपालले पनि अहिले भारतबाट महँगोमा बिजुली किन्नु परेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताए ।

‘यसअघि नेपालले भारतबाट प्रतियुनिट औसत भारु ३ मा बिजुली किनिरहेको थियो । तर अहिले भारु ५/६ सम्म पुगेको छ,’ भट्टराईले भने, ‘भारतमा बिजुली महँगिएपछि त्यसको असर हामीलाई पनि परेको छ । यो अझै बढ्ने देखिएको छ ।’

नेपालले भारतबाट एक्सचेन्ज मार्केटमा बिजुली किन्ने गरेको छ । भारतले बिजुली बेच्दा हरेक १५ मिनेटमा एउटा र एक दिनमा ९६ फरक–फरक ब्लकहरुमा मूल्य निर्धारण गर्छ । अहिले नेपालले एउटा ब्लकमा प्रतियुनिट २० भारुसम्ममा बिजुली किनेको प्रवक्ता भट्टराईले बताए ।

भारतमा करिब ७० प्रतिशत ऊर्जा थर्मल प्लान्ट र कोइलाबाट हुने गरेको छ । भारतले सन् २०२० रुसबाट २५ लाख मेट्रिक टन र सन् २०२१ मा १८ लाख मेट्रिक टन थर्मल कोल आयात गरेको द इकोनोमिक टाइम्सले उल्लेख गरेको छ । त्यस्तै, रुसले विश्वभर निर्यात गर्ने प्राकृतिक ग्यासको ०.२ प्रतिशत भारतमा पठाउने गरेको छ ।

रुस–युक्रेन तनावको असर भारत, इन्डोनेसिया, जापान र युरोपियन मुलुकहरुको ऊर्जा क्षेत्रमा नराम्रोसँग देखिएको पनि इकोनोमिक टाइम्सले उल्लेख गरेको छ । कोइला उत्पादन तथा खपत गर्ने राष्ट्रहरुमा नेपालका छिमेकी मुलुकहरु चीन पहिलो र भारत दोस्रो स्थानमा छन् ।

प्रकाशित : फाल्गुन २३, २०७८ २२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?