काठमाडौँ — अब फोटोकपी कागजातका आधारमा पनि प्रतीतपत्र (एलसी) रकम भुक्तानी हुने भएको छ । राष्ट्र बैंकले लकडाउनको समयमा सक्कली (ओरिजिनल) कागजपत्र समयमै आउन नसकेपछि फोटोकपीकै भरमा पनि भुक्तानी गर्न मिल्ने व्यवस्था गरेको हो । राष्ट्र बैंकले सोमबार सूचनामार्फत नयाँ व्यवस्थाबारे जानकारी दिएको हो ।
विदेशबाट सामान आयात गर्दा बैंकमार्फत रकम भुक्तानी गर्ने माध्यम एलसी हो । सामान्य अवस्थामा एलसीमार्फत रकम भुक्तानी गर्दा विदेशबाट सामान पठाएको प्रक्रियासहितका सक्कली कागजात हुनुपर्छ । अहिले विश्वका धेरै राष्ट्रमा लकडाउन भएकाले अन्तर्राष्ट्रिय कुरिअर सञ्चालन भएका छैनन् । यसकारण कागजात समयमै आउन नसकेपछि राष्ट्र बैंकले अप्ठ्यारो परिस्थितिका लागि नयाँ व्यवस्था ल्याएको हो ।
‘विदेशबाट बन्दरगाहमा सामान आए पनि कागजात आइनपुगेकाले भुक्तानी रोकिएको छ,’ राष्ट्र बैंक विदेशी विनिमय व्यवस्था विभाग प्रमुख बमबहादुर मिश्रले भने । ती भुक्तानीका लागि यो व्यवस्था गरिएको हो । अवस्था सहज भए पनि यो व्यवस्थामा परिमार्जन गरिने उनको भनाइ छ । ‘हाल विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीको अवस्था सामान्य नभएसम्म प्रतीतपत्रमार्फत आयात हुने सामानको हकमा जारी बैंकले तोकिएको मापदण्ड पूरा भएको हकमा कपी कागजातका आधारमा पनि भुक्तानी गर्न सक्नेछ,’ निर्देशनमा भनिएको छ । यस्तो भुक्तानीका लागि सम्बन्धित बैंकले एलसीको स्क्यान प्रति भने इमेलमार्फत पठाउनुपर्नेछ ।
