संकटमा कालीगण्डकी सभ्यता

नदीको समग्र वातावरण–प्रभाव मूल्यांकन गरेर कार्ययोजना बनाएर विकास गर्नुपर्नेमा बतासे विज्ञ भर्ना गरेर सिंगो नदीको बहाव छेक्ने/थुन्ने, ढुंगा, गिट्टी, बालुवाको दोहन भइरहेको छ 

वैशाख १६, २०८२

आरके अदीप्त गिरी

Kaligand civilization in crisis

जैविक विविधता, समृद्धि र जीवनदायिनी शक्ति भएकाले कालीगण्डकी नदीको विशेष महत्त्व छ । तर, यतिबेला निरन्तरको दोहन र सयौं समस्याको जालोमा जेलिएकाले संकटमा छ ।

कालीगण्डकीको विगत पाँच दशकदेखि दोहन भइरहेको छ । दोहनले जलविद्युत् परियोजनाका नाममा नदीको प्राकृतिक धार नै परिवर्तन गरिदिएको छ र यहाँको पारिस्थितिकीय प्रणालीमा गम्भीर असर परेको छ । नदी प्रणालीमा असन्तुलन र अस्थिरता आएको छ ।

हालै नेपाल सरकारद्वारा कालीगण्डकी नदीमा आधारित जलविद्युत् आयोजना र जलाशय निर्माण योजनाहरूको प्रस्ताव गरिएको छ, जसले सम्पूर्ण नदी प्रणाली र त्यसमा आश्रित समुदायको जीवनमै गम्भीर संकट निम्त्याउने देखिएको छ । कालीगण्डकी सभ्यताको एउटा विशाल खण्डमा जैविक विविधता नै संकटको मुखमा पुगिसकेको छ । ठूलो भूभागमा जलसंकट निम्त्याउने र सम्पदा क्षेत्र विनाश गर्नेगरी सरकारले कालीगण्डकी डाइभर्सन परियोजना, कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना, उपल्लो कालीगण्डकी आयोजनाजस्ता परियोजना अघि बढाएको छ । यी परियोजनाले कालीगण्डकी नदीलाई आफ्नै जीवन्त प्राकृतिक प्रवाहबाट हटाउने र यसको ऐतिहासिक, सांस्कृतिक, धार्मिक महत्त्वलाई नष्ट गर्ने जोखिम बढेको छ ।

कालीगण्डकीको जलाधार क्षेत्रमा पाइने जैविक विविधता (३०० ताल, ३० प्रजातिका किरा, ११० प्रजातिका चरा र अन्य जैविक जीवन) मा खतरा छ । यस नदीको तटीय क्षेत्रमा १५ लाखभन्दा बढी मानिसको बसोबास छ । धार्मिक, ऐतिहासिक र पर्यावरणीय दृष्टिले कालीगण्डकी क्षेत्र महत्त्वपूर्ण छ ।

यस्तो पवित्र र ऐतिहासिक नदीमा यस किसिमका विनाशकारी परियोजना अघि बढाउनु आवश्यकै थिएन । जलविद्युत् उत्पादन र विकासका नाममा प्रकृति, मानव सभ्यताविरोधी विकास गतिविधि गरिराखे हामी इतिहास र भावीपुस्तालाई जवाफ दिन लायक रहने छैनौं ।

नेपाल सरकारअन्तर्गत ऊर्जा तथा सिँचाइ मन्त्रालयले प्रस्ताव गरेको यी परियोजनाको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टको सत्यतामा गम्भीर शंका छ । झूटा प्रतिवेदनका आधारमा कालीगण्डकी नदीलाई डाइभर्सन र जलाशय निर्माणको प्रक्रियामा हाल्न खोज्नु कुनै पनि दृष्टिकोणबाट उचित छैन । यसको परिणाम निकट भविष्यमा जलसंकट, जैविक विविधताको ह्रास र भौगोलिक परिवर्तन निम्त्याउने जोखिम छ । जसका कारण लाखौं मानिसको जीविका र पारिस्थितिकीय तन्तु संकटमा पर्नेछन् । सिंगो गण्डकी प्रदेश र प्रस्तावित परियोजना र तल्लो तटका स्थानीय तह र बासिन्दाले विरोध जनाइरहँदा नेपाल सरकारको ऊर्जा तथा सिँचाइ मन्त्रालयले यस प्रकारको ढिपी कसेको छ । यसखालको विनाशकारी परियोजना अघि बढाउनु चिन्ताको विषय हो ।

दोहन रोक्न र सरकारको गलत नियतका कारण मर्दै गरेको कालीगण्डकीलाई किन बचाउने भन्ने बुझ्न यसको गरिमाबारे चर्चा गर्नु उपयुक्त हुन्छ । 

कालीगण्डकी नदी सभ्यताको जननी मात्र होइन, जीवन पनि हो । आर्यसंस्कृति र वैदिक सभ्यतासँग जोडिएको कालीगण्डकी नेपालको निकै पुरानो सभ्यता हो । ८१४ किलोमिटर लम्बाइ र झन्डै ६३४ किलोमिटर भाग नेपालतर्फ तथा २०० किलोमिटर भारत हुँदै गंगामा पुगेर समाहित हुने कालीगण्डकी बंगालको खाडीमा पुग्दछ । कालीको तटीय इलाकामा विभिन्न धाम, घाट र तीर्थस्थल छन् । यसका नशनाडी वैदिककालसँग जोडिएका छन् ।

४३० किलोमिटरको करिडोरअन्तर्गतको यो चीन र भारत जोड्ने छोटो रुट पनि हो । सिन्धुघाटी सभ्यतासँग जोडिएको रुट भएकाले पनि यो निकै पुरानो सभ्यता मानिन्छ । व्यापारिक केन्द्र, किनारमा भएका घनाबस्ती र धार्मिक आस्थासँग जोडिएको यसको सभ्यताले पनि यसलाई प्रमाणित गर्छ । दामोदर कुण्ड, मुक्तिनाथ, कागबेनी पितृतीर्थस्थल, गलेश्वरधाम, कालाञ्जर पर्वत, महाभारत शृंखला मृगतीर्थका रूपमा पनि परिचित छन् । माथिबाट कालिका भगवती कालीकै तटमा छ । मोदीबेनी, गुप्तेश्वर, जैमिनीघाट, सेतीबेनी, रुद्रबेनी, रुरु क्षेत्र, राम्दी, केलादी, अश्रघाट, मोदीघाट, गौरीघाट, रामघाट जस्ता घुमाउरा घुमाउरा घाटहरू यसको काखमा छन् ।

विश्वभरका हिन्दुले कालीगण्डकी नदीमा पाइने शालिग्राम शिलालाई भगवान् साक्षात् विष्णुका रूपमा पुज्छन् । वैज्ञानिक आस्था राख्नेले सामुद्रिक जीव अनुवंश सुरु भएको एउटा अवशेष मान्दछन् । मानव अनुवंश लेउ झ्याउबाट सुरु भएको भनिन्छ । त्यसका आधारमा यस फोसिलभित्रको चक्रका आधारमा त्यसलाई पाषाणकालीन सभ्यता पनि भनिएको छ ।

कालीगण्डकीको शिरमा मुक्तिनाथलाई हिन्दु र बौद्धमार्गी दुवैले अलौकिक पवित्रस्थलका रूपमा पुज्छन् । कालीगण्डकीको अर्को शिर दामोदरकुण्ड आस्थाका रूपमा पुजिन्छ । कालीगण्डकीको जलाधार क्षेत्रलाई ८ हजार मिटरभन्दा अग्ला तीनवटा हिमाल धौलागिरि, अन्नपूर्ण र मनास्लुले घेरेका छन् । ६ हजारदेखि ८ हजारसम्मका दुई दर्जन बढी हिमालहरू पनि यहाँ छन् । यसको जलाधार क्षेत्र मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, गुल्मी, पाल्पा, तनहुँ, पश्चिम नवलपरासी र पूर्वी नवलपरासी गरी १० जिल्लामा जोडिएको छ ।

यसलाई सप्तगण्डकी नदी प्रणालीका रूपमा कालीगण्डकीसहित त्रिशूली, मर्स्याङ्दी, बुढीगण्डकी, मादी, सेती, दरौंदी गरी मुख्य सहायक नदीका रूपमा लिइन्छ । अनेकौं तालपोखरी, खानीखनिज छन् । कालो कणको बालुवा पाइने सायदै यहीँ मात्रै हो । 

यसका नदीतटीय क्षेत्रका गल्छी खोंचहरू हेर्दा पनि यसको नरम चट्टान र यो पत्रे चट्टानको अवशेषले बनेको छ । जीवाशेष शालिग्राम शिलाका रूपमा सबै शिलाजडित पहाड जस्तो देख्छौं । ठूला चट्टान, गेग्रान, बलौटे, माटो, कंक्रिट, बालुवाको एकदमै ठूलो खानीको क्षेत्र पनि भएकाले यसका वैज्ञानिक एवं आर्थिक अध्ययनका पाटाहरू थुप्रै छन् । कालीगण्डकी नदी नेपालका तीन नदी प्रणालीमा पनि ठूलो मानिन्छ । संसारकै गहिरो (२५२० मिटर) रुप्से अन्धगल्छी पनि यहीं पर्दछ ।

वैज्ञानिक, पर्यावरणीय र पारिस्थितिकीय प्रणाली, जलाधार, ऋतुचक्र, भूमिगत जलका हिसाबले पनि कालीगण्डकीको अपार देन छ । यसको जलाधार क्षेत्रभित्रै रहेर वेदव्यासले चार वेद लेखेको धार्मिक विश्वास गरिन्छ ।

कालीगण्डकी क्षेत्र कैलाशसम्म पुग्ने एक छोटो बाटो पनि हो । यसको करिडोरले चीन र भारतलाई जोडेको छ । आस्थाका हिसाबले चिनियाँ बुद्धिस्टहरूको लुम्बिनीमा आस्था छ, भारतीय हिन्दुको चार धाममध्ये दुई धाम रिडी र मुक्तिनाथ धाम यहीँ छ । 

चितवन राष्ट्रिय निकुञ्ज यही जलाधार क्षेत्रमा पर्छ । यस किनारमा लोमान्थाङ, जोमसोम, बेनी, बागलुङ, कुश्मा, फलेबास, बराचौर, मिर्मी, रुद्र क्षेत्र, रामपुर, ब्रह्मादेवी त्रिवेणी हुँदै अगाडि बढ्छ । प्राचीनकालदेखि व्यापारिक केन्द्रका रूपमा पनि यो स्थापित छ ।

बुद्ध दर्शनको विकासमा हान वंशी राजा ‘मिङ्गती’ ले बुद्धबारे सपना देखेपछि उनको सक्रियतामा बुद्ध ज्ञान दक्षिण एसियातर्फ फैलिएको इतिहास छ । बुद्ध दर्शनको प्रचारमा यो रुटको ठूलो महत्त्व रहेको छ । 

यस्तो गम्भीर विषयलाई उपेक्षा गरी सिंगो नदीलाई अर्कोतर्फ मोड्ने विभिन्न खालका परियोजना अघि बढाउनु गण्डकीवासीको आस्था र संस्कृतिमाथि खेलबाड हो । यति मात्रै नभई त्यहाँ नदीमा आश्रित भएर बाँच्ने अठार मगरात, माझी, बोटे, धिमाललगायत दर्जनौं समुदायका लाखौं मानिसको जीविकोपार्जनमाथिको आक्रमण हो । सरकारले प्रस्तावित कालीगण्डकी डाइभर्सन परियोजना, कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना–६४० मेगावाट र उपल्लो कालीगण्डकी आयोजना जस्ता परियोजनाहरू अघि बढाउँदा यी समुदायहरूको जीवन र सांस्कृतिक धरोहरलाई गम्भीर चुनौती प्रस्तुत गरेको छ ।

यतिबेला कालीगण्डकीमा हाइड्रो, प्रदूषण, डाइभर्सन, दोहन गरेर कालीगण्डकीलाई आफ्नै स्वरूपमा जीवन्त बग्न दिइएको छैन । पञ्चतत्त्व जीवनको स्रोत सापेक्ष रूपमा अगाडि बढाउनुपर्नेमा राज्यका शासकहरू तत्कालीन लाभका लागि वैज्ञानिक अध्ययनबिना अव्यावहारिक गतिविधिमा लागेका छन् । नदीमाथिको हस्तक्षेप खेदजनक छ ।

विकासका कुरा गर्दा नदीलाई नै ढुंगा, गिट्टी, बालुवाको स्रोत मानिन्छ । तर त्यो होइन । नदीको समग्र वातावरण–प्रभाव मूल्यांकन गरेर कार्ययोजना बनाएर विकास गर्नुपर्नेमा बतासे विज्ञ भर्ना गरेर सिंगो नदीको बहाव छेक्ने/थुन्ने, ढुंगा, गिट्टी, बालुवाको आधार क्षेत्र मानेर दोहन भइरहेको छ । विगत पाँच दशकदेखि कालीको आँत र गर्त छियाछिया हुने गतिविधि भएका छन् । 

कालीगण्डकी दुष्चक्रमा छ । नदी प्रणाली खल्बलिएको छ । जलाधार क्षेत्रको कुरा गर्दा १ हजार २५ हिमनदी भएको जलाधार क्षेत्र गण्डकी नदी प्रणाली मासिँदै छ । ३०० तालतलैया, ३० प्रजातिका किरा/फट्यांग्रा, २० प्रजातिका पुतली, १ दर्जन अभयचर प्रणाली, ११० प्रजातिका चरा, ३० प्रकारका चराचुरुंगीको यो आश्रय क्षेत्र भत्किइरहेको छ । गौंडा–गौंडामा रहेका कला–संस्कृति, सभ्यता, गरिमा, पवित्र स्थलहरू लोप हुँदै गएका छन् । 

मानव सभ्यताको उद्गमस्थलमा स्वार्थ समूहले क्रसर उद्योग चलाइरहेको छ, यो अत्याचार हो । यिनले वातावरण प्रभाव मूल्यांकनका कुनै मापदण्डहरू तय गरेका छैनन् । एकाध व्यक्तिको पहुँच र स्वार्थमा कब्जा गरिएको छ । स्थानीय तहले पनि ठेक्का लाउने र मनपरी गर्न ठाडो हस्तक्षेप गरेको छ । प्रकृति र मानव सभ्यतामाथिको यो गम्भीर अपराध हो । यसको दोहनमा राज्य मातहतका व्यक्तिदेखि तल्लो तहका ठेकेदार, तस्कर, बिचौलियासम्मको ‘नेक्सस’ ठूलो छ । 

नेपालका हिमालबाट बगेको पानी २ खर्ब मानिसको जीवनको आधार हो । पानीबाट समृद्धिका कुरा गर्दा खालि जलविद्युत्को मात्र कुरा गरिन्छ । बिजुली बेचिरहेका छौं । तर पानीको हिसाब छैन, न पर्याप्त छलफल छ न उपलब्धि । नियोजित ढंगले भारतमा सित्तैमा बिजुली पठाउने चलखेल भएको छ ।

हिजोका सहमति खोज्दा खोस्टो पनि भेटिँदैन । भारतमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने भनिएको छ । अहिले ३ हजार मेगावाट बिजुली निर्यात भइरहेको बताइन्छ । ३ करोड नेपालीलाई घर–घरमा बिजुली पुर्‍याउने हो भने १८ हजार मेगावाट बिजुली चाहिन्छ । हिजैदेखि चलखेल जलविद्युत् पूर्वाधारका हिसाबले भएको छ । हालैको बाढीपहिरोले २ दर्जन बढी जलविद्युत्का पूर्वाधारमा क्षति पुग्यो, ऊर्जा तथा जलस्रोतका विज्ञले पनि भारतसँग भएको सम्झौतापत्र सार्वजनिक गर्नुमा शंका छ ।

भारतमा बिजुली पठाउने सर्त के–के हुन् भन्नेबारेमा स्पष्ट खाका तयार छैन । अहिले हामीले सन्धि सम्झौता गरिरहेका छौं । तर त्यसबाट के लाभ लिइरहेका छौं भन्ने छलफल गर्दैनौं । नवीकरणीय ऊर्जा उत्पादन खपत अन्तरदेशीय व्यापारको कुरा गरिरहँदा हाम्रा नदीहरूलाई हिजोकै स्वच्छतामा बग्न दिने कि साँधसिमाना लगाएर विश्वव्यापी रूपमा रहेका बाँधहरू पनि तोड्ने ? अहिले त्यही चलिरहेको छ । बाँध बाँध्दा पनि ठूलो चुनौती छ ।

जलसंरचना कति जोखिममा छ, कालीगण्डकी जलविद्युत् परियोजना ल्याउँदा १४ किलोमिटर भूभागको क्षति अकल्पनीय छ । हिमालयको नदीलाई छेक्ने दुस्साहस विडम्बनापूर्ण छ । 

स्थानीय शक्ति र पैसाका लागि स्वार्थमा यो सब भइरहेको छ । यसकारण यतिबेला हामी सबै एक ठाउँमा उभिएर एकाकार हुन जरुरी छ । कालीगण्डकी नदी हाम्रो जीवनको स्रोत हो । र, यसको संरक्षणका लागि आवाज उठाऔं ।

आरके अदीप्त गिरी

Link copied successfully