काठमाडौँ — विकासको पहिलो खुड्किलो भनेको सडक पूर्वाधार नै हो । सडक सञ्जालले जनताको जीवनस्तर सुधार्न मद्दत गरेको छ । हिजो भरतपुर बजारबाट मेघौली जान २ घण्टा लाग्थ्यो । जान र आउनमै एक दिन बित्ने गरेकामा अहिले आधा घण्टामै पुगिन्छ । यसको प्रत्यक्ष लाभ यहाँका नागरिकलाई पुगेको छ ।
यसकारण सडक पूर्वाधारमा उल्लेख्य फड्को मारेका छौं । हामीले भनेको होइन, देखेको र सबैले महसुस गरेको कुरा यही हो ।
देशको तेस्रो पर्यटकीय गन्तव्यका रूपमा भरतपुर वा समग्र चितवन जिल्ला परिचित छ । अब चाँडै दोस्रो पर्यटकीय गन्तव्य बनाउनेमा होडबाजी छ । देशका ६ वटा महानगरमध्ये एउटा र चितवनको राजधानी भएको हिसाबले पनि भरतपुरलाई देशको तेस्रो पर्यटकीय गन्तव्यबाट दोस्रो बनाउन हामी कडा प्रतिस्पर्धामा छौं ।
भरतपुरले विकासको जुन लय पक्रिएको छ, भोलिका दिनमा यो लयलाई निरन्तरता दिन सक्यौं भने दोस्रो पर्यटकीय गन्तव्य बन्न सक्ने प्रबल सम्भावना पनि छ । सडक पूर्वाधार मात्र नभई पर्यटन, कृषि, शिक्षा स्वास्थ लगायत सबै क्षेत्रमा सन्तुलित विकासको खाका अनुसार अघि बढेका छौं । पर्यटन प्रवर्द्धन, विकास र समृद्धिमा भरतपुरले पछिल्लो सात वर्षमा उल्लेख्य फड्को मारेको छ ।
पछिल्लो आर्थिक मन्दीका कारण व्याप्त निराशालाई चिर्न, आर्थिक गतिविधि चलायमान बनाउन र भरतपुरबासीमा उत्साह जगाउँ भन्ने उद्देश्यले हामीले ‘भरतपुर भ्रमण वर्ष २०२४’ घोषणा गरेका थियौं । लगानीकर्तालाई आकर्षित गर्न बाटो–घाटो, बिजुली बत्ती, आईटी सुविधा उपलब्ध गराउन र आवागमन एवं बसाइँ सुरक्षित बनाउने अवस्था सिर्जना गर्न खोज्दै छौं ।
लगानीकर्ताहरूलाई म ढुक्क भएर भरतपुरमा लगानी गर्न अनुरोध गर्छु । पर्यटन प्रवर्द्धनसँगै आफूले भरतपुरमा आर्थिक गतिविधि बढाउन र लगानी भित्र्याउन पनि अनुकूल वातावरण सिर्जनामा गम्भीर छौं ।
भरतपुरमा दुईवटा विमानस्थल छन् । कुनै समय भरतपुरभन्दा पनि मेघौली विमानस्थल स्थापित थियो । टाइगर टप्स होटल हुँदासम्म राम्ररी चलिरहेको मेघौली विमानस्थल टाइगर टप्ससँगै बन्द भयो । पश्चिम चितवनका मेघौली, पटीहानी, जगतपुर र गोलाघाटका बासिन्दाले मेघौली विमानस्थललाई स्तरोन्नति गरी सञ्चालनमा ल्याउन ध्यानाकर्षण गरिरहेका छन् । रनवेलाई सामान्य मर्मत गर्ने काम गरिएको छ ।
भरतपुर विमानस्थलमा पनि अत्याधुनिक टर्मिनल भवन बन्दै छ । याे विमानस्थल विस्तार गर्नु अहिलेको आवश्यकता पनि हो । टेकअफ र ल्यान्डिङका लागि रनवे कम भएकाले भरतपुर विमानस्थललाई विस्तार गर्नुपर्ने भएको छ । भरतपुर विमानस्थलमा ४२ सिटे जहाजभन्दा ठूलो जहाज आउन सक्दैन । त्यसकारण विमानस्थल विस्तार अनिवार्य भएको छ ।
तत्कालीन मन्त्रिपरिषद्बाट भरतपुर विमानस्थल विस्तारका लागि घोडा प्रजनन केन्द्रलाई शक्तिखोरमा सार्ने निर्णय भइसकेको छ । संघीय सरकारको बजेटमा पनि भरतपुर विमानस्थल विस्तारको विषय अटाइसकेको छ । अब कार्यान्वयनको चरणमा छ ।
एउटै पालिकामा दुईवटा विमानस्थल आवश्यक छैन । तर फेरि टाइगर टप्स होटल सञ्चालनमा आयो भने चार्टर विमानका लागि मेघौली विमानस्थल चाहिन्छ । साथै मेघौली र नवलपुर जोड्न व्यवस्थित पुल बन्यो भने पनि उक्त विमानस्थल चाहिन्छ ।
भरतपुर महानगरपालिकाका मेयर दाहाल ले ‘चितवन चिन्तन’को दोस्रो सत्र ‘पर्यटनको मार्ग, समृद्धिको चित्र’ विषयक छलफलमा दिएको अभिव्यक्ति)
