‘चितवन मेडिकल सिटी हो भनेर प्रमाणित गरिसकेका छौं’

कार्तिक १३, २०८१

डा. हरिशचन्द्र न्यौपाने

”We have proved that Chitwan is a medical city”

काठमाडौँ — तपाईं हामीले मात्र मेडिकल सिटी भनेर हुँदैन । मेडिकल सिटी सरकारको कुनै न कुनै निकायले घोषणा गरेको हुनुपर्छ । कहीँ न कहीँ प्रकाशित गरेको हुनुपर्छ । त्यसैले मेडिकल सिटीको पहिलो तयारी भनेकै यही हो । अर्को कुरा जनताहरुले पत्याउनु पर्छ ।

चितवन मेडिकल सिटी हो भनेर दह्रो हृदयले भन्न सक्नुपर्छ । हामी मेडिकल सिटीमा बस्छौं र यहाँ भएका सुविधा र पूर्वाधारहरू पर्याप्त छन् भनेर भन्न सक्नुपर्छ ।

अस्पतालहरु मात्र भएर मेडिकल सिटी हुने होइन । चितवनमा सबै अस्पतालहरु गरेर ४ हजार बेड छ । झन्डै ५ सय वटा क्रिटिकल केयर बेडहरु छन् । कोभिडका बेलामा सबैलाई थाहा छ, हामी मेडिकल सिटी हो की होइन भन्ने कुरा हामीले देखिसकेका छौं । हामीले चितवन मेडिकल सिटी हो भनेर प्रमाणित गरीसकेका छौं ।

आजको दिनसम्म ५ सय वटा क्रिटिकल केयर बेडहरु हुँदा पनि कत्ति बिरामीहरुले क्रिटिकल केयर सर्भिस पाइएन भनेर कति गाह्रो भएको थियो । अर्को अचम्मको कुरा त काठमाडौंमा पनि बेड नभएर चितवन आएर क्रिटिकल केयरको उपचार गराएर जानेहरु पनि हुनुहुन्छ । त्यसैले आम सर्वसाधरणले बुझ्ने गरी चितवन मेडिकल सिटी हो भनेर प्रमाणित गरिसकेका छौं ।
त्यसैले नेपाल सरकारले चितवन मेडिकल सिटी हो भन्नुपर्छ । ऐन कानुन, कार्यविधिमा लेख्नुपर्छ । चितवनलाई साँच्चै मेडिकल सिटी बनाउने हो भने गोरखा, लमजुङ, तनहुँ, काठमाडौं, झापा जहाँसुकैबाट बिरामी उपचारका लागि आउँदा अन्तको भन्दा सर्वसुलभ सेवा हुनुपर्छ । त्यसका लागि यातायात सुविधा पनि सहज हुनुपर्छ । आउँदा होटलमा बस्न सहज बनाइदिनु पर्छ । चितवनमा केको उपचार गर्ने हो, त्यही अनुसारको उपचार सुविधा उपलब्ध गराइदिनु पर्छ । त्यसैले सरकारले मौखिक रुपमा नभई लिखित रुपमा नै चितवन मेडिकल सिटी हो भनेर भन्नु पर्छ ।
त्यसपछि झन् सेवा सुविधा थपिँदै लग्न सकिन्छ । सुविधा राम्रो दिन सकिए उपचारका लागि बाहिर जानु पर्ने छैन । सरकारको तहबाट पनि सहयोग आवश्यक छ । त्यसैले सरकारले चितवनलाई मेडिकल सिटी भनेर घोषणा गरोस् । हामी सबै तवरले तयार छौं ।  

मेडिकल उपचारमा प्रविधि असिमित छ । नेपालमा सिटी स्क्यान, एमआरआई, डाइग्नोस्टिक ल्याव राम्रो छ भन्छौं । आज रोबोटिक सर्जरी कसरी गर्ने भनेर नयाँ कुरा आएका छन् । त्यसैले प्रविधि परिवर्तन हुने कुरा कहिले पनि सकिँदैन । यसको विकास भइरहेको छ । चितवन उपचार हिसाबले अघि छ ।  हामीले काठमाडौंसँग तुलना गर्ने हो । काठमाडौंसँग तुलना गर्दा हामी त्यति नै सुविधायुक्त छौं । जहिले पनि शिक्षा र स्वास्थ्यमा अनुसन्धानको कुरासँगै आउनुपर्छ । पहिला–पहिला अस्पतालहरु दर्ता हुँदाको बेला हेर्ने हो भने ‘अस्पताल तथा रिसर्च सेन्टर’ भनेर बोर्डमा लेखिन्थ्यो ।
त्यो एकदम राम्रो थियो । तर, कसैले पनि अनुसन्धानको काम गर्दैन थिए । किन गर्दैन थिए भने त्यो अनुसारको पूर्वाधार थिएन । लगानी थिएन । अहिले हामीले गर्ने भनेको सामान्य ‘अडिट’ मात्र हो ।  कति विरामी, कस्ता विरामी आए भन्ने मात्र हो । हामीसँग तथ्यपरक तथ्यांक छैन । भोलीको तथ्यांक विश्लेषण गर्न सक्ने प्रविधि र प्रणाली छैन । त्यसैले तथ्यांक विश्लेषण गर्ने प्रणाली चाहिन्छ । यस्तो कुरामा सरकारी निकायबाट पनि सहयोग चाहिन्छ । त्यस्तै अस्पतालबाट निस्कने फोहोर व्यवस्थापनमा पनि हामीले ध्यान दिन जरुरी छ ।

(चितवन मेडिकल कलेज अध्यक्ष तथा प्रबन्ध निर्देशक डा.हरिशचन्द्र न्यौपानेले ‘चितवन चिन्तन’को तेस्रो सत्र ‘शिक्षा र स्वास्थ्यमा लगानी : चितवनको चिनारी’ विषयको छलफलमा दिएको अभिव्यक्ति)

डा. चितवन मेडिकल कलेज अध्यक्ष तथा प्रबन्ध निर्देशक

Link copied successfully