‘कृषि कर्म गर्ने मान्छेलाई राम्रो ढंगबाट सम्बोधन गर्नुपर्छ'

कार्तिक १३, २०८१

रामनाथ अधिकारी

”Agricultural people should be treated well”

काठमाडौँ — म मन्त्री भएको सय दिन पुरा भइसकेको छ । मैले सोचेको थिएँ मिल्क होलिडे नहोस् । त्यो परिस्थिति सिर्जना नभए हुन्थ्यो भन्ने ढंगबाट मेरो सोचमा परिवर्तन आएको छ । तर त्यो बन्नुपर्ने परिस्थिति किन हुँदो रहेछ ? भदौ असोजदेखि दुधको वृद्धि हुने रहेछ । हामीले यहाँ जति धान्न सक्नुपर्ने त्यो धान्नसक्ने स्थिति नभईसकेपछि किसानबाट दूध नलिने भन्ने बित्तिकै मिल्क होलिडेतर्फ किसानहरू लाग्नुपर्ने अवस्था छ ।

हामीले आजसम्म कम्तिमा दूध किसानसँग लिने, त्यो दूध बिक्री भएन भने त्यसलाई पाउडरका रूपमा प्रयोग गर्ने भन्ने काम पनि राम्रोसँग गर्न सकेका रहेनछौं । त्यसैले म यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु ।अब मिल्क होलिडे नहोस् भन्न र हुन नदिनका लागि हामीले विभिन्न ठाउँमा त्यस्ता मेसिनहरू जडान गरेर दूधलाई धुलो दूधमा परिणत गराउँदै अगाडि बढ्ने योजना बनाएका छौं ।

अब मैले सत्य कुरा भनौं कि बनावटी कुरा गरौं , सत्य कुरा भन्ने हो भने जनता/किसानसँग राज्यको एउटा अंगले नै उधारोमा दूध किन्ने र ३०/३५ रुपैयाँ त्यसबाट फाइदा राखेर फेरि उपभोक्ताका दूध नगदमा बिक्री गर्ने अनि किसानले पैसा नपाउने अवस्था छ । यो गलत हो । यो अवस्थामा मैले भनेका कुराहरूले कति साथ पाउँछ ? मैले त्यो मन्त्रालय सम्हालेर बसेको छु । त्यसकारणले गर्दा मलाई अत्यन्त चिन्ता छ आगामी दिन त्यस्तो कमजोरी र बदमासी नहोस् । त्यो कामका लागि हाल कृषि मन्त्रालय सजग छ । सचेत छ ।

मैले असार ३१ गते मन्त्री पदको सपथ लिएको हुँ । साउन १ गतेको मैले दूधमा भुक्तानी गर्नुपर्ने एक अर्ब ६० करोड रुपैयाँ तत्काल भुक्तानी गर्नुपर्नेछ भन्ने जानकारी पाएँ । उखुको पैसा दिनुपर्नेछ, बिमाको पैसा दिनुपर्नेछ दिन सकेको छैन भन्ने जस्ता विषयहरूमा अवगत भएँ । अहिले हामीले दूधको पुरा पैसा भुक्तानी गर्न सकेको छैनौं । लगभग एक अर्ब तीस करोड रुपैयाँ किसानहरूले पाएका छन् । नेपाल सरकारको तर्फबाट हामीले व्याज तिर्ने गरी ६० करोड रुपैयाँ ऋण लियौं । बाँकी रकम हामीसँग रहेको पाउडर र घिउ बिक्री गरेर किसानहरूमा पठायौं ।
म चितवन जिल्लाको थुप्रै कृषि कर्म गर्ने दाजुभाई दिदीबहिनीहरूको सबै फर्म हेर्दै थिएँ । हिजो बिहानै अध्यक्षज्यूले एउटा चिट दिनुभयो, माछाको समस्या यथावत रह्यो, हाम्रा साथीहरू ठाउँ–ठाउँमा खटिनु भएको छ, बाहिरबाट माछा भित्रियो भन्नुभयो । बाहिरबाट माछा आयात गर्ने व्यवसायी र नेपालको माछा उत्पादक संघका बीचमा केही समय अगाडि हाम्रो मन्त्रालयको सहसचिव सरिता गौतमज्यूलाई साक्षी राखेर सहमति भएको छ । मैले त्यो जानकारी प्राप्त गरेपछि मलाई लाग्यो थुप्रै समस्याहरू समाधान हुँदै जाने भए । सहमति भयो भनेपछि म खुसी भएँ । तर चितवन आइपुग्ने बित्तिकै यो समाचार सुनियो ।

मैले सचिव र सहसचिवलाई राखेर यो समस्या व्यवस्थापन तत्कालै गर्नुपर्‍यो भनेर भनेको छु । हामी यो विषयमा थप खोजी गर्नेछौं ।

चितवनका विषयमा मलाई एउटा सम्झाना छ । हामी सानो छँदा गाउँमा हुर्किएको मान्छे । विहानी कि मकैको ढिडो कि कोदाको ढिडो खानुपर्थ्यो । हामीसँग थुप्रै दाजुभाई हुन्थे । भात खानका लागि कहाँ जाने ? भात खानका लागि चितवन बसाइँ जानुपर्छ । आजभन्दा पचास वर्ष अगाडि चितवनमा भात खानका लागि बसाइँ सर्ने चलन थियो । मैले त्यो कथा सुनेको थिएँ । आज चितवनमा मन्त्री भएर मात्र होइन वर्षको चार/पाँच पटक यत्तिकै आउँछु । कर्म गर्ने थुप्रै दाजुभाईहरू सर्टपाइन्ट लगाएका छन्, कछाड र भोटो लगाउने मात्रैले कृषि कर्म गरेका छैनन् । त्यसकारणले यो कृषिको हब हो ।

यो कृषि क्षेत्र हो । यहाँ उठेका कुरामा मैले कमजोरी गर्दिन । कहाँनेर कमजोरी भएको छ, खोज्ने काम म गर्छु । सम्भव हुँदासम्म समाधान पनि गर्छु । मैले सकिन तपाईंहरूलाई गुहार माग्छु ।

म पनि चिन्ता र चासो राख्ने मान्छे हो । राजनीतिक परिवर्तनका लागि हामीले शैक्षिक क्षेत्रलाई पनि प्रभावित पार्‍यौं । तर अहिले राजनीतिक परिवर्तनको अवस्था होइन । कृषि विश्वविद्यालय दुई महिनादेखि बन्द छ । यो विषयमा त्यहीँ भित्र रहेका परिवारहरूले प्रयत्न गर्नुपर्दथ्यो ।

यो सय दिनका बीचमा कहाँनेर कमजोरी भयो त्रुटि भयो हेर्नुपर्छ । नगर्ने मान्छेलाई दोष केही आउँदैन । नियत हो वा त्रुटी हो ? नियत हो भने खराब भयो  । त्रुटि हो भने सुध्रिने मौका दिनुपर्छ । कृषि मन्त्रालयअन्तर्गत केही कमजोरी त्रुटि छन् भने त्यो त्रुटिका लागि मैले जवाफ दिनुपर्छ तथ्यको धरातलमा रहेर ।

कृषि कर्म गर्ने व्यक्तिहरू र कृषि कार्यालय टाढा छ । तर हामीले विभिन्न ढंगबाट व्यवसाय गर्ने ठूला–ठूला किसानहरूको मात्रै सन्दर्भ मात्रै उठेको छ । म मन्त्री भइसकेको पछिको एउटा घटना सुनाउँछु– ‘एक महिलाले मैले पचास हजार रुपैयाँ माग्न जाँदा पनि पाइन । सहकारीले पनि दिएन । मेरो दुई वटा बच्चा छ । मेरो श्रीमान रक्सी खाएर हिडेको छ । मसँग एक रोपनी जमिन छ । तर मैले गोलभेडा लगाउनका लागि प्लास्टिकको टहरा लगाएर गोलभेडा उत्पादन गरेर बिक्री गरी मेरो बच्चा पढाउन पाउँभन्दा कसैले सहयोग गरेन । तपाई मन्त्री हुनुभएको छ, मलाई सहयोग गर्नुहोस् ।’ यो पीडालाई हामीले भुल्न मिल्छ कि मिल्दैन ?

मेरो आग्रह छ हामीसँग विभिन्न खालका किसानहरू हुनुहुन्छ । बाँच्नका लागि, बिहान बेलुकी हातमुख जोर्नका लागि, बच्चालाई स्याहार सुसार गर्नका लागि, थोरै जमिन भएकाले पनि कृषि कर्म गर्नुपरेको छ । तर मेरो दैनिकीले मुलुक धानिँदैन । त्यस कारणले यो भन्दा अर्को ठूलो व्यवसाय छ । त्यो भनेको के हो भने ठूलो प्लट लिएर त्यहाँ हामीले कृषिको काम गर्ने, थुप्रै बजारलाई धान्ने ढंगबाट गरिने कर्म, त्यसका लागि राज्यको तर्फबाट गरिने सहयोगको जरुरी छ ।

२०७१ सालदेखि आजसम्म ३६ अर्ब रुपैयाँ अनुदान गएको छ । त्यो ३६ अर्ब रुपैयाँ कहाँ होला ? म खोजेर बसेको छु । त्यो रुपैयाँ कुन ढंगबाट कहाँ–कहाँ गयो खोजी भइरहेको छ । केही दिनमा सार्वजनिक हुँदैछ । हामी जति सक्छौं त्यो सार्वजनिक गर्ने काममा लागिरहेका छौं । त्यसैले हामीसँग कृषि कर्म गर्ने मान्छेलाई राम्रो ढंगबाट सम्बोधन गर्नुपर्छ । यदि त्यो सम्बोधन भएन भने चाहे त्यो मन्त्रालय वा मन्त्री किन नहोस् त्यो उसको कमजोरी मात्र होइन बदमासी पनि हो ।

(कृषिमन्त्री रामनाथ अधिकारीले ले ‘चितवन चिन्तन’को दोस्रो सत्र ‘कृषिको केन्द्रमा किसानका मुद्दा’ विषय छलफलमा दिएको अभिव्यक्ति)

रामनाथ कृषिमन्त्री

Link copied successfully