चितवन पर्टयनको 'इपी सेन्टर' बन्न सक्छ

कार्तिक १४, २०८१

बद्री पाण्डे

Chitwan can become the 'EP Centre' of Perthyan

काठमाडौँ — हिमाल, पहाड र तराईको मध्यविन्दु अर्थात् मेची र महाकालीको बीचमा चितवन छ ।काठमाडौंसँग चितवन नजिक छ र पर्यटकीय राजधानी भनेर निर्णय गरेको पोखरासँग पनि नजिक छ । गैंडादेखि गुँराससम्म चितवन जिल्लाको विविधता हो । पर्यटकीय दृष्टिकोणले चितवनलाई ‘इपी सेन्टर’ नै बनाएर अघि बढ्न सकिने सम्भावना देखिएको छ ।

प्रकृति र संस्कृतिको व्यापकताका लागि नागरिक उड्डयन महत्त्वपूर्ण सम्वाहक हो । यो क्षेत्रले नेपालको आकाश सुरक्षित छ भन्ने आभास दिलाउन सक्नुपर्छ । नेपालको आकाश सुचारु पनि छ, गतिशील छ भनेर भन्न सक्नुपर्छ ।

जुनसुकै बेला प्लेन, हेलिकप्टर चढ्न सक्छौं भन्ने सुनिश्चितता नगर्दा हामी पछाडि परेका छौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा धेरै चाप छ । अन्य विमानस्थल सञ्चालनमा आउन नसक्दा काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले क्षमताभन्दा दोब्बर यात्रुलाई आवागमन गराइरहेको छ ।

काठमाडौं विमानस्थलका चाप घटाउन र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय विमानस्थल ०८३ भदौसम्म सहुलियत रूपमा सञ्चालन गर्न कार्ययोजना पास गर्‍यौं । एयरलाइन्सहरूले सहुलियत रूपमा आफ्नो सेवा सञ्चालन गरोस् भनेर फ्युलको मूल्य घटाउने, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले लिने शुल्क हटाउने सुविधा ल्याएका छौं ।

एयरलाइन्सको टिकटमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) को विषय टुंगिन सकेको छैन, अर्थ मन्त्रालय पुगेको छ । श्रमिकहरु सिधै जाँदा आवश्यक पर्ने अध्यागमन, श्रम कार्यालय, क्वारेन्टाइन स्थापना गर्ने गरी कार्ययोजना पास गरिसकेका छौं । सरकारले विभिन्न सेवा सुविधा घोषणा गर्दा पनि पोखरामा नयाँ कुनै एयरलाइन्सले आवेदन दिएन । भैरहवामा दुई-तीनवटा एयरलाइन्स आउने भनेका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रुलाई काठमाडौंबाट बाहिर उड्ने बानी बसाउने तथा आकर्षण कसरी थप्ने भन्ने मुख्य चुनौती छ । साथै भैरहवाबाट कोही यात्रु सिमरा जाँदैछ भने ती यात्रु काठमाडौं पुगेर सिमरा जानुपर्ने अवस्था छ । त्यसकारण पनि काठमाडौंको विमानस्थलले चाप भोग्नु परेको छ । बुद्ध एयरले केही समय सञ्चालन गर्‍यो । कतिपय ठाउँमा अहिले पनि छ । श्री एयरलाइन्स पोखराबाट भरतपुर, पोखराबाट नेपालगञ्ज, पोखराबाट भैरहवा जाने किसिमको कनेक्टिभिटी स्थापित गर्नुपर्ने ठूलो चुनौती छ ।

आगामी महिना गढिमाई मेला हुँदैछ । त्यसका लागि काठमाडौंबाट मात्र नभइ अन्य स्थानबाट पनि सिमरा जान सकिने व्यवस्था गर्न त्यहाँका मेयरलगायतको टोलीले आग्रह गर्नुभएको छ । एयरलाइन्सका साथीहरुसँग छलफल गर्दा निजी र सरकारी दुवै एयरलाइन्सहरूसँग एयरक्राफ्टको कमी रहेको थाहा पाएँ । एयरलाइन्स सञ्चालकहरूले घाटामा चलिरहेको र एयरक्राफ्ट थप गर्ने किसिमको वातावरण नरहेको जानकारी दिए ।

सरकारी एयरलाइन्स कम्पनीलाई बलियो बनाउने, सेवा विस्तार गर्ने र एयरक्राफ्ट थप्ने भनेका छौं । विगतमा एयरक्राफ्ट खरिद गर्दा विवादहरु आउने भएकाले पारदर्शी व्यवस्थाबाट कसरी किन्ने व्यवस्था मिलाउने र निजी क्षेत्रका एयरलाइन्स सञ्चालकहरुलाई पनि एयरक्राफ्ट थप्न मिल्ने गरी के–कस्ता सहुलियत दिन सकिन्छ सोचेर सेवा सञ्चालन गर्नुपर्नेछ । पहाडी भूभाग भएका कारण गुणस्तरीय सडक पूर्वाधार बनाए पनि भोलिका दिनमा समय बचत गर्न हवाई यातायात नै प्रयोग गरिनेछ ।

त्यसका लागि हामीले भनेको बेला जान सक्ने, फर्किन सक्ने र अप्ठ्यारोमा पर्दा रेस्क्यु गर्न पनि हेलिकप्टर तयार छ भन्ने वातावरण बनाउनुपर्नेछ । निजी क्षेत्रलाई नियमन गर्ने विषयमा त्यस किसिमको विश्वास र प्रबन्ध मिलाउँदै लगानी गर्ने वातावरण पनि दिनुपर्छ ।

लगानी गर्न आउँदा अभियुक्त जसरी आउनु पर्ने प्रतिकूलतालाई चिरेर निजी क्षेत्रलाई लगानी सुरक्षित छ भन्ने खालको वातावरण बनाएको खण्डमा धेरै लगानी भित्रने र नागरिक उड्डयन क्षेत्रलाई सुचारु गर्न सकिनेछ । सरकारले त्यसतर्फ नीति बनाउने, कानुन बनाउने काम तत्परताका साथ गर्छ ।

माल्दिभ्सको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा समेत पर्यटन क्षेत्रको योगदान ८० प्रतिशत छ । नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा पर्यटन क्षेत्रको योगदान ५ प्रतिशत मात्रै छ । त्यसैले जीडीपीमा पर्यटन क्षेत्रको योगदान बढाउन निकै मिहिनेत गर्नुपर्नेछ ।

पर्यटनमन्त्री बद्री पाण्डेले ‘चितवन चिन्तन’को दोस्रो सत्र ‘पर्यटनको मार्ग, समृद्धिको चित्र’ विषयक छलफलमा दिएको अभिव्यक्ति)

बद्री कांग्रेस नेता पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुन् ।

Link copied successfully