चहकिलो विरासत, उज्यालो आगत 

बसोबासको विविधताबीच चितवनको सामर्थ्य पर्यटन र कृषि हो, अहिले दूध, केरा, मह, माछा उत्पादनमा पनि यो अगाडि छ, उत्पादनमा कसरी ‘भ्यालु एड’ गर्नेमा यहाँका किसान धेरै सजग छन् 

कार्तिक ८, २०८१

सुरेन्द्र पाण्डे

२००७ सालमा नेपालमा मलेरियाको ठूलो प्रकोप थियो । अमेरिकाले मलेरियाविरुद्धको खोप सुरु गरेको थियो । तराईमा यससँग जुध्न नसकेर बसाइँसराइ कमै थियो । त्यस बेला तराईमा थारू समुदाय (चौधरी) मात्रै बस्थे । उनीहरूलाई एक प्रकारले मलेरिया ‘प्रुफ’ नै भनिन्थ्यो । पहाडबाट झरेका मान्छेले मलेरिया सहनै नसक्ने अवस्था थियो । 

२००९/१० सालतिर अमेरिकाको सहयोगमा राप्तीदुन परियोजना सुरु भएपछि बसोबासको आरम्भ भयो । यद्यपि त्योभन्दा अगाडि २००० साल आसपासमा धादिङ र गोरखाबाट आएर चितवनमा बस्न सुरु गरिसकेका थिए । उनीहरू दिनभरि तल र बेलुका भएपछि भण्डाराभन्दा माथि शिखरमा गएर बस्थे । पश्चिम चितवनमा बन्दीपुरे र नारायणगढमा नेवार समुदायको बसोबास सुरु भएको थियो । पूर्वी चितवनमा धादिङ, गोरखा, तनहुँ, लमजुङतिरका मानिस आएका थिए । अहिले चितवनमा ७८ जिल्लाकै मान्छे बस्छन् । 

२०२० सालमा राजा महेन्द्रले पूर्व–पश्चिम राजमार्गको गैंडाकोटमा शिलान्यास गरे । त्यसपछि वीरगन्जदेखि नारायणगढसम्मको बाटो बन्यो । नारायणगढदेखि पश्चिमतिर बुटवलसम्म बाटो थिएन । नारायणगढदेखि गोरखासम्म पनि बाटो थिएन । त्यस बेला चितवनमा सबैभन्दा ठूलो क्षेत्र जंगल नै थियो । बसोबास व्यापक रूपमा तल झर्न थालेपछि बिस्तारै वन फँडानी हुँदै गयो । 

चुरेभन्दा भित्र पर्ने चितवनमा तुलनात्मक रूपमा मधेशको भन्दा चिसो हावापानी, नारायणी र राप्ती भएकाले कम गर्मी, सीमाबाट केही टाढा, प्रशस्त पानी पाइने, उत्पादन पनि राम्रो भएकाले पहाडबाट झर्ने क्रम बढ्यो । जंगल फँडानीपछि मलेरिया कम भयो । पहाडमा खेतीपाती गर्न दुःख हुन्थ्यो । समथर बाटो, सडकको सुविधा, राजधानीबाट नजिक गोरु, राँगाको गाडा चल्ने भएकाले ओसारपसार गर्न सजिलो, धान प्रशस्त फल्ने र खानलाउन पनि सजिलो हुने भएकाले सुरुमा खेती गर्ने उद्देश्यले चितवन सर्ने क्रम सुरु भयो । बाटो विकासको मुख्य पूर्वाधार हो । केही खण्ड पहिले बनेको भए पनि पूर्व–पश्चिम राजमार्गको आरम्भ भएपछि चितवनको भविष्य चम्किलो बन्दै गएको हो । 

चितवन राजनीतिक परिवर्तन र चेतनाको पनि केन्द्रबिन्दु थियो । २०३० सालमा राजा वीरेन्द्रले नयाँ शिक्षा पद्धति सुरु गर्दा चितवन र कास्कीबाट गरेका थिए । यहाँ बसोबास गर्ने गुन्जमानसिंह श्रेष्ठलगायत व्यक्तिले कुन–कुन ठाउँ बसोबास गर्न उत्तम भनेर सर्भे पनि गरेका थिए । चितवनमा बसोबास गर्नमा उनीहरूको भूमिका पनि छ । रत्ननगरमा अहिले पनि गुन्जमानसिंह अस्पताल छ । 

वामपन्थी र कांग्रेसको राजनीति पनि सुरुदेखि नै त्यहींबाट सुरु भयो । विश्वबन्धु थापा कांग्रेसको महामन्त्री हुनुभयो । पछि उहाँ पञ्चायतमा जानुभयो । कांग्रेस र पञ्चायतको राजनीतिको पनि चितवन सेन्टर बन्यो । राजासँग सिधै सम्पर्क भएका लीलाराज विष्ट, हरिकुमार श्रेष्ठलगायत धेरै सम्पन्नशाली व्यक्ति चितवनमा बसाइँ सरे । उनीहरू पञ्चायतकालमा धेरै पहुँच भएका व्यक्ति यहाँ सरेका कारण पनि चितवनमा विकासको गति बढ्यो । राणाकालमै पनि चितवन एक प्रकारको आकर्षण केन्द्र थियो । त्यति बेला राणा र दरबार निकटका व्यक्ति सिकार गर्न यहाँ आउँथे । राणाहरू बाघ मार्न जंगलमै बस्ने गर्थे । त्यही सिलसिलामा टाइगर टप होटल खुलेको थियो । 

एक चरणको विकास भइसकेपछि मानिस कुरेर बस्दैनन्, ‘जम्प’ गर्न चाहन्छन् । एउटा भनाइ पनि छ, एक पटकको बसाइँ सर्नेले एक सय पटक सर्छन् । बसाइँ सर्ने आदत लाग्छ । चितवनमा धेरैजसो बसाइँ सरेर आएकाहरू छन् । अहिले संसारमा विदेश गएका नेपालीको संख्या खोज्ने हो भने सबैभन्दा धेरै चितवनको पाइन्छ । चितवनका मान्छे नपुगेको कुनै देश नै छैन । चितवनको ठूलो संख्यामा ‘माइग्रेसन’ छ । त्यसको एउटा कमजोरी पनि छ । पैसा भएको मान्छे बाहिर जानु राम्रो होइन । यसले चितवनको समार्थ्य भने बाहिरिएको छ । पैसावाला र बुद्धिवाला पनि बाहिर गए कुनै पनि देशका लागि राम्रो होइन । त्यसलाई कसरी फिर्ता ल्याउने चुनौती सँगसँगै चितवनले त्यसलाई सदुपयोग गर्न सके अवसर पनि छ । चितवनबाट बाहिरिनुमा समस्या मात्रै होइन, यसलाई अवसरका रूपमा पनि लिनुपर्छ ।

सबैभन्दा पछौटे ठाउँबाट विकास सुरु गर्दा देश कहिल्यै बन्दैन । विकास गर्न सबैभन्दा अत्याधुनिक तत्त्वले नेतृत्व गर्छन् । नेपालमा राणाविरोधी आन्दोलनको नेतृत्व राणा परिवारभित्रैबाट भयो । जुम्ला, हुम्ला, रसुवा, मनाङबाट पञ्चायतविरोधी आन्दोलन सुरु भएको होइन । जो गतिशील थिए, राणाहरूलाई बुझ्दथे । त्यसपछि बीपी कोइराला, मनमोहन अधिकारी, गणेशमान सिंहले राणाविरुद्ध आन्दोलन सुरु गरेका हुन् । सबैभन्दा सचेत काठमाडौं, विराटनगर जस्ता ठाउँबाट पञ्चायतविरोधी आन्दोलन सुरु भएको हो । जहिले पनि विकसित ठाउँबाट सुरु भयो । त्यो सम्भावना चितवनमा छ । 

हरेक आन्दोलनमा चितवनको भूमिका छ । राजा, पञ्चायतको बेला पनि नयाँ शिक्षा चितवनबाट लागू भएको थियो । किनभने त्यहाँका मान्छेले शिक्षाको महत्त्व बुझ्छन्, कार्यान्वयन गर्न सजिलो हुन्छ भनेर ल्याइएको थियो । 

***

बसोबासको विविधताबीच चितवनको सामर्थ्य पर्यटन र कृषि हो । अहिले दूध, केरा, मह, माछा उत्पादनमा चितवन अगाडि छ । उत्पादनमा कसरी ‘भ्यालु एड’ गर्नेमा यहाँका किसान धेरै सजग छन् । राष्ट्रिय निकुञ्जका कारणले क्षेत्र केही खुम्चिएको र धान खेती गर्ने ठाउँमा रिसोर्ट, उद्योग सञ्चालन भए पनि खेती नयाँ स्वरूपमा आएको छ । सौराहा नयाँ पर्यटन गन्तव्यको रूपमा रूपान्तरण भयो । हिजोको खेतीभन्दा सौराहाले पर्यटनबाट बढी आर्जन गरेको छ । पूर्वाधार र यातायातको विकासले नारायणगढ र टिकौलीको जंगलले ‘ब्रेक’ नगरे लोथरसम्म सिटी जस्तै बनेको छ । पोल्ट्रीको केन्द्रीय हब नै चितवन हो । पोल्ट्रीको ५० देखि ६० प्रतिशत चितवनमै उत्पादन हुन्छ । त्यसलाई व्यवस्थित गर्न सके मुलुकलाई नै योगदान पुर्‍याउँछ । काठमाडौं र पोखरालाई चितवनकै उत्पादनबाट आपूर्ति हुन्छ । 

विगतमा ठाउँठाउँमा मात्रै बस्ती थियो । भरतपुरमा पनि त्यति बस्ती थिएन । भरतपुरपछि टाँडी बजार, त्यसपछि पर्सा बजार र भण्डारा बजार थियो । अहिले सबै एउटा भइसकेको छ । प्रदेश राजधानी भएपछि हेटौंडाबाट बस्ती बढ्दै आएको छ भने चितवनबाट पनि बिस्तार हुँदै जाँदा लोथर पारि र मनहरी बीचको जंगलले केही अलग देखिए पनि दुवै सहर जोडिने भएका छन् । जिल्ला, प्रदेश अलग भए पनि पश्चिम कावासोतीतिर पनि आर्थिक ‘कनेक्टिभिटी’ विस्तार भएको छ । गैंडाकोटको सम्बन्ध पोखराभन्दा चितवनसँग छ । नवलपुरमा पनि ठूला होटल छन् । नारायणी र राष्ट्रिय निकुञ्ज पनि वारि र पारि छ । त्यसकारणले चितवन इको सिस्टमले पनि जोडिएको छ । 

अहिले भरतपुर विमानस्थल पनि विस्तार हुँदै छ । एटीआर ७२ पनि सजिलै ल्यान्ड गर्न सक्छ । विस्तार सकिएपछि भैरहवा र काठमाडौंको पनि हुन सक्छ । यहाँबाट पोखरा र भैरहवा उडान भइरहेको छ । निजगढ विमानस्थल बने ‘इन्टर कनेक्टिभिटी’ व्यापक हुन्छ । त्यसकारण चितवनको विस्तारलाई अझै मद्दत गर्छ । यसका लागि विमानस्थल र सडक विस्तार छिटो सक्नुपर्छ ।

पथलैयादेखि नारायणगढको सडक उच्च प्राथमिकताका साथ विस्तार गर्नुपर्छ । यो निर्माण हुनेबित्तिकै वीरगन्जबाट चितवन आउन २ घण्टा बढी लाग्दैन । त्यसैले चितवन हुँदै भैरहवा, बुटवल पुग्न २ घण्टा लाग्दैन । यसले चितवनको महत्त्व थप बढाउँछ । अहिले चितवनका मान्छेले काठमाडौं, पोखरा, बुटवल, हेटौंडाको बजारभाउ सोध्छन्, जहाँ महँगो छ, त्यही ठाउँमा बेच्ने गर्छन् । ६ लेनको सडक विस्तारसँगै यसको ‘भाइब्रेन्ट’ थप बढ्छ । 

***

चितवनको पहिलो सम्भावना भनेको पर्यटन हो । यहाँ नारायणी र राप्तीले पानीको सहज पहुँच छ । नारायणी नदीलाई दुवैपट्टि रिटेनिङ गरेर रेगुलर सफा गर्ने बनाइदिएर ‘रिसोर्ट र बीच’को सुविधा दिन सके धेरै आम्दानी गर्न सकिन्छ । नारायणगढमा प्रयोग भइरहेका सानासाना डुंगालाई अझै व्यवस्थित बनाएर बर्खाका दुई महिनाबाहेक पर्यटक भित्र्याएर राम्रो आम्दानी गर्न सक्छौं । जंगल सफारीको सम्भावना उत्तिकै छ । देवघाट र वाल्मीकि आश्रमसमेतलाई जोडेर पर्यटनको हब नै बनाउन सकिन्छ । नजिकै बनिरहेको बुढीगण्डीको पानी टनेल बनाएर शक्तिखोरमा झार्न सके बोटिङ गर्न सकिन्छ । त्यसले सिँचाइको सुविधा पनि बढाउन सकिन्छ । 

शक्तिखोरमा बनाउने भनिएको औद्योगिक क्षेत्र निर्माण भए कतिपय काठमाडौंलाई लक्षित उद्योग स्थापना हुन्छन् । विदेशी लगानी पनि आउँछ । भण्डारा–मलेखुको बाटोमा ३ देखि साढे ३ किलोमिटरको सुरुङ बनाउन सके ४० किलोमिटरमै पुग्न सकिन्छ । त्यसले काठमाडौं जाने दूरी धेरै घट्छ । अर्को, फिस्लिङदेखि शक्तिखोरको बाटो छ । त्यहाँको एउटा समस्या भने छ, फिस्लिङसम्म आइपुग्दा दुर्घटनाको बाटो अझै कायम रहन्छ । त्यतातिरको त्रिशूली साँघुरो भएर बगेको छ । तर भण्डारा–मलेखुको बाटो दुर्घटना हुने सम्भावना कम छ । यसका लागि कोरियनले सर्भे गरिसकेकाले स्रोत जुट्दा जहिले पनि टेन्डर हुन सक्छ । यता, भारतसँग जोडिन भण्डारादेखि ठोरीसम्म र ठोरीबाट माडी जोड्नेबित्तिकै माडीबाट भरतपुर आउन पनि मुख्य बाटो हुन्छ । त्यो बाटोबाट भण्डारा आउन पनि सकिन्छ । 

नारायणी किनारदेखि राप्ती किनारसम्म ‘सी–बीच’को अवधारणा ल्याउनुपर्छ । अहिले पनि केही रिसोर्ट बनिराखेकै छन् । त्यसलाई ‘कनेक्टिभिटी’ गर्ने हो । सौराहादेखि राप्ती, लोथरसम्म जोड्न सकिन्छ । यसले सिंगो चितवनलाई पर्यटन हब बनाउन सकिन्छ । त्यसकारण चितवन धेरै महत्त्वपूर्ण जिल्ला हो । यसले हिजोभन्दा थप समृद्ध र विकसित हुनेछ । 

चितवनको समृद्धिका लागि सबै क्षेत्रको समन्वय जरुरी छ । पर्यटनमा पैसा र सम्भावना छ । धेरै रोजगारी दिने क्षेत्र पनि हो । एउटा सानो रेस्टुरेन्ट सञ्चालनमा ल्याए पनि एक/दुई जनाले रोजगारी पाउँछन् । स्वदेशी उत्पादन खपत हुन्छ । थोरै भए पनि माछामासु बिक्री हुन्छ । यसले बजार ‘भाइब्रेन्ट’ बनाउँछ । त्यसकारण धेरै सम्भावना बोकेको क्षेत्र पर्यटन नै हो । 

दोस्रो सम्भावना बोकेको क्षेत्र पोल्ट्री हो । मासुलाई प्याकिङ गर्नेदेखि गुणस्तर उत्पादन गर्ने हो । अहिलेसम्म त्यो हुन सकेको छैन । केएफसीले मासु विदेशबाट आयात गर्छ । केएफसीलाई चाहिने मासु चितवनमै उत्पादन गर्न सके पैसा यहीं रहन्छ । त्यसका लागि सरकारको सहयोग पनि चाहिन्छ । 

कुखुरालाई खुवाउने दाना, गोठदेखि कटिङ, ढुवानी, डिप फ्रिज, प्याकेजिङका लागि तालिम चाहिन्छ । केएफसीलाई चाहिने किसिमको गुणस्तर निर्धारणबारे किसानलाई तालिम दिन चितवनमा पोल्ट्रीको स्कुल सञ्चालन गर्न सकिन्छ । त्यसका लागि व्यवसायी, राजनीतिज्ञ, जनताबीच समन्वय जरुरी छ ।

चितवनमा २२ देखि २५ जातिका सांस्कृतिक घर, खानादेखि पहिचान झल्काउने ठूलो ‘सांस्कृतिक भिलेज’ बनाउन सकिन्छ । दुई तीन सय बिघा जग्गामा सांस्कृतिक भिलेज बनाउन सके विदेशी मात्रै नभई स्वदेशी पर्यटकको पनि भीड लाग्छ । 

सुरेन्द्र पाण्डे पूर्वअर्थमन्त्री हुन् ।

Link copied successfully