२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

अनलाइनबाट कसरी पढ्ने ?

कोभिड–१९ महामारीका बेला मात्र भनेर केही अनलाइन शिक्षण प्रणाली नि:शुल्क उपलब्ध हुन थालेका छन्
देवीराम आचार्य

कम्प्युटर र इन्टरनेटका माध्यमबाट पठनपाठन गर्न थुप्रै एप्लिकेसन र सफ्टवेयर विकास भइरहेका छन । यस्ता एप्लिकेसन तथा सफ्टवेयर प्रयोग गर्न पैसा तिर्नुपर्छ ।

अनलाइनबाट कसरी पढ्ने ?

केही एप्लिकेसन तथा सफ्टवेयरले त्यसमा उपलब्ध सबै सुविधा नदिने गरी तथा सीमित समय र सहभागीका लागि नि:शुल्क प्रयोग गर्ने सुविधा पनि दिएका छन् । यस्ता एप्लिकेसन तथा सफ्टवेयर आवश्यकताअनुसार शिक्षण सिकाइ, परीक्षा, शिक्षण सिकाइ र परीक्षा दुवै, सहभागी संख्या, भिडियोसहित वा अडियो मात्र, रेकर्ड गर्न मिल्ने वा नमिल्ने, कम्प्युटरमा मात्र चलाउने वा मोबाइलमा पनि चलाउने, च्याट बक्स भएको वा नभएको, अलग्गै सफ्टवेयर चाहिने वा नचाहिने, थप हार्डवेयर आवश्यक पर्ने वा नपर्नेजस्ता विभिन्न आधारमा छनोट गर्नुपर्छ ।

मुडल

यो निकै प्रभावकारी र उपयोगी अनलाइन सिकाइ व्यवस्थापन प्रणाली हो । यसमा विषयवस्तुका विभिन्न फाइल, भिडियो तथा अडियो अपलोड गरिदिने, विभिन्न पेजका लिंक राखिदिने, असाइनमेन्ट दिने, पृष्ठपोषण दिने, ग्रेडिङ गर्ने, शब्दकोष सिर्जना गर्नेलगायत छलफलका लागि विषयवस्तु दिएर फोरम सिर्जना गर्ने, क्विज बनाएर राखिदिने, एक विद्यार्थीलाई अर्को विद्यार्थीको असाइनमेन्ट चेक गर्न लगाउनेजस्ता सुविधा छन् । यसमा भएको बिग ब्लु बटनबाट कम्प्युटरमै लेख्न र चित्र बनाउन तथा पावर प्वाइन्ट प्रस्तुतीकरण गर्न मिल्छ ।

व्यक्तिगत रूपमा यसलाई प्रयोग गर्न मुडल डट ओरजीबाट इमेल आईडी प्रयोग गरेर लग इन गर्नुपर्छ । मोबाइलबाट भेरिफिकेसन कोड राख्नुपर्छ । नि:शुल्क प्रयोग गर्दा एउटा कोर्समा ५० जनासम्म मात्र सहभागी हुन सकिन्छ ।

कलेज वा विश्वविद्यालयहरुले खरिद गरेर शिक्षकहरुलाई उपलब्ध गराई यसबाट पठनपाठन सञ्चालन गर्न सकिन्छ । शिक्षकले आफ्नो विषयमा विद्यार्थीलाई सहभागी गराउन सक्छन् । विद्यार्थीलाई ‘कोर्स की’ दिए उनीहरु आफै पनि कोर्समा सहभागी हुन सक्छन् ।

विद्यार्थीका लागि पनि लगइन गर्न प्रयोगकर्ताको नाम र पासवर्ड आवश्यक पर्छ । शिक्षकले असाइनमेन्ट दिन, पढ्ने सामग्री सबै त्यसमा राखिदिन र विद्यार्थीले आफ्नो अनुकूल समयमा लग इन गरेर ती सामग्री हेर्न, पढ्न, असाइनमेन्ट बुझाउन सक्छन् । यो मोबाइलमा पनि चलाउन सकिन्छ ।

यसमा शिक्षकले विद्यार्थीलाई गर्ने क्रियाकलापको स्पष्ट निर्देशन दिनुपर्छ । त्रिवि, काठमाडौं विश्वविद्यालय तथा नेपाल खुला विश्वविद्यालयले यसैमार्फत अनलाइन सिकाइ व्यवस्थापन गरिरहेका छन् ।

यसको प्रयोग प्रत्यक्ष कक्षाबाट पढाइ भएको बखतमा पनि असाइनमेन्ट दिन, परीक्षण गरेर पृष्ठपोषण दिन, सिकाइ सामग्री उपलब्ध गराउन तथा अनलाइन परीक्षासमेत लिन सकिन्छ । विश्वविद्यालय, कलेज र माध्यमिक विद्यालयमा यसको प्रयोग गर्न सकिन्छ । सञ्चालन मात्र गर्न उच्चस्तरको कम्प्युटर ज्ञान आवश्यक नपरे पनि समग्र व्यवस्थापन र हार्डवेयर व्यवस्थापनमा भने जनशक्ति तथा बजेट चाहिन्छ ।

अनलाइन कक्षा सञ्चालन

शिक्षकले पढाइरहने र त्यही समयमा विद्यार्थी उपस्थित भई पाठ सुन्ने तथा छलफल गर्ने गरी अनलाइन कक्षा अहिले प्रचलित छन् । मुडललगायत अन्य सिकाइ व्यवस्थापन प्रणालीमा विद्यार्थीले जुनसुकै समयमा लग इन गरेर सामग्री प्राप्त गर्न सक्छन् । तर अनलाइन कक्षामा निर्धारित समयमा उपस्थित हुनैपर्छ । कक्षा सञ्चालन भइरहेको समयमा अनलाइनमा उपस्थित भई कक्षामा सहभागी हुन तथा छलफल गर्न मिल्ने हजारौं एप्लिकेसन उपलब्ध छन् ।

अहिले निकै प्रचलित एप्लिकेसनहरूमा जुम एउटा हो भने माइक्रोसफ्टले विकास गरेको टिम्स मुडलको बिग ब्लुबटन र गुगलको गुगल मिट पनि प्रचलनमा छन् । अनलाइन कक्षा सञ्चालन भइरहेको समयमा उपस्थित हुन नसक्नेका लागि रेकर्ड उपलब्ध गराउन सकिन्छ ।

जुम– यो अहिले नि:शुल्क उपलब्ध सफ्टवेयर एप्लिकेसन हो । यसबाट अनलाइन भिडियो मिटिङ तथा प्रस्तुतीकरण गर्न सकिन्छ । नि:शुल्क प्रयोग गर्दा एकपटकमा ४० मिनेट र सय जना सहभागी हुन सक्छन् । यसमा च्याट, प्रस्तुतीकरण र रेकर्ड गर्न सकिन्छ । यो मोबाइल तथा कम्प्युटर दुवैबाट सजिलै चलाउन सकिन्छ । यसका लागि जुम सफ्टवेयर डाउनलोड गरेर इन्स्टल गरेको हुनुपर्छ ।

कसैले सञ्चालन गरिरहेको अनलाइन छलफलमा सहभागी हुन त्यसको आईडी र पासवर्ड चाहिन्छ, अथवा सम्बन्धित व्यक्ति वा संस्थाले उपलब्ध गराएको लिंकबाट जानुपर्छ । तर त्यस्तो छलफल वा कक्षा सञ्चालन गर्नेले यसमा आफ्नो विवरण फारम भरी लग इन गरेकै हुनुपर्छ भने सहभागी मात्र हुनका लागि सफ्टवेयर भए पुग्छ । जिमेल आईडी वा फेसबुकबाट पनि यसको सुविधा लिन सकिन्छ ।

अडियो मात्र प्रयोग गरेर यसमा छलफल र बैठक सञ्चालन गर्न मोबाइलको डाटा प्याकेज पनि प्रभावकारी भएको पाइएको छ । कोभिड–१९ महामारीका बेला यसको ४० मिनेट समय हटाइएको भनिएको छ । यसको प्रयोगमा गोपनीयताका सवाल पनि उठिरहेको भनिएको छ । नेपालमा अहिले यसको प्रयोग विभिन्न कलेज, स्कुल, तालिम प्रदायक संस्था र गैससले गरिरहेका छन् ।

माइक्रोसफ्ट टिम्स– व्यापारिक कम्पनीहरुको अनलाइन बैठकका लागि माइक्रोसफ्टले विकास गरेको ‘स्काइप फर बिजनेस’ का केही सीमितता हटाई यसको विकास गरिएको हो ।

यो अफिस ३६५ प्याकेजमा उपलब्ध छ । यसबाट अनलाइन बैठक, छलफल तथा अनलाइन सेमिनार सञ्चालन गर्न सकिन्छ । यसमा रेकर्ड गर्ने, फाइल एट्याच गर्ने, भिडियो तथा अडियो एट्याच गर्ने, विकीहरुको लिंक राख्ने र च्याटमा फोटो राख्ने सुविधा उपलब्ध छ । मुडलको सम्पूर्ण सामग्रीलाई यसैसग आवद्ध गर्न पनि सकिन्छ । विद्यार्थीलाई असाइनमेन्ट दिने तथा फाइल एट्याच गर्ने र तत्कालै डाउनलोड गर्ने सुविधा छ ।

यसको एप्लिकेसनलाई माइक्रोसफ्ट युजर आईडी प्रयोग गरी डाउनलोड गरेर इन्स्टल गर्नुपर्छ । यसको प्रयोग गर्न कलेजले विद्यार्थीलाई युजर नेम र पासवर्ड अनिवार्य दिनुपर्छ । यसको प्रयोगका लागि तोकिएको पैसा तिर्नुपर्छ । माइक्रोसफ्टको वेबमा उल्लेख भएअनुसार शैक्षिक संस्थाले सर्तसहित नि:शुल्क प्रयोग गर्न सक्ने सुविधा पनि छ ।

गुगल मिट– यो गुगलको एप्लिकेसन हो । यसबाट अनलाइन कक्षा वा बैठक र छलफल सञ्चालन गर्न सजिलो छ । पैसा तिरेर लिएको डोमेनबाट लगइन गरेपछि यसलाई गुगलका अन्य एप्लिकेसनजस्तै प्रयोग गर्न सकिन्छ । पटकपटक एउटै समय र सहभागीमा बैठक गर्दा गुगल क्यालेन्डरमा सेभ गर्न सकिन्छ ।

यसमा कक्षा सञ्चालन गर्दा २ सय ५० जनासम्म सहभागी हुन सक्छन् । यसमा सहभागी हुन सफ्टवेयर इन्स्टल वा पासवर्ड केही चाहिँदैन । कक्षा सञ्चालन गर्नेले पठाएको लिंकमा क्लिक गरेर सजिलै सहभागी हुन सकिन्छ ।

यसबाट च्याट गर्न र छलफल रेकर्ड गर्न मिल्छ । सहभागी सबैले आफ्नो कम्प्युटरबाट प्रस्तुति गर्न पनि सक्छन् । यसमा कुनै व्यक्ति बोलिरहेका बेला स्क्रिनको तल उसले बोलेको कुरा आफैं टाइप पनि हुन्छ । अनलाइनमा छलफल गर्न र प्रस्तुतीकरण गर्नका लागि यो धेरै सजिलो छ । यो १४ दिनका लागि परीक्षणका रूपमा नि:शुल्क प्रयोग गर्न दिन्छ ।

मुडलको बिगब्लुबटनको प्रयोग गरेर पनि अनलाइन कक्षा सञ्चालन गर्न सकिन्छ तर यसका लागि इन्टरनेटको क्षमता उच्च हुनुपर्छ र हार्डवेयरको समेत व्यवस्थापन गर्नुपर्छ ।

कोभिड–१९ महामारीका बेला मात्र भनेर केही अनलाइन शिक्षण प्रणालीहरू नि:शुल्क उपलब्ध हुन थालेका छन् । यस्ता एप्लिकेसन तथा सफ्टवेयर हजारौं छन् तर प्रयोग गर्नुअघि त्यसका कमजोरी, विवरणको गोपनीयता र उपलब्ध सुविधामा ध्यान दिनुपर्छ ।

(आचार्य नेपाल खुला विश्वविद्यालयका सहजकर्ता हुन् ।)

प्रकाशित : वैशाख ३, २०७७ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?